७ युवाको सक्रियतामा कालिजपालन व्यवसाय

७ युवाको सक्रियतामा कालिजपालन व्यवसाय

काठमाडौँ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–६, थुम्पाखरका युवा उद्यमीले गाउँमै कालिजपालन व्यवसाय सुरु गरेका छन्। गाउँमै नयाँ व्यवसाय गरेर स्वरोजगार हुन र मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणका लागि यस्तो काम थालेको व्यवसायमा संलग्नहरू बताउँछन्।

गाउँका युवालाई गाउँमै केही नयाँ काम गर्न प्रोत्साहन गरी आफू पनि गाउँमै केही काम गरेर आम्दानी बढाउने लक्ष्यका साथ थुम्पाखरस्थित कार्की परिवारका सात जना युवाको सक्रियतामा कालिजपालन व्यवसाय सुरु भएको हो।

जंगलमा देखेको कालिज काभ्रेको साँगा र पोखरामा रहेको साथीको फार्ममा पालेको देखेपछि हाइड्रोपावर व्यवसायी रामचन्द्रको मनमा पनि आफ्नो गाउँमा कालिज पालन व्यवसाय गर्ने सोच पलायो। आफ्ना दाजुभाइको सल्लाहअनुसार भगवती वाइल्ड एन्ड क्याटल प्रोडक्ट प्रालिको नाममा गाउँमै व्यवसाय सुरु गरिएको कार्कीले बताए ।

साँगाबाट रिङनेट जातको कालिजको ५३ वटा चल्ला ल्याएर गत असोजको दोस्रो साताबाट व्यवसाय सुरु गरेको साझेदार यज्ञ कार्कीले जानकारी दिए। यज्ञका अनुसार उनीहरू मासुका लागि कालिज मात्र नभएर अन्डा र चल्लासमेत उत्पादन गर्ने लक्ष्यका साथ व्यवसायमा लागेका छन्। ‘हामी मासुका लागि कालिजसहित चल्ला र अन्डा उत्पादनलाई पनि जोड दिन्छौं’, यज्ञले भने, ‘हामी मात्रै नभएर सिंगो गाउँ र आसपासलाई कालिजको हब बनाउने हाम्रो लक्ष्य हो।’

राजधानीका विभिन्न रेस्टुरेन्टमा मात्र नभई जिल्लाकै सुकुटेलगायत पर्यटकीय क्षेत्रका होटलले कालिज उपलब्ध गराउन आग्रह गरेको अर्का सञ्चालक मधुराम कार्की बताउँछन्। राम्रो उत्पादन नै सुरु नभई पर्याप्त माग आउन थालेको उनले बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार