‘संक्रमणदर घटेको भएतापनि जोखिम कायमै छ’– प्रजिअ गैह्रे

हामी निषेधाज्ञा अन्त्य गर्ने अवस्थामा पुग्दैछौ

‘संक्रमणदर घटेको भएतापनि जोखिम कायमै छ’– प्रजिअ गैह्रे

हामी निषेधाज्ञा अन्त्य गर्ने अवस्थामा पुग्दैछौ

बद्रिनाथ गैह्रे, रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ । कोरोना भाईरस रोकाथामका लागि गरिएका प्रयास, जारी भएको निषेधाज्ञा, कोराना बिरुद्धको खोप, विपद व्यवस्थापन लगायतका बिषयमा उहाँसँग उजेली न्यूजको लागि गरिएको संवाद यहाँ प्रस्तुत गरिएको छ ।

  • रुकुम पश्चिममा कोरोना भाइरस संक्रमणको अवस्था कस्तो छ ?

– कोभिड-१९ को दोस्रो लहरको संक्रमण सुरु भए पश्चात यस जिल्लामा ६ हजार ६ सय ७० जनाको परिक्षण गर्दा २ हजार ३ सय ४९ जना संक्रमित भएको पाइएको छ । ति मध्ये २ हजार ५८ जना निको भएका छन भने २८ जनाको मृत्यु भएको छ । हाल १ सय ९४ जना सक्रिय संक्रमित रहेका छन जस मध्ये १६ जना अस्पतालको आइसोलेशनमा उपचारत छन भने १ सय ७८ जना होमआइसोलेशनमा छन् । सुरुका दिनमा परिक्षण गरिएका मध्ये ७० प्रतिशत संक्रमण पाइएकोमा पछिल्लो समय त्यो अनुपात घटेर २० प्रतिशतमा झरेको छ । निषेधाज्ञाका कारण बजार क्षेत्रमा संक्रमण दर अपेक्षित रुपमा घटेको भएता पनि ग्रामिण क्षेत्रमा अझै अपेक्षित नतिजा आउन सकेको छैन ।

  • कोरोना महामारी रोकथाम तथा न्यूनिकरणको लागि रुकुम पश्चिममा निषेधाज्ञा गरिएको छ, यो कहिले खुल्छ ?

–  कोडिभ-१९ संक्रमणको दोस्रो लहर शुरु भए पश्चात नेपाल सरकारको निर्णय तथा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिस बमोजिम २०७८ बैशाख १९ गतेदेखि जिल्लामा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाका कारण कोभिड-१९ को संक्रमण रोकथाममा महत्वपूर्ण सहयोग पुगेको छ । पछिल्लो समयमा संक्रमणदर उल्लेखनिय रुपमा घटेको छ । सुरुका दिनमा जुन मोडेलको निषेधाज्ञा गरिएको थियो संक्रमणदर न्यून भए सँगै केहि क्षेत्रहरु खुकुलो गर्दै निषेधाज्ञाको मोडेलमा परिमार्जन गर्दै आईरहेको छ । आगामी दिनमा समेत संक्रमण दरलाई मध्यनजर राखि क्रमश खुकुलो बनाउदै लगिने छ । आशा गरौँ छिटै हामी निषेधाज्ञा अन्त्य गर्ने अवस्थामा पुग्नेछौ ।

  • सरकारले कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिसकेको छ । रुकुम पश्चिममा अहिले सम्म कति जनालाई खोप लगाइएको छ ?

– कोरोना भाइरस विरुद्ध लड्ने सबैभन्दा महत्वपूर्ण औजार भनेको खोप नै हो । कोरोना भाइरस बिरुद्धको खोप अभियान गत २०७७ माघ देखि नै सुरु भएको छ । हालसम्म यस रुकुम पश्चिम जिल्लामा कोभिड विरुद्धको कोभिसिलको पहिलो मात्रा ९ हजार ९ सय २ जना र दोस्रो मात्रा ४ हजार ३ सय ५८ जनाले लगाएका छन् भने भेरोसेल नामक खोपको पहिलो मात्रा २ हजार २ सय ५५ जनाले लगाएका छन् । यस खोप बाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, पत्रकार र ६२ बर्ष माथिका जेष्ठ नागरिक लाभान्वित भएका छन ।

  • अझै पनि अग्रपक्तिमा रहेका काम गर्ने धेरै व्यक्तिहरु खोप लगाउनबाट बन्चित छन् । उनीहरुले कहिले सम्म खोप लगाउन पाउँछन ?

– नेपाल सरकारले प्राप्त खोपलाई प्राथमिकताका आधारमा लगाउने व्यवस्था गर्दै आएको छ । अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मी सुरक्षाकर्मी कर्मचारीहरुले प्राय लगाईसकेको अवस्था छ । शिक्षक, व्यवसायी आदिबाट खोपको माग भैइरहेको छ । नेपाल सरकारले सम्पूर्ण नागरिकलाई क्रमश खोप लगाउने योजना बनाएको र खोपको लागि पहल गरिरहेको हुँदा छुट भएका सबै व्यक्तिहरुले छिटै खोप लगाउन पाउने छन ।

  • कतिपय स्थानमा चिनजानको भरमा र पहँुचको आधारमा अग्रपत्ति खटिने भन्दा पनि अरुले खोप लगाएको गुनासोहरु आईरहेका छन्, यसलाई रोक्न तपाईहरुले के पहल गरिहनु भएको छ ?

– यस्ता बिषय यदाकदा सुन्ने गरिएको भएता पनि हामी सामु गुनासो आएको छैन । हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको प्रोटोकल बमोजिम नै खोप अभियान सञ्चालन गर्दै आइरहेका छौँ । यसका लागि सरोकावाला निकायहरु बिच आपसमा समन्वय र अभियानको अनुगमन हुँदै आइरहेको छ ।

  • प्रसंग बदलौ, बर्षाको समय सुरु भए सँगै जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोका घटनाहरु भएका छन विपद व्यवस्थापनको लागि तपाईहरु सँग के छ योजना ?

– यस बर्षको मनसुनको समय सुरु भैसकेको छ । यस बर्ष औषत भन्दा बढी बर्षा हुने पूर्वअनुमान समेत गरिएको छ । देशका विभिन्न स्थानमा ठुलो धनजनको क्षति भैइसको छ । यस जिल्लामा हाल सम्म क्षतिका ठुला घटनाहरु पाईएको छैन । मनसुनजन्य बिपदको सामना गर्नेको लागि हामीले मनसुन पूर्व तयारि तथा प्रतिकार्य योजना बनाएर लागु गरेका छौँ । सम्भावित विपदका सम्बधनमा विभिन्न माध्यबाट जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सचेत गराउदै आएका छौँ । जोखिमयुक्त व्यक्तिहरुको पहिचान गरिएको छ । तत्काल उद्धारको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोलिहरु आवश्यक सामाग्री सहित तयारि अवस्थामा छन् । सम्बन्धित सरोकारवाला निकायहरु बिच निरन्तर समन्वय गरि सबै निकायहरुलाई सतर्क अवस्थामा राखिएको छ । पीडितहरुलाई तत्काल उपलब्ध गराउनुपर्ने राहतका लागि आवश्यक रकम र सामाग्रीहरुको बन्दोबस्ती मिलाएको छ ।

  • अन्तमा, समग्र रुकुमवासि जनतालाई के भन्न चाहनुहुन्छ ?

– हामी लामो समय देखि कोभिड-१९ को महामारी भोग्दै आइरहेका छौँ । यस महामारीको सामना गर्ने अग्रपङतीमा रहेर काम गर्ने चिकित्सक लगाएर सम्पूर्ण स्वास्थयकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधि, सञ्चारकर्मी लगाएत सबैमा म हार्दिक आभार व्यक्ति गर्दछु । साथै कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनबाट जारी गरिएको निषेधाज्ञालाई धैर्यतापूर्वक पालन गरि सहयोग गर्नुहुने सम्पूर्ण जिल्लावासीहरुलाई हार्दिक धन्यबाद दिन चाहन्छु ।

हामी अझै पनि संक्रमणको अवस्थामा छौ । संक्रमणदर घटेको भएता पनि जोखिम कायमै छ । नयाँ र थप जोखिम युक्त भेरियन्ट भेटिन थालेको छ । तसर्थ स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालन गर्दै थप सावधानि अपनाउन तथा भिडभाडका गतिविधिहरु नगर्ने र सरिक नहुन आमजिल्लावासीहरुमा विनम्र अनुरोध गर्दछु । साथै मनसुनको समय सुरु भएको हुँदा मनसुनजन्य विपदको सम्भावित जोखिमबाट बच्न सचेत र सर्तक अवस्थामा रहन आवश्यकता अनुसार सुरक्षित आश्रयस्थलको खोजि गर्ने, विपदका घटना हुन सक्ने सम्भावना भएमा वा घटना घटेमा तत्काल स्थानीय प्रहरि चौकी वा स्थानीय तहमा जानकारी गराउन समग्र रुकुम पश्चिम जिल्लावासी जनतामा म हार्दिक अनुरोध गर्दछु ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार