कोरोना संक्रमितको अवस्था बुझ्न गाउँ गाउँमा नगर प्रमुख

कोरोना संक्रमितको अवस्था बुझ्न गाउँ गाउँमा नगर प्रमुख

चौरजहारी । रुकुम पश्चिमको चौरजहारी नगपालिकाका नगर प्रमुख र स्वास्थ्यकर्मीको टोलि कोरोना संक्रमितहरुको अवस्था बुझ्न घरदैलोमै पुग्ने गरेको छ । कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका संक्रमितहरुको अवस्था बुझ्न र उनीहरुको मनोबल उच्च बनाउन नगरप्रमुख बिशाल शर्मा स्वास्थ्यकर्मीको टोली सहित घर घरमै पुग्न थाल्नु भएको हो ।

केहिदिन अघि नगरपालिकाको वडा नम्बर ७, ८, ९ र १० मा पुग्नुभएका नगर प्रमुख शर्मा सहितको टोलीले हिजो मंगलबार वडा नम्बर १३ र सहिद स्मृति नगर अस्पतालमा पुगेर त्यहाँ रहेका संक्रमितहरुसँग भेटघाट गरेको थियो । आज बुधबार नगरपालिकामै बसेर बिभिन्न वडामा रहेका संक्रमित र आईशोलेशनमा रहेका बिरामीहरुको अवस्था बुझ्ने काम भएको नगरप्रमुख बिशाल शर्माले बताउनुभयो ।

गाउँमा संक्रमितहरु स्वास्थ्य सुरक्षाका मापदण्ड बिनै बस्ने, गाउँमा निस्कने गरेको गुनासो प्राप्त भएपछि सम्झाई बुझाई गर्न पनि घरदैलो गर्नुपरेको नगरप्रमुख शर्माले उल्लेख गर्नुभयो । भेटघाटको क्रममा स्वास्थ्यकर्मीको टोलीले उनीहरुको अक्सिजन लेवल नाप्ने, आवश्यकता अनुसार औषधि दिने गरेको छ । स्वास्थ्यमा थप समस्या आएमा तत्काल सम्पर्क गर्न भनिएको नगरप्रमुख शर्माले बताउँनुभयो ।

अहिले नगरपालिका अन्तर्गतका वडा नम्बर ३, ७, ८, ९, १० र १३ मा कोरोना संक्रमतिहरु होम आईशोलेशनमा रहेका छन् । नगरपालिकाले चौरजहारी सेवा केन्द्र, खोलागाउँ र कोटजहारीमा ४५ बेडको आइशोलेशन अस्पताल सञ्चालन गरेको छ । उक्त अस्पतालमा अक्सिजन सिलिन्डर, कन्सन्टेटरको व्यवस्था गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार