कम्युनिस्ट शासनमा पुल बनाउँदा हाम्रा करङ भाँचिएका छन्

कम्युनिस्ट शासनमा पुल बनाउँदा हाम्रा करङ भाँचिएका छन्

सबै नेपालीहरु अहिले सजग भएका छन्। अब तानाशाही र सर्वसत्तावादविरुद्ध जुर्मुराएका छन्। नेपाली जनता जागरणको अवस्थामा पुगेका छन्। राजाको निर्दलीय पञ्चायतको समयमा रुख रोप्दा हाम्रो टाउको फुटेको थियो। अहिले गणतान्त्रिक व्यवस्थामा कम्युनिस्ट शासन चलिहरहँदा विकासको पुल बनाउँदा हाम्रा करङ भाँचिएका छन्।

आफ्ना मानिस पोस्ने, आफ्नै वर्ग बनाउने काम कम्युनिस्टले गरेका छन्। अहिले देशमा भ्रष्ट्राचार, असुरक्षा र पक्षपात बढेको छ। गाउँ गाउँ‚ घर घरमा कम्युनिस्टका विशेष अधिकारका वर्ग जन्मिएका छन्। उनीहरुलाई कानुन लाग्दैन, उनीहरुलाई लुट्ने अधिकार प्राप्त भएको छ। उनीहरूविरुद्ध मुद्दा लाग्दैन र उनीहरु सर्वाधिकर प्राप्त अधिनायकवादी भएका छन्। कम्युनिस्ट कार्यकर्तालाई लुट कान्छा लुट नेपालमै छ छुटको अवस्था छ। विकासको नाममा कम्युनिस्टहरुले लोभ देखाउने र सत्ताको दुरुपयोग गर्ने काम नेपालमा भइरहेको छ। सडकमा जताततै असन्तोष देखिन थालेको छ। सडकमा जथाभावी नारा लाग्न थालेको छ।

विपन्न जनताको अधिकार संविधानले स्थापना गर्न चाहेको भएपनि त्यसैमाथि प्रहार भएको छ। गणतन्त्रमाथि पहिलो प्रहार सर्वसत्तावादी कम्युनिस्टहरुले गरेका छन् भने दोस्रो प्रहार प्रतिगामीहरुले गरेका छन्। त्यस्तै तेस्रो प्रहार माओवादीको देखासिखी गर्ने विप्लवले गर्न थालेका छन्।

यी प्रतिक्रियावादी र प्रतिगामी तत्वहरूसँग हामी असहमत छौँ। देशमा लोकतन्त्र आएको छ तर सञ्चालक लोकतान्त्रिक छैन। उनीहरुको पृष्ठभुमि अलोकतन्त्रवादी छ‚ जसका कारण आज संघीयता र लोकतन्त्र तथा समावेशीता संकटमा पार्न खोजिँदैछ। देशमा सर्वसत्तावाद जुन रुपमा अघि बढेको छ‚ यो टिक्न सक्दैन।

विभिन्न निकायका अधिकार प्रधानमन्त्रीमा नीहित गर्ने, प्रदेश र स्थानीय तहका अधिकार केन्द्रमा तान्ने कार्य सरकारले गरिरहेको छ। प्रदेशहरु अहिले अधिकार माग्न अदालत आउनु परेको छ। एउटा पुल बनाउनसमेत दिइँदैन भने दूरदराजमा के भएको होला? देशका दूर दराजमा रहेका लोकतन्त्रवादीहरु कम्युनिस्टको आदेश पालना गर्न बाध्य किन बनाइएको छ?

कसैको अधिकारको सम्मान गरिएको छैन। सबैलाई सन्त्रासमा राखेर शासन गर्ने काम भएको छ। सरकार कम्युनिस्टको होला तर देश उनीहरुको मात्र होइन तर राज्यलाई कम्युनिस्ट राज्य बनाउन खोजिँदैछ। यो सरकार केपी ओलीको मात्र कुरा होइन‚ यो ओली प्रवृत्ति हो। म यो ओली प्रवृत्तिको विरोध गर्दछु। सरकार फेर्ने भए संसदमा आएर फेर्नुहोस्, जनताका बीचमा आएर असन्तुष्टि राख्न सक्नुहुन्छ तर भित्री किचलो गरेर जनताको काम नगर्ने छुट सरकारलाई छैन। जनताले पाँच वर्ष तपाईंहरुलाई दिएका छन्।

हामी बाहिर बसेर हेर्छौं‚ तपाईंहरुले गरेका गलत कामको भण्डाफोर गर्छौं। सरकारले सत्ताको दुरूपयोग गरेको छ। गोकर्ण, यति, वाइडबडीदेखि ओम्नीसम्मका भ्रष्टाचारका कुरा आएका छन्। कम्युनिस्ट पार्टीका बहुमत नेताले यो सरकार भ्रष्टाचारी भनिसकेका छन्। उनीहरुकै सचिवालयको बहुमत सदस्यले यही भनेका छन्। ट्रान्परेन्सीले पनि यो भनिसकेको छ। प्रधानमन्त्री कार्यालय सबैभन्दा धेरै भ्रष्ट छ।

सबै अधिकार आफैँमा केन्द्रित गरेर प्रधानमन्त्रीले भ्रष्टाचार गरेका छन्। हामी पनि दूधले नुहाएको छैनौँ तर कानुन बनाएर हाम्रा मन्त्री पनि जेल गएका छन्। जुन मन्त्रीका तर्फबाट अख्तियारसम्बन्धी कानुन संसद्‍मा पेस भयो, उनै मन्त्री भ्रष्टाचारको कसुरमा जेल पर्ने नेपाली काग्रेसकै नेता थिए।

मन्त्रीले भ्रष्टाचार गरेको कुरा आउँछ, अनि प्रधानमन्त्री आफैँ अगाडि आएर ‘केही गरेको छैन भन्छन्’ अनि अख्तियारले तामेलीमा राख्छ। अनि कसरी न्याय र संवैधानिक निकायको धज्जी उठाइँदैछ। कम्युनिस्टहरूको एउटा वर्ग छ जसलाई कानुन लाग्दैन यो अवस्था अहिले निर्माण भएको छ। यो अवस्थामा कसले पुर्‍यायो। कुरा गरेर साध्य छैन।

महालेखा, ट्रान्परेन्सी र लेखा समितिले भन्दा पनि सरकारले किन कारबाही गर्दैन? ठूलो माछा प्रधानमन्त्रीको संरक्षणमा उम्कने अनि साना माछामात्र खोजी हुने कार्य किन भइरहेका छ? सरकारले अधिकार कुण्ठित पार्छ भनेर आयोगहरू निर्माण भएका छन् तर ती आयोगहरु नियुक्त नगरी खाली सरकारले राखेको छ। नियुक्त भएका पनि सरकारले जे भनेको छ त्यही गर्ने कार्यकर्ता भर्ना गरिएको छ। सरकारले भनेको मात्र टेर्ने व्यक्ति भर्ना गर्ने हो भने यी आयोगहरू किन बनाएको? किन चाहियो आयोग? सरकारको इसारामा चल्न बनाएको हो?

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार