सोती घटनाका दोषीलाई सरकारले कारबाही गर्छ : प्रधानमन्त्री ओली

सोती घटनाका दोषीलाई सरकारले कारबाही गर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीमा छ जनाको हत्या हुने गरी भएको घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आइतबार प्रधानमन्त्री निवास बलुवाटारमा भएको पीडितसँगको भेटमा प्रधानमन्त्रीले दाेषीलाई कारबाही गर्ने कुरामा सरकारले कसैसँग मोलाइजा नगर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले जातको निहुँमा निर्मम ढंगबाट हत्या हिंसा मचाउने र अराजनीतिक गतिविधि गर्ने जो कोहीलाई पनि कारबाही हुने बताउँदै हत्यामा संलग्नहरुलाई कानुन उपर हदैसम्म कारबाही गर्ने गरी कानुनी प्रक्रिया अगाडी बढेको बताए ।

प्रधानमन्त्रीसँगको भेटमा मृतक नवराज विकका बुबा आमा मुनलाल र उर्मिला, लोकेन्द्र सुनारकी आमा लक्ष्मी, टिकाराम नेपालीका बुबा सोभे, गणेश बुढाका बुबा पदमबहादर, गोविन्द शाहीकी आमा भीमकुमारी र सञ्जु विककी आमा सविता उपस्थिति भएको थियो । मृतकका अविभावक गत बिहीबार न्याय खोज्दै जाजरकोटबाट काठमाडौं आइपुगेका हुन् ।

गत १० जेठमा अन्तरजातीय बिहेको नाउँमा भएको उक्त घटनामा नवराज विक र उनका पाँच जना साथीको हत्या भएको थियो । उक्त मुद्दा अहिले अदालतमा विचाराधीन रहेको छ । हत्यामा संलग्न पक्राउ परेका ३४ जनामध्ये ६ जनालाई अदालतले थुनामुक्त गरेको छ । अन्य छ जनालाई छोड्ने विषयमा उच्च अदालत सुर्खेतमा मत बाझिएपछि सर्वोच्चसम्म आइपुगेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार