सिस्ने गाउँपालिकाको बजेट : ५४ करोड ३ लाख ३६ हजार

सिस्ने गाउँपालिकाको बजेट : ५४ करोड ३ लाख ३६ हजार

रुकुमकोट । रुकुम पुर्वको सिस्ने गाउँपालिकाले आगामि वर्षका लागि ५४ करोड भन्दा बढि बजेट बिनियोजन गरेको छ । गाउँपालिकाको नवौ गाउँसभामा उपाध्यक्ष गोबरधन बुढाले आर्थिक वर्ष २०७८/७९ का लागि ५४ करोड ३ लाख ३६ हजार ३५ रुपैयाको बजेट पेश गर्नुभएको हो ।

कुल विनियोजित बजेट मध्य चालु तर्फ ३३ करोड ३४ लाख ७८ हजार ३५ रुपैया र पूँजिगत तर्फ २० करोड ६६ लाख ५८ हजार रुपैया बिनियोजन गरिएको छ । कुल बजेट मध्य संघीय सरकार समानिकरण अनुदान ११ करोड ४२ लाख, संघीय सरकार सर्शत अनुदान २२ करोड ५६ लाख, संघीय सरकार राजश्व बाडफाड ७ करोड ४१ लाख ६९ हजार रहेको छ ।

यस्तै संघीय सरकार विशेष अनुदान १३ करोड ७० लाख, संघीय सरकार समपुरक अनुदान १ करोड १२ लाख, सामाजिक सुरक्षा भत्ता ४ करोड, गरिवसंग विशेश्वर कार्यक्रम ६ लाख र अनुमानित अल्या बजेट १ करोड राखिएको छ ।

यसैगरी प्रदेश सरकार समानीकरण अनुदान ५३ लाख ६३ हजार, प्रदेश सरकार सर्शत अनुदान ८५ लाख ४४ हजार र प्रदेश सरकार विशेष अनुदान ६० लाख रहेको बजेट भाषनमा भनिएको छ ।

यस्तै प्रदेश सरकार समपुरक अनुदान १ करोड ५० लाख, प्रदेश राजश्व बाडँफाड ५२ लाख ६० हजार ३५ रुपैया रहेको छ, भने आगामी वर्षको लागि गाउँपालिकाको राजश्व १ करोड ५ लाख हुने अनुमान सहित गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याएको छ ।

कृषि, स्वास्थ्य, पुर्वाधार र शिक्षा प्राथमिकतामा

गाउँपालिका अध्यक्ष कुमारी बरालले गाउँपालिकाको कार्यालय रुकुमकोटमा आज  सञ्चालन भएको ९ औँ गाउँसभामा निति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो ।

अध्यक्ष बरालले प्रस्तुत गरेको निति तथा कार्यक्रममा विना धितो कृषकलाई व्यवसायिक ऋणको व्यवस्था तथा कृषि सामाग्रीहरुमा लाग्ने कर छुट गर्ने, फलफुल भण्डारणका लागि रुकुमकोटमा जिल्ला स्तरको कोल्ड स्टोर निर्माण गर्ने, छिपखोलामा कम्युन नमुना कृषि खेति, रुकुमकोटमा नमुना तरकारी खेति र स्यालापाखामा स्मार्ट कृषि कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

युवा जनशक्तिलाई व्यवस्थापन गर्न सिपमुलक तालिम सञ्चालन, निशुल्क रुपमा कृषि विमा कार्यक्रम सञ्चालन, एक घर १२ फलफुल जन्य विरुवा अनिवार्य रुपमा रोप्ने तथा एक घर एक पारिवारिक खेति प्रणाली लागु गर्ने, उत्पादन गर्ने काम किसानको विक्र्री गर्ने काम सहकारीको भन्ने मान्यतालाई स्थापित गरिने तथा माटो सुहादो उत्पादन कार्यमा जोड दिन विशेष अनुदानको व्यवस्था गरिने तथा जिल्ला सदरमुकाम रुकुमकोटमा सञ्चालन हुने अर्गानिक होटेल तथा रेष्टुरेन्टलाई विशेष अनुदान दिइने भएको छ ।

यस्तै गाउँपालिका भित्रका सामुदायिक विद्यायलयलाई प्रविधि मैत्रि, पुर्वाधारयुक्त, गुणस्तरिय विद्यालय बनाउने, विद्यालय बिमुख तथा बालविबाहबाट पिडित किसोरिहरुका लागि जिवन उपयोगी शिक्षा कार्यक्रम सञ्चालन गर्ने, कक्षा ७ को स्थानिय पाठयपुस्तक यसै वर्ष सञ्चालन गरि कार्यान्वयनमा ल्याइने भएको छ । विद्यालयमा विद्यार्थी उपस्थितिलाई उभिवृद्धि गर्न सवै विद्यालयमा दिवाखाजा कार्यक्रमलाई निरन्तरता दिइने पनि अध्यक्ष बरालले प्रस्तुत गरेको निति तथा कार्यक्रममा भनिएको छ ।

यसैगरी गाउँपालिकाभित्र जन्मने हरेक छोरिहरुका लागि शिक्षा स्वास्थ्यमा पहुच बढाउन तथा बालविबाह न्युनिकरण गर्न गत वर्ष लागु गरिएको छोरि विमा कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । नायगाडमा ५ शैयाको पालिका अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गरिने, जटिल खालका सुत्केरी महिलाहरुको लागि गाउँपालिका स्तरिय विपदकोष स्थापना गर्नुका साथै विभिन्न वडामा रहेका बर्थिङ सेन्टरलाई थप व्यवस्थित गर्ने भएको छ ।

दलित, तथा पछाडि परेका महिलाको आर्थिक तथा सामाजिक शसक्तिकरणका लागि सिप विकास तालिम तथा व्यक्तित्व विकासका कार्यक्रमहरु सञ्चालन गर्ने, लैंगिक हिंसापिडित तथा मनोसामाजिक परामर्शका लागि प्रत्येक वडामा सामुदायिक मनोसामाजिक परामर्शकर्ता अभियानलाई निरन्तरता दिइने भएको छ ।

यस्तै सवै वडाका जनतासामु सहज पिउने पानीको व्यवस्था मिलाउने, तथा स्वच्छ र प्रयाप्त खानेपानीको सुविधा नपुगेका दुरदराजका बस्तिमा खानेपानीको सुविधा पुर्याउन एक घर एक धाराको निति क्रमश लागु गरिने भएको छ, भने छिप्रिदह सेराखेत ढल निकास, गाउँपालिकाको प्रशासनिक भवन निर्माण, सडक नपुगेका ठाउँहरुमा नयाँ ट्रयाक खोल्ने र ट्रयाक खोलिएका ठाउँमा स्तरोन्नति गर्ने, विभिन्न वडामा रहेका काठे पुल विस्थापित गरि झुलुंगे पुल निर्माण गर्ने कार्यक्रमलाई निरतन्ता दिइएको छ ।

पर्यटकिय क्षेत्रहरु कमलदहको संरक्षणको लागि ब्राह मन्दिर देखि कुटुबुरी मन्दिर जान पुल निर्माण गर्ने, देउराली गुफा, झुम्कामारे, सहिदपार्क, गुप्तादहलाई व्यवस्थित गर्ने, शहिद स्मृति नेटा पार्क निर्माणलाई निरन्तरता दिने, तातोपानी, ठाँटीडाडा युद्ध स्मारक संग्राहलय र छिप्रिदह संरक्षण कार्यलाई पनि निरन्तरता दिइने भनिएको छ । यस्तै युवा शक्तिलाई उद्यमशिलता, स्वरोजगार र आयआर्जनमा केन्द्रित गर्न सिप विकास तालिम सञ्चालन गर्ने साथै यस आर्थिक वर्षमा १२३ जनालाई एक सय दिनको रोजगारी दिने कुरा पनि निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यसैगरी स्थानिय तहबाट सञ्चालित रेडियो पुर्वि रुकुमलाई सञ्चालन र व्यवस्थापनमा जोड दिइने विद्युतको पहुच नपुगेको ठाउँमा विद्युतको पहुच पुर्याउनको लागि लघु जलविद्युत निर्माण गर्ने तथा लघु उद्यम विकास कार्यक्रम मार्फत विभिन्न वडाहरुमा सिपमुलक तालिम सञ्चालन गरि स्वरोजगार वृद्धि गर्ने कार्यलाई निरन्तरता दिइने भएको छ । यस्तै कोभिड १९ तथा आकस्मिक रुपमा विपदबाट हुन सक्ने क्षतिलाई कम गर्ने उपाए पनि अपनाइने भएको छ । आकस्मिक विपद तथा प्राकृतिक प्रकोपमा परेका व्यक्ति, समुदाय तथा संघ संस्थालाई तत्काल राहत उपलब्ध गराउन प्रत्येक वडामा विपद व्यवस्थापन कोष स्थापना गरिने भएको छ ।

यस्तै रुकुमकोट लोरि लेकसम्म केबुलकार निर्माण र सञ्चालन, विकासका दृष्टिकोनले पछि परेको १ नम्बर वडालाई सडक सञ्जालमा जोडन, गाउँपालिका तथा विभिन्न वडापालिकाको प्रशासनिक भवन निर्माण, रुकुमकोटलाई पहिचानयुक्त नमुना सहर निर्माण गर्न, कौछे भिरमा रहेको पहिरो नियन्त्रण गर्न संघीय सरकार समक्ष पहल गर्ने कुरा पनि निति तथा कार्यक्रममा समेटिएको छ ।

सिस्ने गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा ल्याएका अधिकास कार्यक्रमलाई यस वर्ष निरन्तरता दिएको छ । अध्यक्ष बरालले गाउँसभा समक्ष १३३ पृष्ठ लामो निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । यसैविच आज नै उपाध्यक्ष गोबरधन बुढाले गाउँसभामा आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्नुहुने भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार