कर्णालीमा ११२ स्वास्थ्यकर्मी नियुक्त

कर्णालीमा ११२ स्वास्थ्यकर्मी नियुक्त

सुर्खेत । कोरोना संक्रमण नियन्त्रण गर्न कर्णाली प्रदेशमा स्वास्थ्यकर्मीहरु नियुक्त गरिएको छ। कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले आज ११२ जना स्वास्थ्यकर्मीहरु नियुक्त गरेको हो।

जसमध्ये स्टाफ नर्स ७६ जना, ल्याब टेक्निसियन १२ जना, हेल्थ असिस्टेन १० जना, रेडियोग्राफर ६ जना, फार्मेसी सहायक ६ जना र कविराज दुई जना नियुक्त भएका हुन्। करार सेवामा नियुक्त भएका सबैलाई ५ दिनभित्र तोकिएको कार्यक्षेत्रमा पुग्न निर्देशन दिइएको छ।

कर्णालीमा कोरोना रोकथामका लागि स्वास्थ्यकर्मीहरु अभाव छ। संक्रमण दिनप्रतिदिन फैलिदै जाँदा स्वास्थ्यकर्मीहरुको चरम अभाव चुलिएपछि करारमा स्वास्थ्यकर्मीहरु नियुक्त गरिएको हो।

‘प्रदेशभर एक चौथाइ कर्मचारी मात्रै छन्, महामारी नियन्त्रणका लागि यो जनशक्ति निकै कम हो’ प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले भने, ‘कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि तत्काल ११२ जना स्वास्थ्यकर्मी नियुक्त गरेका हौँ।’

नियुक्त भएका सबै स्वास्थ्यकर्मी पाँचौँ तहका हुन्। ‘हाल पाँचौँ तहका स्वास्थ्यकर्मीमात्रै नियुक्त गरेका छौँ, संक्रमण फैलिँदै गएपछि विशेषज्ञ डाक्टरको नियुक्ति गर्नुपर्ने हुनसक्छ’ निर्देशक खड्काले भने, ‘नियुक्त भएका सबै स्वास्थ्यकर्मीलाई कोरोना नियन्त्रणमा खटाएका छौँ।’ नवनियुक्त स्वास्थ्यकर्मीहरुलाई जिल्लामा संक्रमणको अवस्था, अस्पतालमा संक्रमितको चाप र मागका आधारमा दश वटै जिल्लामा खटाइएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार