लोकतन्त्र र संविधानमा आँच आउन दिनुहुन्न : अध्यक्ष आचार्य

लोकतन्त्र र संविधानमा आँच आउन दिनुहुन्न : अध्यक्ष आचार्य

काठमाडौ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको कुरा उल्लेख भएकाले लोकतन्त्र र संविधानमा आँच आउन नदिनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ शाखा कञ्चनपुरको १९औँ साधारणसभामा उहाँले लोकतन्त्र र विधिको शासनका पक्षमा पत्रकार महासङ्घले आवाज उठाउँदै आएको बताए ।

“राजनीतिक परिवर्तका घटनाक्रम भई राख्छन्”, उनले भने, “संविधान र प्रेस स्वतन्त्रता माथि आँच आउन दिनुहँुदैन ।” विभिन्न चुनौतीका बेला पनि पत्रकार महासङ्घले अग्रमोर्चामा रहेर प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागि सडकमा पुगेर आन्दोलन गरेको उनले बताए ।

“श्रमजीवी पत्रकारको हकहित र पारिश्रमिक उपलब्ध गराउनका लागि सङ्घर्षमा उत्रिएका छौँ”, उनले भने, “श्रमजीविका ५५० वटा समस्या हल गरेका छौँ ।” समानुपातिकरुपमा विज्ञापन वितरणका लागि कार्य अगाडि बढाइएको उनले बताए ।

पुस मसान्तसम्म महासङ्घका सबै शाखाको साधारणसभा गरिसक्ने, माघमा प्रदेश र फागुनको पहिलो सातामा केन्द्रको साधारणसभा गरी सक्ने गरी समय निर्धारण गरिसक्ने योजना बनाइएको चर्चा गर्दै उनले माघको पहिलो हप्ता महासङ्घको बैठक राखी फागुनभित्र निर्वाचन गर्ने गरी मिति घोषणा गर्ने बताए ।

नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले लोकतन्त्र र प्रेस स्वतन्त्रताबारे बहस गरिनुपर्ने बताए । “बहुलवाद सकिए पत्रकारिता पनि सकिन्छ । यी मुद्दा हाम्रा हुन् । यसबारे छलफल हुन आवश्यक छ । पत्रकारले राजनीति गर्ने होइन । राजनीतिबारे जानकारी राख्नुपर्छ”, उनले भने,  “राजनीतिका बीचमा सीमा तोकिनुपर्छ ।”

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोखरेलले श्रमजीवीको हकअधिकारका लागि आन्दोलन गर्दै आएको बताउँदै तोकेको पारिश्रमिक नपाए महासङ्घमा उजुरी दिनुपर्ने बताए ।

पत्रकार महासङ्घको साधारणसभा र चुनावसँगसँगै गर्दा मुख्य एजेण्डामाथि छलफल नहुने र मुद्दा ओझेलमा पर्ने भएकाले साधारणसभा र चुनावलाई अलगअलग गर्ने नियम बनाइएको बताए ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले पत्रकारले तटस्थ र निष्पक्षरुपमा कलम चलाउनुपर्ने बताए । पत्रकारिता पृथक विधा भएकाले जनताका समस्या उजागर गर्नमा लाग्नुपर्ने बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार