आत्मबल सबैभन्दा ठूलो उपचार हो

कोरोना गनथन

आत्मबल सबैभन्दा ठूलो उपचार हो

कोरोना गनथन

कोरोना पोजेटिभ देखिएको एक महिना पछि लेख्न बस्दैछु, लेख्न बसिरहदा कोरोनाकै कारण सयौले ज्यान गुमाएका छन् । भर्खरै पनि देशले एक विवेकशील युवा गुमाएको छ, उज्ज्वल थापा । थापा जस्तै यो महामारीमा अकाल ज्यान गुमाउनेहरुका प्रती हार्दिक श्रद्धाञ्जली । अहिले पनि कोरोना सङ्गको लडाई लडिरहनु भएका सबैलाई शिघ्र अनि पूर्ण स्वास्थ लाभको कामना। यो बिचको समयका मेरा अनुभुतिहरु खास स्वादिला र मिठा छैनन, देशका जस्तै। हामी भुई मान्छेहरुले आफ्नै बारे लेख्न कोसिस गर्नु झन् असजिलो विषय हो कि झै लाग्दैछ । जीवन हो, उकाली ओराली नियमित प्रक्रिया हुन । भोग्दै जाने, सिक्दै जाने हो भन्ने आत्मबोध चाहिँ बलियो भएको छ, पहिले भन्दा धेरै। शरीर अहिले पनि तङ्री सकेको छैन कमजोरी महशुस भै रहेको छ, शरीरमा तागतै नभए जस्तो, आलश्य।

अघिल्लो राती देखि ज्वरो लगातार १०० भन्दा माथी र घाँटी दुखिरहेको थियो । रत्तिभर लागेको थिएन कि म पनि भाईरसको संक्रमणमा परिसके भनेर । म कतै निस्केकै छैन, कोहि सङ्ग भेटेकै छैन, कसरी मलाई कोरोना संक्रमण हुन सक्छ ? भनेर आत्मरतिमै रमाईरहेको थिए। भोली पल्ट नजिकैको औषधि पसलमा गए सिटामोल र घाँटी दुखेको औषधि लिएर आए, दुई दिन प्रयोग गर्दा पनि घाँटी दुखाई कम नभएसी अब चाहिँ बल्ल शंका लाग्न थाल्यो । सधै जसो तरकारी ल्याउने पसलको साउजी कोरोना पोजेटिभ भएर अस्पतालमा उपचाररत छ्न भन्ने सुन्दा झन चिसो भयो मन । अनि लाग्यो यो हेलच्क्र्याई गर्ने बिषय होईन रहेछ, घर परिवारमा सल्लाह गरेर पिसिआर टेस्ट गर्ने निधो गरे ।

भोलिपल्ट अलि ढिलो गरि रिपोर्ट आयो ‘पोजेटिभवाला’ । अब भने साच्चिकै मन आत्तियो । उकुस मुकुस हुन थाल्यो । भर्खरै सुत्केरी भएकी श्रीमती छन घरमा, सानो बच्चा छ । के गर्ने कसो गर्ने दिमागले सोच्न सकिरहेको थिएन । आफ्नो भन्दा परिवारको चिन्ता लाग्न थाल्यो बेसी । संसारमा सबैभन्दा कमजोर मै हुकी जस्तो लाग्यो। सामान्य कुरा हो, रुघाखोकी जस्तै ठिक भै हाल्छ एक दुई दिनमा, म छु नी हजुरको केयर गर्ने आत्तिनु हुदैन है, श्रीमती ढाडस दिदै थिईन । म उनको अनुहार हेरेर रुन मात्र सकिरहेको थिईन । आफैले आफैलाई सम्झाए, जे जे हुने हो भएर छाड्छ, जिन्दगी हो भोग्नु त छदैछ। चार दिन पहिला देखि नै एक्लै बसिरहेको थिए । छुट्टै ट्वाईलेट बाथरुम प्रयोग गरिरहेको थिए । त्यसैले पनि मनमा सानो आशा थियो परिवारलाई केही भएको छैन होला ।प्रार्थना गरिरहेको थिए कि परिवारलाई संक्रमण नहोस ।

सोही दिन दिउँसो ४ बजे तिर शिक्षण अस्पताल नेपालगञ्जबाट फोन आयो, माईजुको रहेछ । उहाँ आफै स्वास्थकर्मी भएकोले सर सल्लाह लिन मलाई अलि सजिलो भएको थियो । माईजुले यो बिचमा हामीलाई कोरोना सङ्ग लड्न जुन साथ, समर्थन, हौसला र अभिभावकत्त्व दिनुभयो त्यसका लागि नतमस्तक छु, कृतज्ञ छु। पिसिआर रिपोर्ट हेरीसकेपछि छातीको एक्सरेको सिफारिस गर्नु भयो डाक्टरले । त्यस पछि बल्ल टुङ्गो लाग्ने रे हस्पिटल भर्ना गर्ने कि घरमै आईसोलेसन बस्ने भनेर । फेरि मन चिसो भयो कतै गम्भीर त भै सकेको छैन । समस्याह्रु, त्यो चीत्कार, त्यो कोलाहल अनि बेड र अक्सिजनका लागि हानथाप भै रहेको बेला त्यसै त्यसै मनोबल कमजोर हुदो रैछ, मलाई हस्पिटल बस्नु नपरे हुन्थ्यो भन्ने लागि रहेको थियो। अहिले पो अलि सहज जस्तो देखिएको छ आज भन्दा एक महिना पहिले नेपालगन्जको अवस्था कस्तो थियो थाह पाउनु नै भएको थियो होला। एक्सरे नर्मल भन्ने सुन्दा मन अलि शान्त भयो, बेला बेलामा ज्वरो र अक्सिजन नापिरहने , ११ दिन बाहिर ननिस्कने र दिईएका औषधि नियमित सेवन गर्ने शर्तमा घरमै बस्न पाईने भैयो।

बेलुका वडा कार्यालयको स्वास्थ शाखाबाट फोन आयो, स्वास्थ्य अबस्था बुझ्न रैछ । मैले सबै ठिकै छ भनिदिए । मीठो स्वरमा नर्स बहिनीले यस्तो बेला गर्न हुने गर्न नहुने कामका बारेमा सम्झाईन। नआत्तिनु होला हामी छौ, केही समस्या हुने बित्तिकै खबर गर्नुस है भनिन । रुकुमको मान्छे भएपनि नेपालगन्जको वडाले देखाएको आत्मियताले थोरै भएपनि सान्त्वना मिल्यो। नेपालगन्ज कोरोनाको हटस्पट भैरहदा पनि स्थानीय तहले गरेको कोशिस सराहनीय थियो, अरु स्थानीय तहले पनि यस्तो कार्यक्रम सन्चालन गर्नु पर्दछ जस्तो लाग्छ। राम्रो कुरा कपी गर्दा बिग्रने के हो र ? बिरामीलाई थोरै भए पनि हौसला मिल्छ र धेर थोर राज्य भएको अनुभूति हुन्छ । त्यो बेला हरेक दुई दुई दिनमा फोन गरेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिई राख्ने ती स्वास्थ्यकर्मी बहिनीलाई यो अनुभुती लेखिरहदा सम्झिरहेको छु, धन्यवाद चाहिँ डिस्चार्ज पेपर लिदा भेटेरै दिएको हु । निषेधाज्ञा र महामारीका बिच जे जसो पर्दा पनि नाई नभनी सहयोग गर्ने दिपेन्द्र, सहर्ष, निखिल अनि महेश भाईहरुका प्रती सधै आभारी छु सबै जना स्वस्थ भए पछि माहौल मिलाएर कार्की दाईकोमा भेटेर दुख सुख बाड्नु पर्छ ल ।

घरमै आईसोलेट भएर बस्न थालेको सुरुको २ दिन हनहनी ज्वरो आएर हैरान । ज्यान दुखेर त्यस्तै, निन्द्रा पटक्कै नलाग्ने । खोकी चाहिँ थिएन पहिले देखि । अक्सिजन लेभल पनि सामान्य नै थियो । सोध्नेहरु सबैलाई ठिक छ त्यस्तो केही समस्या छैन भनीरहे। दिमागले चाहिने नचाहिने के के सोच्दो रैछ त्यही भएर होला मन पनि कमजोर हुने तर सकभर त्यसो हुन नदिन कोसिस गरे । कहिले आफै सङ्ग गफ गरेर कहिले युटुब लगायतका ईन्टरनेटमा राखिएका सामाग्री हेरेर आफुलाई भुलाउने कोसिस गरिरहे। ईन्टरनेटका कति सामाग्रीले त झन इरिटेड पनि बनाउने रैछ । हरेक दिन चिनेजानेकै मान्छेका श्रद्धाञ्जली देखिन थालेसी मानसिक रुपमा बहुत असजिलो लाग्यो । ५ दिन जति त फेसबुक अनस्टल नै गर्दिए । जसरी भएनी मनोबल बलियो राख्नु थियो यो लडाईमा।

संक्रमणको पाँचौ दिन घरमा एकान्तबास बसिरहेको छु । सकि नसकी श्रीमतीले मेरो र बच्चा दुबैको हेरचाह गरिरहेकी छ्न। मीठो मसिनो पकाएर देकै छन। के के हो के के जडिबुटी देखि फलफुल अन्डा माछा मासु खाउ भने जम्मै छ । तर आफुलाई जे खाएनी स्वाद नै छैन । खान पनि पटक्कै मन नलाग्ने । तर जे सुकै होस खान चाहिँ जबरजस्ती भए पनि खाने प्रण गरेको छु । यो बिचमा मेडम आफै पनि सन्चो नभएर पिसिआरको लागि स्वाब दिएर आएको रिपोर्ट अझै आको छैन । त्यै कुराले झन तनाब भै रहेको छ । दूध खाने २ महिनाको बच्चा छ के गर्ने के नगर्ने जे भएनी बच्चालाई त भोको राख्नु त भएन । डाक्टरहरुले पनि त्यही भनेका छ्न, बच्चालाई केही हुदैन नआत्तिनु होला । आमालाई पोजेटिभ नै भए पनि दूध खुवाउन नछोड्नु होला। आमाको दुध र आशिर्वाद दुबैमा तागत हुन्छ । यति खेर ठ्याक्कै म रुकुम माहुनु भएकी मेरी आमालाई सम्झिरहेको छु, जसले हाम्रो भन्दा धेरै हाम्रा बारे तनाब लिई रहनु भएको छ र प्रार्थना गरिरहनु भएको छ।

चार दिन पछि मेडमको पिसिआर रिपोर्ट आयो ‘पोजेटिभ’ । अब फेरि अर्को तनाब । जे भएनी जिन्दगी हो भोग्नु त छदैथियो। अब त आत्मबल नामको एन्टीबडी पनि तयार भै सकेको थियो, मेडमको मनस्थितीमा। अब मेरो चाहि अलि अलि स्वाद फर्किदै थियो जिब्रोको, ज्वरो पुरै नियन्त्रणमा थियो र शरीर अलि फ्रेस हुँदै गएको थियो औषधि पनि अघिल्लो दिन नै सक्किसकेको थियो । लाग्दैथियो ठूलो हुन्डरीबाट छुटकारा पाउदै छु । तर मेडमको रिपोर्ट त बल्ल आएको थियो र हामीले अझै मिलेर लड्नु थियो कोरोना सङ्ग र जित्नु थियो । त्यो बिचका कहानीको अर्को लामो शृङ्खला छ, अर्को कुनै दिन सुनाउला। आज मेडमको पनि २५ दिन पुग्यो अहिले स्वस्थ छौ हामी सबै अनि लाग्दैछ हामीले कोरोना जितिउ । भगवानका प्रती अनुग्रहित छौ र यहाँहरुको माया, आशिर्वाद अनि प्रार्थना प्रती आभारी छौ ।

सधैजसो एकै दैनिकी कहिले काहीँ त दिक्क लागेर पनि आउने, धुमधुम्ती कोठामा बस्यो खायो सुत्यो फेरि खायो फेरि सुत्यो । दिनमा ३/४ पल्ट वाफ लिने ३/४ पल्ट नै के के जडिबुटी मिसाएको काढा पिउने, डाक्टरको सिफारिसवाला एलोप्याथीक औषधि खाने, बेलुका एक छिन हल्का ब्यायाम अनि स्वासप्राश्वासको अभ्यास चाहिँ नियमित जस्तै भयो यो बिचमा । अप्रमाणित नै सहि मेरा लागि त उपचार नै यिनै भए र ठिक पनि भईयो । सुरुमा ४० सेकेन्ड श्वास रोक्न धौ धौ पर्ने मलाई अहिले ६०/७० सेकेन्ड सामान्य लाग्छ ,भ्रम नै सहि मैले ४० सेकेन्ड श्वास रोक्न सके भने म कोरोनाबाट ठिक हुन्छु भन्ने लाग्थ्यो, सायद मेरा लागी सकारात्मक उर्जा प्राप्त गर्ने र आत्मबल बढाउने उपाय पनि थियो । त्यो श्वास प्रश्वास अभ्यास तर अरु बिरामीले यहि गर्नुस भनेर सिफारिस गरेको चाहिँ हैन है । बेसार पानीले कति बिरामी ठिक भए भएनन त्यो फरक कुरा हो तर प्रयोग चाहिँ अधिकाशले गरेझै लाग्छ । कोरोनाको समयमा, त्यो पनि सायद आत्मबल बढाउने उपाय हुन सक्छ कसैका लागी । नत्र त निदान पत्ता नलागेको रोगको प्रमाणीत उपचार खोजेर कहाँ पाउनु। न होमियोप्याथी न एलोप्याथी कोहि सङ्ग छैन। अहिले चर्चामा रहेका विभिन्न खाले खोपको प्रभावकारिताका विषयमा पनि त्यति प्रष्ट भै सकेको अवस्था हो जस्तो लाग्दैन मलाई । खोप पनि इमुनिटी बुस्टरका रुपमा सहायक मात्रै हो जस्तो लाग्छ खास त अनुसन्धानहरुले बताउलान । स्वास्थ मापदण्डको पालना अनि सचेत र सुरक्षित रहनु नै सबै भन्दा प्रभावकारी विकल्प होलान अहिले। कथमकदाचित शरिरमा असामान्य अवस्था देखा परे समयमै परिक्षण, खानपानमा ध्यान अनि आत्मबल यी तीन कुरा भए कोरोना जित्न सकिदो रहेछ भन्ने मेरो अनुभव हो । तर चिनेजानेका र स्वस्थ देखिने हाम्रै उमेर समुहका पनि धेरै जना बित्नु भएको छ यो बिचमा,सबैका हकमा यो लागू नहुन पनि सक्छ।
अन्त्यमा,
कोरोना महामारीकै बिच यसै सङ्ग सम्बन्धित ब्ल्याक फङ्गल्स नामक रोगको संक्रमण बढिरहेको खबरहरु छ्न । कृपया स्वास्थ्य सतर्कताका सरकार वा ससारका लागि भन्दा पनि आफ्नै लागि अपनाउन जरुरी छ। देशमा खोप कुटनीति पनि चलिरहेको छ भन्छ्न जान्ने सुन्नेहरु । त्यसपछि अलि सहज होला कि अवस्था ? अरु जे जस्तो भएनी अहिलेलाई सुरक्षित रहनुहोस, सतर्क रहनुहोस । स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुस । केही गरि कोरोना पोजेटिभ नै भै हाले छ भने पनि हतोत्साहित नहुनुस, स्वास्थ्यकर्मीको परामर्श लिनुस, आत्मबल बलियो बनाउनुस, जितिन्छ कोरोना। आत्मबल सबैभन्दा ठूलो उपचार हो। यहाँहरु सबैलाई सुस्वास्थ्यको कामना।

( उजेली अनलाइनमा आबद्ध पोखरेल नेपाल पत्रकार महासंघ रुकुमका सदस्य हुनुहुन्छ )

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार