दुई हजार शिक्षकको विज्ञापन गर्ने तयारी

दुई हजार शिक्षकको विज्ञापन गर्ने तयारी

काठमाडौं । शिक्षक सेवा आयोगले दुई हजार शिक्षकका लागि विज्ञापन गर्ने तयारी गरेको छ। आयोगले मावि, निमावि र प्राथमिक तहका स्थायी शिक्षकको विज्ञापन गर्न लागेको हो।

आयोगले अध्यापन अनुमतिपत्रको विज्ञापनका लागि सबै तयारी पूरा भएको जनाएको छ। आयोगमा अध्यक्ष र दुईजना सदस्य रहने कानुनी व्यवस्था छ। यतिबेला तीनै पद रिक्त छन्। आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस भए पनि सरकारले निर्णय गरेको छैन।

पदाधिकारी नियुक्त हुनेबित्तिकै स्थायी शिक्षकका लागि विज्ञापन गरिने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए। उनले भने, ‘आयोगमा पदाधिकारीको नियुक्ति नभएसम्म प्रशासनिक काम गर्न सकिने अवस्था छैन। पदाधिकारीको नियुक्ति हुनेबित्तिकै रिक्त दरबन्दीमा विज्ञापन खुलाउँछौं।’

अहिले शिक्षा मन्त्रालयको निर्देशन र शिक्षा तथा मानवस्रोत विकास केन्द्रको समन्वयमा दरबन्दी मिलानका लागि आन्तरिक गृहकार्य भइसकेको छ। रिक्त दुई हजार स्थायी शिक्षकको दरबन्दी पदपूर्तिका लागि अनुमति पाएको आयोगले जनाएको छ।

यस्तै प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहअनुसार विज्ञापन खोलिने बताएकाे छ। आयोगले अब प्रदेशअनुसार विज्ञापन गर्ने भएको छ भने अध्यापन अनुमतिपत्रको परीक्षा पनि पदाधिकारी नियुक्तिपछि मात्रै हुने जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार