चितवनमा अक्सिजन अभावः जटिल बिरामीको उपचारमा समस्या

चितवनमा अक्सिजन अभावः जटिल बिरामीको उपचारमा समस्या

चितवन – कोभिड–१९ जटिल संक्रमितलाई उपचार गर्न जिल्लामा अक्सिजन अभाव हुन थालेको छ। बाहिरी जिल्लाबाट अक्सिन आउन छाडेपछि यहाँका अस्पतालमा मागअनुसार अक्सिजन नपुगेको हो।

जिल्लामा कोरोनाका उपचार गराइरहेका दुई सरकारी र दुई मेडिकल कलेजका आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा रहेको छ।
पछिल्लो समय बिरामीको संख्या बढेपछि उद्योगबाट अक्सिजन ल्याउनुपर्ने बाध्यता भएको छ।

स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार दैनिक एक हजार २ सय सिलिन्डर जिल्लाका अस्पतालमा आवश्यक पर्छ। यहाँको चार अस्पताल र एउटा निजी उद्योगको गरी ८८० सिलिन्डर मात्रै उत्पादन हुँदै आएको छ।

दैनिक ३२० सिलिन्डर अक्सिजन जिल्लामा अपुग भएको उनले जानकारी दिए।

भरतपुर अस्पतालले दैनिक ७५ सिलिन्डर उत्पादन गर्छ भने २ सय खपत गर्छ। चितवन मेडिकल कलेजको ४ सय सिलिन्डर खपत छ भने उत्पादन ७५ सिलिन्डर मात्रै छ। कलेज अफ मेडिकल साइन्सेसलाई आवश्यक पर्ने ३५० सिलिन्डर आफैँ उत्पादन गर्छ। बीस सिलिन्डर अक्सिन उत्पादन गर्ने वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको खपत दैनिक एक सय सिलिन्डर रहेको छ।

निजी अस्पतालले दैनिक १०० सिलिन्डर र अन्य प्रयोगमा ५० सिलिन्डर खपत हुँदै आएको छ। जिल्लामा रहेको एक मात्रै स्वर्गद्वारी अक्सिजन उद्योगले दैनिक ३६० सिलिन्डर उत्पादन गर्छ।

जिल्लाको तथ्यांकलाई हेर्दा यहाँका अस्पताल र घरायसी प्रयोगनका लागि ६८० सिलिन्डर दैनिक अभाव हुने गरेको छ। स्वर्गद्वारीको उत्पादन ३६० सिलिन्डर भए पनि दैनिक ३२० सिलिन्डर बाहिरी जिल्लाको भर पर्नुपरेको छ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले यसअघि काठमाडौं र रुपन्देहीमा प्लान्ट भएको शंकर ग्यास उद्योग र परवानीपुरमा प्लान्ट भएको भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्सबाट अक्सिजन आउने गरेको जानकारी दिए। उनका अनुसार ती उद्योगबाट अहिले आउन रोकिएपछि जिल्लामा समस्या आएको हो।

भरतपुर अस्पतालमा शंकर ग्यासले वर्षदिनभरका लागि बोलपत्र सकारेको भए पनि ग्यास दिन नसक्दा समस्या भएको छ।
उद्योग रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग आफूले निरन्तर रुपमा ग्यास पठाइदिन अनुरोध गरेको भए पनि नआउँदा समस्या भएको उनको भनाइ छ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बिरामी बचाउनै मुस्किल हुने अवस्था आएको बताए। उनले भने, ‘सिलिन्डर खोजेर अहिलेसम्म धानिरहेका छौं, अस्पतालमा कोभिडको शय्या विस्तार गर्ने योजना बनाए पनि अक्सिजन अभावका कारण समस्या भएको छ।’

जिल्लाका अस्पतालमा ५० प्रतिशतभन्दा बढी बाहिरी जिल्लाका संक्रमित उपचार गराइरहेका छन्।

छिमेकी जिल्लाबाट संक्रमित पठाउने तर अक्सिजन आउन नदिने हुँदा समस्या भएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जिल्लामै अक्सिजन अभाव भएपछि बाहिर जिल्लामा पठाउन नसकिएको जानकारी दिए। उनले भने, ‘यहाँको अवस्थाबारे तपाईंहरूलाई थाहै छ, मैले के भनौं ?’ रासस

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार