आउँदो सातादेखि दिल्लीका विद्यालय खुल्ने

आउँदो सातादेखि दिल्लीका विद्यालय खुल्ने

भारतको दिल्ली प्रदेश सरकारले विद्यालयमा अध्ययन अध्यापन कार्य सुरु गराउने निर्णय गरेको छ । भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा बोर्ड परीक्षालाई मध्यनजर गर्दै विद्यालय खोल्ने निर्णय गरिएको हो ।

सरकारले अहिले कक्षा १० र १२ को मात्रै पढाइ गर्ने निर्णय भएको बुधबार जानकारी दिएको छ । अन्य कक्षाको बारेमा भने केही बताइएको छैन । विद्यार्थीलाई विद्यालय पठाउने वा नपठाउने बारेमा अभिभावकले नै निर्णय गर्न पाउने र विद्यालय पठाउनै पर्ने अनिवार्य नगरिएको पनि अधिकारीले जनाएका छन् ।

विद्यालय आएका र नआएका विद्यार्थीका बीचमा विद्यालयले कुनै भेदभाव नगर्ने पनि सरकारी अधिकारीहरूले स्पष्ट पारेका छन् । विद्यालय यही जनवरी १८ देखि सञ्चालन गर्ने तयारी भएको पनि उनीहरूले जानकारी दिएका छन् ।

दिल्लीका विद्यालयहरुमा सन् २०२० को मार्चदेखि पठनपाठन ठप्प छ । कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि बन्द गरिएका विद्यालयहरू अहिले वार्षिक परीक्षालाई मध्यनजर गर्दै खोल्न लागिएको हो ।

यसअघि पनि विद्यालय खोल्ने तयारी भए पनि बन्द भएदेखि अहिले पहिलोपटक विद्यालय खोल्न लागिएको अधिकारीले जनाएका छन् । भारतकै अन्य कतिपय प्रदेशहरूमा भने केही समय अगाडिदेखि पठन पाठन सञ्चालन गरिएको छ । कोरोना भाइरसको संक्रमण कम देखिएका स्थानहरुमा पढाइ सञ्चालन गरिएको हो ।

दिल्ली सरकारले भने अहिले परीक्षाको तयारी र अभ्यास कार्यका लागि मात्रै विद्यार्थीलाई विद्यालय बोलाउन लागिएको स्पष्ट पारेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार