१६ सचिवको एकैपटक सरुवा

१६ सचिवको एकैपटक सरुवा

काठमाडौँ । सरकारले एकैपटक १६ सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को विहीबार बसेको बैठकले विभिन्न मन्त्रालय, आयोग, प्रदेश तथा कार्यालयमा कार्यरत सचिवको सरुवा गरेको हो ।

एक मन्त्रीका अनुसार निर्वाचन आयोगका सचिव देवकुमारी गुरागाईँको उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएको छ । उपराष्ट्रपति कार्यालयका सचिव केदार न्यौपानेको युवा तथा खेलकुद मन्त्रालयमा सारिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेश अधिकारी निर्वाचन आयोगमा तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तोयम रायलाई अख्तियारमा पठाइएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुरेश आचार्यको नेपाल ट्रस्टको कार्यालयमा सरुवा भएका छन् भने राष्ट्रिय सतर्कता केन्द्रका सचिव मणिराम गेलाल प्राधिकरणमा पुगेका छन् । नेपाल ट्रस्टका देवेन्द्र कार्कीको राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा र शिक्षा सचिव गोपीनाथ मैनाली राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएका छन् ।

यस्तै, आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ । भूमि मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई सार्वजनिक खरिद अनुगमन कार्यालय सारिएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव सूर्यप्रसाद गौतमको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ ।

लोकसेवा आयोगका सचिव अर्जुन पोखरेल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएका छन् । आयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईँ सरुवा भएका छन् । वाणिज्य सचिव वैकुण्ठ अर्यालको भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईलाई उद्योग सचिवमा ल्याइएको छ भने भट्टराईको ठाउँमा भर्खरै बढुवा भएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्तरुपमा रहेका सचिव सुमन अर्याललाई पठाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार