रुकुम प्रशासनद्धारा सुरक्षित रहन आग्रह

रुकुम प्रशासनद्धारा सुरक्षित रहन आग्रह

मुसिकोट । अविरल बर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिबाट जनजीवन प्रभावित भएर जनधनको ठूलो क्षति भईसकेकोले यस्तो बेला जिल्लावासीलाई सुरक्षित रहन जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले अनुरोध गरेको छ ।

जल तथा मौषम विज्ञान विभाग मौषम पूर्वानुमान महाशाखालाई उद्धत गर्दै प्रशासन कार्यालयले अझै केही दिन कर्णाली प्रदेश लगायत देशका अधिकांश स्थानमा मेघगर्जन र चटयाङ्ग सहित भारी बर्षा हुने सम्भावना रहेको सतर्कता अपनाउन अनुरोध गरेको हो ।

प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रले यस्तो बेला देशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले नदीनाला र खहरे खोला आसपासमा बसोबास गरेका जनसमुदायलाई उच्च सर्तकता अपनाउन अनुरोध गर्नुभएको छ । उहाँले बाढी तथा पहिरोबाट बच्न अग्लो र सुरक्षित स्थानमा जान र बर्षातको अवधिभर सुरक्षित आश्रयस्थलमा आश्रय लिन अनुरोध गर्नुभएको छ ।

प्रमुख जिल्ला अधिकारी गैह्रैले प्राकृतिक प्रकोपका घटनाको समयमै नजिकको प्रहरी कार्यालय वा स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन र उद्दार, राहत तथा पुर्नस्थापना कार्यमा सहयोग पुर्याउन समेत अनुरोध गर्नुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार