बिहे भोजमा झडप गरेको अभियोगमा आठ जना पक्राउ, दुई जना घाईते

बिहे भोजमा झडप गरेको अभियोगमा आठ जना पक्राउ, दुई जना घाईते

मुसिकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्वर ९ राडी बजारमा गत सोमबार बिहे भोजमा झडप तथा कुटपिट गरेको अभियोगमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

कुटपिट संलग्न भएको अभियोगमा बाँसगढी नगरपालिका वडा नम्बर ९ का २३ बर्षिय बिक्रम खाँड ठकुरी, सोहि स्थान घर भई हाल स्थानीय राडि बजारमा व्यवसाय गर्ने ५० बर्षका सुरेश चन्द, नलगाड नगरपालिका वडा नम्वर ७ कालिमाटी जाजरकोटका २० बर्षिय नबिन घर्ति, भेरी नगरपालिका वडा नम्वर ३ जाजरकोटका १९ बर्षिय राजन बि.क., सोहि स्थानका २४ बर्षिय भानु ओली पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख, प्रहरी नायब उपक्षिक (डिएसपी) ध्रुवकुमार श्रेष्ठले बताउनुभयो ।

त्यसैगरी रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर ५ का २५ बर्षिय सुदर्शन बिष्ट, आठबिसकोट नगरपालिका वडा नम्वर ९ का २० बर्षिय मनोज परियार र सोहि स्थानका १५ बर्षिय अनिल परियार (नाम परिवर्तन) पक्राउ परेका छन् । पक्राउ परेकाहरु बिरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा तथा नैतिकता बिरुद्धको कसुरमा अभद्र व्यबहार अन्तर्गतको मुद्धा चलाईने डिएसपी श्रेष्ठले बताउँनुभयो । घटनामा संलन केहि मुख्य व्यक्तिहरु फरार रहेकोले उनीहरुको खोजी भैरहेको समेत उहाँले बताउँनुभयो ।

स्थानीय राडि बजारका मनोज बस्नेतको बिहे भोज भैरहेको अवस्थामा दुई फरक समुह बिच झडप हुँदा दुई जना घाईते भएका थिए । घाईते मध्ये आठबिसकोट नगरपालिका वडा नम्वर ९ का २० बर्षिय गोबिन्द शाहिको अवस्था गम्भिर भएपछि शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको छ भने अर्का घाईते सोहि स्थानका पूर्ण बि.क.को स्थानीय अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार