काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा राखिएका सामग्री हटाइँदै

काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा राखिएका सामग्री हटाइँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री र त्यहाँ भएका अस्थायी भौतिक संरचना हटाउने कार्य थालेको छ ।

गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको दरबार हाइस्कुल सञ्चालनका लागि अस्थायी टहरा, स्कुल निर्माणका सामग्री र वीर अस्पताल निर्माणका लागि सामग्री राखिएको थियो । अहिले स्कुल निर्माण सम्पन्न भइसकेको छ भने अस्पताल पनि निर्माणको अन्तिम चरणमा रहेकाले कामपाले खुलामञ्चमा राखिएका सामग्री हटाउन लागेको हो ।

पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विशाल सभा, विरोध प्रदर्शन, र्याली, आमसभालगायतले महानगर क्षेत्रभित्रका सडक अस्तव्यस्त बनेकाले छिटो खाली गर्न लागिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणका लागि खुलामञ्चभित्र अस्थायीरूपमा सरेको पुरानो बसपार्कलाई छिट्टै पुरानै लयमा फर्काउने महानगरको योजना छ ।

अस्थायी बसपार्कका लागि अर्को व्यवस्थापन नहुञ्जेल खुलामञ्चमा ठूला आमसभा हुने दिन सवारीलाई टुँडिखेल घुमाएर बसपार्कसमेत खुला गर्नेसम्मको तयारी गरिएको छ । अहिले वीर अस्पताल निर्माणको ९० प्रतिशतभन्दा बढी काम सकिएको छ । अब जतिसक्दो छिटो खुलामञ्च खुला गर्न थालिनेछ । बाँकी निर्माण कार्यका लागि निर्माणस्थलमा सामग्री राखेरै काम गर्न सकिनेछ ।

केही समयदेखि सम्पदा बचाउ अभियानकर्ताले खुलामञ्चलाई तत्काल खुला गर्नुपर्ने माग राख्दै कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई ध्यानाकर्षण गराउँदै आएका थिए । त्यस सम्बन्धमा प्रमुख शाक्यले पुनःनिर्माणको कार्यले गर्दा केही समस्या भएको भन्दै निर्माण सम्पन्न भएसँगै पूर्णरूपमा खुलामञ्च खाली गर्ने बताउँदै आएका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार