आलु खेतीमा जमेका प्रकाश सर

आलु खेतीमा जमेका प्रकाश सर

डडेल्धुरा । अमरगढी नगरपालिका–१ तडिपाटाका प्रकाशबहादुर ऐर पेशाले सरकारी शिक्षक हुन् । उनी घरदेखि १५ मिनेटको दूरीमा रहेको असिग्राम माविमा गणित र विज्ञान विषय अध्यापन गराउँछन् । शिक्षण पेशामा आबद्ध भएको २२ वर्ष पुग्यो जसमा सात वर्ष करार र १५ वर्ष स्थायी छ ।

प्रकाश सर बिहान ६ देखि ९ बजे र साँझ ५ देखि करीब ८ बजेसम्म माटामा रमाइरहेको भेटिन्छन् । उनी तीन महिना आलु खेतीसँग रमाउँछन्, तीन महिना काउली खेतीसँग मनोरञ्जन गर्छन् । उनी बाँकी समय घर वरपरका बोटबिरुवा, गाईभैँसी, माछाको हेरचाहमा बिताउँछन् ।

२० वर्षदेखि आलु खेती

प्रकाश सरले आलु खेती शुरु गरेको २० वर्ष भयो । १३ रोपनी जमिनमा उनले आलु खेती गरिरहेका छन् । विगतमा मकै बालीमा सीमित तडिपाटा गाउँ अहिले नगदे बालीमा धेरै अगाडि पुगेको छ । आलुको ‘सुपरजोन’ नै घोषणा भएको यस क्षेत्रका अधिकांशका खेतबारी आलुको हरिया पातहरुले हरियालीपूर्ण छ ।

‘यहाँ सुरुसुरुमा मकैमात्रै लगाउँथ्यौं । हामी मकैमा मात्रै सीमित थियौं’ उनले भने, ‘पछि विस्तारै बुझ्दै जाँदा आलु खेतीबाट राम्रो आम्दानी हुने थाहा पाएपछि अहिले यहाँका सबैले आलु खेती मात्रै गर्छन् ।’

सिँचाइको सुविधा नभएको कारण देखाएर धेरैले काम गर्न छाडेको उदाहरण छन् । इच्छा शक्ति भए सबै हुन्छ भने जस्तै ऐरले बारीभन्दा तलको खोलाबाट मोटरको प्रयोग गरी सिँचाइ व्यवस्थापन गरेका छन् ।

सुरुमा आलु खेती गर्दा केही समस्या आफूले भोग्नु परेको उनले सुनाए । ‘मैले १३ रोपनीमा आलु खेती गरेको छु । सुरुमा गाईवस्तुहरु पाल्नुपर्ने थियो, जोत्न कठिनाइ पनि थियो’, उनले भने, ‘अहिले यान्त्रीकरणको युग आइसकेपछि आलु सुपरजोनबाट ५० प्रतिशत अनुदानमा मेसिनहरु पनि उपलब्ध भएको छ । त्यसले जोत्ने काममा सहजता ल्याएको छ ।’

एक याममा छ लाख कमाइ

प्रकाश सरले एक याममा सरदर १२ देखि १५ टन आलु उत्पादन गर्छन् । आलु राम्रो उत्पादन भएका समयमा एक याममा छ लाख र कम उत्पादन भएका याममा तीन लाख रुपैयाँ आम्दानी हुन्छ । बिक्री वितरणमा पनि केही समस्या नभएको उनको भनाइ छ ।

उत्पादित बीउ आलु भने उनी नजिकैको उग्रतारा शीत भण्डारण गृहमा राख्छन् । आलु रोप्ने समयमा तराईका जिल्ला कैलाली र कञ्चनपुर तथा पहाडका बैतडी, दार्चुला, बझाङ र डोटीका विभिन्न स्थानीय तहले सजिलै उनकै घरबाट बीउ आलु खरीद गरेर लैजान्छन् ।

प्रकाश सरले विद्यार्थीलाई औपचारिक शिक्षा दिइरहँदा आलु खेती गर्न चाहने किसानलाई आलु बीउ उत्पादन र बिक्री गरेर उदाहरणीय काम गरिरहेको स्थानीयवासी बताउँछन् । उनको यस कार्यमा थप बल तथा प्रोत्साहनस्वरुप प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको कार्यान्वयन एकाइ आलु सुपरजोन डडेल्धुराले अनुदान र बेलाबेलामा प्राविधिक सहयोग गर्दै आएको छ ।

सहयोग भएपछि आलु खेतीको दायरा फराकिलो भएको उनले बताए । अहिले खायन आलु (खानका लागि लगाइएको आलु) मात्र हैन, बीउ पनि उत्पादन भइरहेको छ । खायन आलुको मूल्य प्रतिकिलो २५ देखि ३० तथा बीउ आलुको मूल्य प्रतिकिलो ७० देखि ८० रुपैयाँ हो । ‘आलु मेरो जीवन नै हो, व्यावसायिक आलु खेतीमा मुनाफा त छँदै छ, आनन्द पनि उत्तिकै छ । घरपरिवारका सदस्यले सघाउँछन् । काम सकिन भने केही समयका लागि भए पनि ज्यालामा श्रमिक पनि राख्छ’ उनले सुनाए ।

विदेशिने युवालाई सुझाव

युवाले खाडी मुलुक तथा भारतीय शहर जानुभन्दा आफ्नै देशमा पसिना बगाउन सकेमा आम्दानी गर्न सकिने उनको सुझाव छ । देशमै आधुनिक तरिकाले कृषि व्यवसाय गरेमा युवा विदेश पलायन हुनु नपर्ने बताउँदै उनले भने, ‘युवाहरुले आफ्नै देशमा केही न केही व्यापार व्यवसाय गर्नुपर्छ । विदेश जानु हुँदैन । यहीँ लाखौं कमाउन सकिन्छ ।’ नेपालकै भूमिमा पसिना बगाउन उनले सुझाव दिए । ‘विदेशी भूमिमा घण्टौं पसिना बगाएर छोराछोरीको पालनपोषण गर्नुभन्दा आफ्नै भूमिमै पसिना बगाएर आम्दानी गर्न सकिन्छ’ उनले भने ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार