विदेशबाट फर्केर सामूहिक तरकारी खेती

विदेशबाट फर्केर सामूहिक तरकारी खेती

पाल्पाको रामपुर नगरपालिका-६ मा लगाइएको आलु खेतीको अनुगमन गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्य, नगर प्रवक्ता हुमनाथ न्यौपाने र कृषि शाखा प्रमुख रामहरि पाण्डेय । नगरको १ वडा एक उत्पादन कार्यक्रमअन्तर्गत वडा नं ६ मा करिब ६०० रोपनीभन्दा बढी क्षेत्रफलमा आलु ब्लक कार्यक्रम सञ्‍चालन गरिएको छ । तस्बिर /रासस

तम्घास । विश्‍व महामारीका रुपमा फैलिएको कोरोनाले धेरैको भविष्य अन्योल बनाए पनि गुल्मीका युवाले भने नयाँ सोचसहित सामूहिक तरकारी खेती गर्न थालेका छन् । विदेश तथा स्वदेशमा काम गर्ने धेरैका रोजगारसमेत गुमेको बेला यहाँको रेसुङ्गा नगरपालिकाका युवा विदेशबाट फर्केर सामूहिक तरकारी तथा कृषि खेतीमा लागेका छन् ।

रेसुङ्गा नगरपालिक-१० सिमिचौरका ४० वर्षीय राजन कुँवर विगत १० वर्षदेखि मलेसियामा विभिन्‍न रेष्टुरेन्ट तथा अन्य कम्पनीमा काम गर्थे । व्यक्तिगत कामका लागि गत फगुन २४ गते स्वदेश फर्किए । त्यसपछि कोभिड-१९ महामारी सुरु भएपछि विदेशको भिसा पनि कम्पनीले बन्द गरिदियो । परिवार चलाउनकै लागि अर्थोपार्जका विभिन्‍न उपाय सोच्दै गरेका कुँवरले सामूहिक कृषि खेतीको अवधारणा बनाए ।

अहिले उनीसहित सिमिचौरका पाँच र रेसुङ्गा नगरपालिका-४ अर्खलेका एक गरी ६ जना मिलेर गत जेठदेखि सिमिचौरमै सामूहिक तरकारी खेती गरिरहेका छन् । उनीसहित टोपबहादुर कुँवर, फर्सुराम कुँवर, रवि कुँवर, सुवास कुँवर र टेकराज कुँवरले सामूहिक तरकारी खेती सुरु गरेका हुन् । उनीहरू सबै वैदेशिक रोजगारीबाट बन्दाबन्दीको समयमा घर फर्किएका हुन् ।

छ युवाले सिमिचौरकै १० जनाको कूल ७२ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएका छन् । जग्गा छ वर्षदेखि बाँझो थियो । जसले गर्दा खेतमा रूख उम्रिएर जङ्गलमा परिणत भएको थियो । युवाले आफूहरूको परिश्रमसहित ६ लाख लगानीमा ५५ रोपनी जङ्गल (खेत) फँडानी गरी अहिले तरकारी लगाएका छन् ।

जग्गाधनीमध्ये केहीले एक वा दुई वर्षको भाडा छुट गरेका छन् । त्यसपछि भने वार्षिक ६० हजार जग्गा भाडा बुझाउनुपर्ने राजन कुँवरले बताए । खेतमा अहिले पाँच क्‍वीन्टल आलु लगाइको छ । त्यस्तै गोपी, प्याज, काँक्रा, घिरौँलालगायत तरकारीका नर्सरीहरू रहेका छन् ।

अन्य तरकारीका बेर्नाहररू पनि यामअनुसारका उत्पादन गर्छन् । अहिलेसम्म प्याज, गोपीलगायत बेर्ना बिक्रीबाट मात्रै एक लाखभन्दा बढी आम्दानी भइसकेको छ । अहिले बारीमा बन्दागोभी, लोकल गाजर, साग, मूला, टमाटर, केराउलगायत तरकारी छन् । उत्पादित कृषिजन्य सामग्री सबै रेसुङ्गा नगरपालिकाको हाटबजारमा बिक्री हुने गरेका छन् । कृषि उपज लिन नगरपालिकाको गाडी फार्म नजीकै आउने भएकाले बजारको समस्या नभएको अर्का कृषक फर्सुराम कुँवरले बताए ।

विदेशमा काम गर्नेको तुलनामा ६० प्रतिशत मात्रै मिहिनेत गरे राम्रो आम्दानी हुने राजनको भनाइ छ । भविष्यमा आफूहरूले उक्त ठाउँलाई टमाटरको पकेट क्षेत्र बनाउने योजना रहेको उनले सुनाए । विदेशमा अरूको मातहतमा काम गर्न परे पनि स्वदेशमा ‘आफ्नै हात जगन्‍नाथ’ हुने उनको अनुभव छ । ७२ रोपनीमध्ये बाँकी रहेको केही जग्गा फँडानी गरी तरकारी खेती गर्न तयारी अवस्थामा राखिएको छ ।

बाँकी रहेको २०/२२ रोपनी जग्गामध्ये केही भाग फँडानी गरी बाख्रा पाल्ने र केही भाग बाख्राका लागि चरन क्षेत्र बनाउने योजना छ । अब एकरडेढ महिनाभित्रै खोर बनाउन सुरु गरिने, खोरमा चार सयसम्म बाख्रा पाल्ने र बाख्राका लागि घाँस पनि लगाउने अर्का कृषक टोपबहादुरले बताए ।

सिमिचौरकै २६ वर्षीय सुवास कुँवर रोजगारीको सिलसिलामा अहिलेसम्म तीन देश घुमे । शुरुमा मलेसिया गएका उनी दलालका कारण काम राम्रो नभएपछि उहाँ दुई महिनामै घर फर्किए । त्यसपछि रोजगारीकै लागि भारत र कतार गएपनि कोरोनाका कारण काम बन्द भएपछि उनी पुनः घर फर्किए । गाउँमै केही काम गर्ने सोच बनाएका सुवास सामूहिक खेतीमा भविष्य देखेर काममा होमिएका हुन् ।

आफूको सानैदेखि कृषिमा रुचि भएकाले पनि अहिले तरकारी खेती गर्दा आनन्द लागेको उनले बताए । विदेशमा भन्दा स्वदेशमा काम गर्दा छुट्टै प्रकारको आनन्द आउने उनको अनुभव छ । “विदेशमा अरूको मातहतमा बस्‍नुपर्छ, समयमा तलब आउने ग्यारेन्टीसमेत हुँदैन”, उनले भने, “यहाँ त आफ्नै प्रकारको स्वतन्त्रता छ ।”

सामूहिक कृषि खेतीमा लागेका अर्का सदस्य ३७ वर्षीय टेकराज विगत पाँच वर्षदेखि मलेसिया थिए । कोरोनापछि गाउँ बस्‍ने सोच बनाएर सुरु गरेको तरकारी खेतीबाट उनलाई सन्तुष्टि मिलेको छ । अहिले आफूहरूलाई काम गर्नका लागि विभिन्‍न कृषि सामग्री फार्मसम्म पुर्‍याउन तथा उत्पादित कृषिजन्य उपजहरू बजारसम्म लैजान मोटरबाटोको समस्या तथा सिँचाइका लागि पानी भए पनि पाइपको समस्या रहेको उनले गुनासो गरे ।

रेसुङ्गा नगरपालिकाका कृषि शाखाप्रमुख हरिशरण पन्थीले नगरपालिकाभित्रका व्यावसायिक कृषि फार्मलाई प्रोत्साहन गर्न विभिन्‍न कार्यक्रम बनाएको बताए । नगरपालिकाले कृषकलाई तालीम, अनुदान, युवा लक्षित कार्यक्रम, हाते ट्र्याक्टर, स्प्रेयरजस्ता सामग्री प्रदान गरिएको पन्थीले बताए । कृषकको उत्पादनलाई बजारको ग्यारेन्टी नगरपालिकाले गरेको र यसबाट धेरै कृषक लाभान्वित भएको उनले जानकारी दिए । नगरपालिकाले हाटबजार सञ्‍चालन गरी तोकेको दरमा जुनसुकै प्रकारका कृषि उपजहरूको बजारको ग्यारेन्टी गरेको पन्थीको भनाइ छ । (रासस)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार