माओवादी पूर्व लडाकुका दुबै संगठन ओली समुहमा

माओवादी पूर्व लडाकुका दुबै संगठन ओली समुहमा

काठमाडौं । माओवादीका  लडाकुहरुको संगठन पूर्व जनमुक्ति सेना तथा वहिर्गत वाल सेनाहरुको संगठनहरु केपी ओली नेतृत्वको नेकपामा समाहित भएका छन् । शनिवार प्रचण्ड-माधव पक्षधर नेकपा केन्द्रीय सदस्य लिलवहादुर थापा सहित पूर्व लडाकु कमाण्डरहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओली नेतृत्वमा समाहित भएका हुन् ।

पूर्व लडाकु संगठनका अध्यक्ष टुकवहादुर थापा (अर्जुन) र वहिर्गमित वाल सैनिक संगठनका लेनिन विष्ट सहितका पदाधिकारीहरुले ओली पक्षमा लागेको घोषणा गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले जनयुद्धको अवधिमा गरेको योगदान, त्यागको सम्मान गर्ने बताएका छन् । उनले भनेका छन्, ‘तपाईहरु ढुक्क हुनुस्, हामी राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्छौं । विगतमा जस्तो धोका पाउनु हुने छैन ।’

भेटमा सहभागी लेनिन विष्टका अनुसार प्रधानमन्त्रीले आफूहरुको सबै मुद्दा सम्बोधन गर्ने बचन दिएका छन् । उनले अघि भने, ‘धेरै विषय बाहिर नभन्ने भनिएको छ । तर हामी पार्टीमा उहाँलाई साथ दिन सहमत भएका छौं ।’ घाइते अपांग पूर्व लडाकुको उपचार सरकारले व्यहोर्ने गरि मन्त्रिपरिषदले निर्णय गरिसकेको थापाले बताए ।

त्यस्तै पूर्व लडाकुलाई राज्यको तर्फबाट परिचयपत्र दिने र राज्यका विभिन्न निकाय तथा पार्टीका विभिन्न संरचनामा समायोजना गर्ने सहमति भएको छ । त्यस्तै शहीद परिवारका एक घर एक रोजगारको लागि पनि तत्कालै प्रक्रिया थाल्ने सहमति भएको उनले बताए ।

प्रचण्डले आफ्नो लागि ज्यान दिन हिडेका लडाकुलाई अलपत्र पारेर छोरी ज्वाइँको लागिमात्र बार्गेनिङ गरेको आरोप लगाइरहेका ओलीले शनिवार पूर्व लडाकु कमाण्डरहरुसँग छलफल गरेका हुन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार