राष्ट्रिय महिला भलिबल टिमकी कप्तान शाही सम्मानित

राष्ट्रिय महिला भलिबल टिमकी कप्तान शाही सम्मानित

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही पोखरामा सम्मानित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा गत २८ पुसमा सम्पन्न ‘एनएसजेएफ स्पोर्टस अवार्ड’मा ‘पिपल्स च्वाइस विधा’मा विजयी भएकी उनलाई गण्डकी प्रदेश सरकारले प्रोत्साहन स्वरुप नगद १ लाखसहित सम्मान गरेको हो ।

पश्मिाञ्चल क्षेत्रीय भलिबल संघले पोखरा रंगशालामा आयोजना गरेको सम्मान कार्यक्रममा सामाजिक विकासमन्त्री नरदेवी पुनले सो रकम प्रदान गरिन् । अवार्ड विजेता तथा नेपाली महिला भलिबल टोलीलाई वर्ष २०७६ को उत्कृष्ट टोली बनाउन सफल भएकामा उनलाई सो सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य राजेशकुमार गुरुङले व्यक्तिगतरूपमा अरुणालाई नगद ११ हजार रुपैयाँ सहयोग गरे । सो अवसरमा मन्त्री पुनले प्रदेश सरकार खेलकुद विकासका लागि प्रतिवद्ध भएको बताउँदै आर्थिक क्षमताले भ्याएसम्म विकासको कार्यलाई अघि बढाएको बताइन् ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि पोखरा रङ्गशालाको संरक्षण गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने बताउँदै मन्त्री पुनले नवौं खेलकुदको तयारीका लागि जुट्न आग्रह गरिन् । यसैबीच पोखरामा सञ्चालन भएको ‘अरुणा शाही जिताउ अभियान’ बचत रकम कप्तान अरुणालाई हस्तान्तरण गरिएको छ ।

अभियानबाट बचत रकम ३ लाख ७३ हजार ७ सय ५ रुपैयाँ हस्तान्तरण गरिएको हो । संकलित रकमको आय-व्यय प्रस्तुत गर्दै नेपाल भलिबल संघका सल्लाहकार नारायण प्रसाद शर्माले कुल १६ लाख ७३ हजार ७ सय ५ संकलन भएकामा भोटिङ, भलिबल खेल व्यवस्थापनलगायतमा १३ लाख रुपैयाँ खर्च जानकारी दिए । रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार