कलंकी–नागढुंगा–पिपलामोडमा राखिएका होर्डिङ बोर्ड हटाइने

कलंकी–नागढुंगा–पिपलामोडमा राखिएका होर्डिङ बोर्ड हटाइने

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले नगरपालिकाको अनुमतिबिना जथाभावी रूपमा राजमार्ग क्षेत्रमा राखिएका होर्डिङ बोर्ड हटाउने भएको छ। नगरपालिकाले कलंकी–नागढुंगा–पिपलामोड सडकमा जथाभावी रूपमा राखिएका बिजुली, टेलिफोन, केबल, इन्टरनेटका तार, विज्ञापन ब्यानर, पम्प्लेटले नगरपालिकाको सौन्दर्यता बिग्रँदै गएको र सडक क्षेत्र कुरूप बन्दै गएको भन्दै हटाउन लागेको हो।

सो नगरपालिका काठमाडौं प्रवेशद्वारको मुख्य नाकासमेत भएकाले यस क्षेत्रमा धेरै विज्ञापन ब्यानर र पम्प्लेट राखिएका छन्। चन्द्रागिरिमा काठमाडौं भित्रिने पृथ्वी राजमार्गको ११ किलोमिटर सडक पर्दछ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले सुन्दर चन्द्रागिरि निर्माणका लागि राजमार्ग क्षेत्रमा जथाभावी रूपमा राखिएका विज्ञापन ब्यानर, पम्प्लेट र अव्यवस्थित राखिएका बिजुली, टेलिफोन, केबल, इन्टरनेटका तार हटाउन लागेको जानकारी दिए।

‘नगरपालिकाको अनुमति बेगर अव्यवस्थितरूपमा राखिएका ब्यानर सात दिनभित्र नहटाए नगरपालिकाले हटाउँछ र हटाउन लाग्ने खर्च सम्बन्धित कार्यालयबाट असुल उपर गरिनेछ’, नगरप्रमुख गिरीले भने। नगरपालिकाले नयाँ सेवा प्रदायक कम्पनी वा संस्थालाई नगरपालिकाको स्वीकृत लिएर मात्र सेवा प्रदान गर्न आग्रह गरेको छ।

नगरपालिकाले यसअघि उक्त राजमार्ग क्षेत्रमा एक करोड रुपैयाँको लागतमा ६७ अत्याधुनिक सिसी क्यामरा जडान गरिसकेको छ। यस्तै, आगामी महिनामा सो राजमार्ग क्षेत्रमा ५०० बत्ती जडान गर्ने कार्यक्रम रहेको नगरप्रमुख गिरीले बताए।

सो नगरपालिका बागमती प्रदेशको सबभन्दा ठूलो नगरपालिका हो। उक्त नगरपालिकामा १५ वडा छन्। पन्ध्र वडामध्ये कलंकी–नागढुंगा–पिपलामोड क्षेत्रमा ११ वडा पर्दछन्। रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार