काठमाडौंमा सार्वजनिक यातायात खुलाउने परिस्थिती छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौंमा सार्वजनिक यातायात खुलाउने परिस्थिती छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले अहिलेको परिस्थितीमा काठमाडौं उपत्यकामा सार्वजनिक यातायात खुलाउने परिस्थिती नरहेको बताउनु भएको छ ।

‘उपत्यकाबाहिर संक्रमण दर कम भएका ठाउँमा खुलाएपनि काठमाडौंको सक्रिय संक्रमित संख्या हेर्दा खुलाउने परिस्थिती छैन’ उहाँले भन्नु भयो, ‘जिल्लाको परिस्थिती हेरेर गर्न सकिन्छ । अझै केही समय काठमाडौंमा खुलाउन मिल्दैन ।’

अहिले पनि मुलुकको पोजेटिभ हुने दर झन्डै २० प्रतिशत छ । जसमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामै रहेको छ । काठमाडौं जिल्लामा ४२०४, भक्तपुरमा १८३३ र ललितपुरमा २४०७ जना सक्रिय संक्रमित छन् ।

‘अहिलेको अवस्थामा काठमाडौं उपत्यकामा यातायात खुलाउन सकिँदैन । जस्तै कञ्चनपुर जिल्ला ठूलो छ र त्यहाँको सक्रिय संक्रमित संख्या २२५ छ भने त्यहाँ खुलाउन सकिन्छ’ प्रवक्ता पौडेलले भन्नु भयो, ‘काठमाडौं उपत्यकाको पोजेटिभ दर अझै उच्च छ ।’

काठमाडौं उपत्यकाको संक्रमण दर १० प्रतिशतमा झरे चरणवद्ध रुपमा विभिन्न क्षेत्रहरु खुलाउन सकिने र ५ प्रतिशतमा झरे सार्वजनिक यातायात र विद्यालय खुलाउने आफूहरुको तयारी रहेको उहाँले बताउनु भएको छ । काठमाडौं उपत्यकामा कतिपय संक्रमित उच्च रहेको टोल र ठाउँलाई सिल गर्नुपर्ने परिस्थिती पनि आउन सक्ने पौडेलको भनाई छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार