आठबीसकोट र त्रिवेणिमा मास्क अभियान सुरु

आठबीसकोट र त्रिवेणिमा मास्क अभियान सुरु

मुसिकोट । रुकुम पश्चिमका बजार क्षेत्रमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मास्क वितरण अभियान सुरु गरिएको छ । जिल्लामा ‘म पनि मास्क लगाउछु, अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु’ भन्ने अभियानका साथ केहि दिनअघि सामुदायिक प्रहरी साझेदारी अवधारणा कार्यक्रम अनुरुप ‘तपाईको मास्क खै’ त हजुर अभियान सुरु गरिएको थियो । कोरोना भाइरसको सक्रमणबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाउने सर्वसाधरणलाई सचेत गराउनका लागि मास्क अभियान चलाइएको थियो ।

यस्तै बुधबार रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले मास्क अभियान सुरु गरेको छ । नगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास शाखा र ईलाका प्रहरी कार्यालय आठबीसकोटको साझेदारीमा मास्क अभियान सुरु गरिएको हो । मास्क प्रयोग नगरी हिँड्ने सर्वसाधारणलाई मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुन पानीले हात धुन सचेतमुलक कार्यक्रम सुरु गरिएको नगरपालिकाका स्वास्थ्य तथा सामाजिक बिकास शाखा प्रमुख मनिराज शाहले जानकारी दिनुभयो ।

बुधबार उक्त अभियान अन्तरगत बिभिन्न कार्यालय तथा सरोकारवालाहरुको अगुवाइमा सचेतना मुलक प्लेकार्ड सहित राडी बजार परिक्रमा गरि मास्क नलगाई हिड्ने लाई करिव १ हजार मास्क वितरण गरिएको छ । यो अभियान नगरपालिकाका अन्य वडाहरुमा पनि सञ्चालन गरिने छ ।

यस्तै जिल्लाको त्रिवेणि गाउँपालिकाले विभिन्न सचेतनामुलक कार्यक्रम संचालन गरेर मास्क अभियान सुरु गरेको छ । बुधबार त्रिवेणि गाउँपालिकाको स्वास्थ्य तथा सामाजिक विकास शाखाको समन्वयमा झुल्नेटा बजार क्षेत्रमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ ।

अभियान अन्तरगत बुधबार करिब २ सय ५० बढी मास्क वितरण गरिएको स्वास्थ्य शाखा सह-संयोजक बिरवहादुर डाँगीले जानकारी दिनुभयो । जिल्लामा निषेधाज्ञा खुकुलो भएपछि मानिसले मास्कको प्रयोग गर्न छोडेकाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मास्कको अनिवार्य प्रयोग गर्ने सचेतनामुलक कार्यक्रम थालिएको सह-संयोजक डाँगीले जानकारी दिनुभयो ।

जिल्लामा पछिल्लो समय दैनिक १५ जना लक्षिण सहितका कोरोना संक्रमित बढिरहेको सन्दर्भमा सचेतनामुलक कार्यक्रमलाई जोड दिइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभएको छ । यसका साथै अबका दिनमा अभियान अन्तर्गत जनस्तरमा मास्कको सही प्रयोग भए–नभएको अनुगमनसमेत गरिनेछ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार