जिल्ला अस्पताल सल्लेमा फेरि अक्सिजकाे अभाव

जिल्ला अस्पताल सल्लेमा फेरि अक्सिजकाे अभाव

मुसिकोट । रुकुम पश्चिम स्थित जिल्ला अस्पताल सल्लेमा अक्सिजनको अभाव भएको छ । कोरोना संक्रमणका बिरामीहरु दैनिक बढीरहेको बेला जिल्ला अस्पतालमै अक्सिजनको अभाव भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुकुम पश्चिमले अहिले अस्पतालमा २ ओटा मात्रै सिलिण्डर रहेको जनाएको छ । जिल्ला अस्पताल सल्लेमा सञ्चालनमा ल्याएको आइसोलेसनमा ३५ जना बिरामी रहेका छन् । जसमध्ये १५ जनालाई अक्सिजन लगाउनै पर्ने अवस्था रहेको डा. राजकुमार भुजेलले बताउनुभयो । २ सिलिण्डर अक्सिजन १५ जना बिरामीहरुलाई २ मिनेटको फरक लगाउने गरिएको छ ।

अक्सिजन चढाउने अधिकाश बिरामीहरुको अक्सिजनको मात्रा ७० देखि ८० रहेको बताईएको छ । अहिले अस्पतालमा पाँच वटा मात्रै अक्सिजन कन्सन्टेटर रहेको अस्पतालले जनाएको छ । स्वास्थ्य कार्यालयले दांङबाट अक्सिजन ल्याउनको लागि कर्मचारी पठाएको तर नपाएको जनाएको छ ।

तत्कालको समस्या टार्न आजै बेलुका चौरजहारी अस्पतालबाट ३ बटा अक्सिजन सिलिण्डर ल्याएकाे अस्पतालले जनाएको छ । स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख बिष्णु बुढाथोकीले भोली सम्म भैरहवाबाट २२ वटा अक्सिजन सिलिण्डर आउने बताउनुभयो ।

एक बालकको मृत्यु

सोमबार रुकुम पश्चिममा ४ बर्षीय बालकको मृत्यु भएको छ । मुसीकोट नगरपालिका वडा नम्बर ५ का बालकलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो । पखाला, खोकी लगायतका समस्या देखिएका उनमा सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।       जिल्ला अस्पतालमा उपचार सुरु गरे लगत्तै उनको मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ ।

यो सँगै जिल्लामा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार