जिल्ला र उच्च अदालतमा मंसिरदेखि गोलाप्रथाबाट पेशी तोक्ने तयारी

जिल्ला र उच्च अदालतमा मंसिरदेखि गोलाप्रथाबाट पेशी तोक्ने तयारी

काठमाडौँ । उच्च अदालत र जिल्ला अदालतहरूमा मंसिरदेखि गोलाप्रथाद्वारा पेशी तोकिने भएको छ। सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले विज्ञप्ति जारी गर्दै त्यसका लागि सबै उच्च अदालत र जिल्ला अदालतहरूलाई आवश्यक तयारी गर्न भनिएको जानकारी गराएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गएको वर्ष न्यायापालिकामा हुने विकृति विसंगति अनियमिता भ्रष्टाचार र बिचौलियाको चलखेल रोकथामका उपाय पत्ता लगाउन भन्दै न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा एउटा समिति गठन गरेका थिए।

सोही समितिले जिल्लामा सुरूदेखि अन्तिमसम्म एउटै न्यायाधीशलाई मुद्दा तोक्ने प्रणाली, उच्च र सर्वोच्च अदालतसम्मको पेशी व्यवस्थापनलाई फेर्न सुझाएको थियो। अदालतहरूलाई स्वचालित पेशी सूची प्रणालीमा लैजान र त्यस्तो व्यवस्था नहुन्जेल गोलाप्रथाबाट पेशी तोक्न समितिले सुझाव दिएको थियो।

त्यही सुझाव अनुसार उच्च अदालत र जिल्ला अदालतहरूमा गोलाप्रथाबाट पेशी तोक्ने तयारी थालेको प्रवक्ता दाहालले विज्ञप्तिमा उल्लेख गरेका छन्।

‘समितिले पेश गरेको प्रतिवेदनको पेसी सूची प्रणाली सम्बन्धी सुझाव कार्यान्वयनका लागि अदालत सम्बन्धी नियमावलीहरूमा संसोधन भई स्वचालित पेशी प्रणाली लागू नहुँदासम्म,’ दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘उच्च तथा जिल्ला अदालतहरूमा गोलाप्रथाद्वारा पेशी सूची प्रकाशन गर्नुपर्ने अवस्था हुँदा मंसिरदेखि उक्त प्रणाली लागू गर्न आवश्यक तयारी र व्यवस्था गर्नु भनेर पत्राचार गरिएको छ।

समितिले सर्वोच्चमा पनि अटोमेसनमा नजाउञ्जेल गोलाप्रथाबाट पेशी तोक्न सुझाव दिएको थियो। सर्वोच्चमा के हुने भन्नेबारे विज्ञप्तिमा कुनै सूचना छैन।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार