बेल्डाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक जनाको मृत्यु

बेल्डाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक जनाको मृत्यु

काठमाडौँ । झापाको दमककाे बेल्डाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक व्यक्तिको मृत्यु भएको छ । दमक–३ स्थित शिविरमा आगलागी हुँदा ६० वर्षीय देशमान राईको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

शारीरिक रुपमा अशक्तताका कारण घरबाट बाहिर निस्किन नसक्दा राईको मृत्यु भएको बताइएको छ। उनी बाँसले बारेको एक तले घरमा सुतिरहेका थिए । घरभित्र रहेका परिवारका अन्य दुई जना सदस्य बाँच्न सफल भएका छन्। उनको घरमा सोमबार बेलुका करिब साढे ७ बजे एक्कासी आगलागी भएको थियो ।

आगलागीको कारण खुलेको छैन । दमक नगरपालिकाको दमकलको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी मिलेर आगो निभाएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगलागीबाट तीन लाख बराबरको सुनचाँदी, आठ लाख बराबरको खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार