मनकलाको हत्याले उब्जाएका अनुत्तरित प्रश्न !

मनकलाको हत्याले उब्जाएका अनुत्तरित प्रश्न !

यतिबेला रुकुम पश्चिममा एउटा बीभत्स हत्याले अनेकन् प्रश्न उब्जाएको छ। गत मंगलबार बेलुका गाईवस्तु स्याहार्न घर नजिकै गोठमा गएकी त्रिवेणी ४, कुरल रुकुम पश्चिमकी २६ बर्से मनकला खत्रीको घरेलु हतियार प्रयोग गरी बीभत्स हत्या भयो। प्रारम्भिक अनुसन्धानले घरायसी, आर्थिक लगायतका मनमुटावले हत्या भएको देखिए  पनि लाशको प्रकृति हेर्दा सामान्य कारणले यति बीभत्स तरीकाले हत्या हुनु गम्भीर देखिएको छ।

छोरा र वृद्ध सासूलाई एकैछिनमा आएर खाना पकाउँछु अनि खाउला है भनेर गोठ गएकी मनकला फर्केर आइनन्। स्थानीय र उनका आफन्तका अनुसार केही महिना अघिदेखि नै जेठाजु र उनको परिवारबाट असुरक्षित महसुस गरेकी मनकलाले माइती र विदेशमा रहेका श्रीमानलाई जानकारी गराइरहेकी थिइन्। ६ बर्से छोरालाई छोडेर मारिएकी मनकलाका श्रीमान ४ वर्षदेखि वैदेशिक रोजगारमा छन्। रुकुममा पछिल्लो समय घर, आफन्त र छिमेकीबाटै हुने हत्या बढ्दै गएको देखिन्छ।

अनाहकमा कलिलै उमेरमा ज्यान गुमाएकी मनकला हत्याको छानबिनमा प्रहरीले चासो देखाएका कारण ३ जना आरोपी पक्राउ परेका छन्। तालिम प्राप्त कुकुरको सहयोगमा बुधवार हत्यारा पक्राउ परे पनि अनुसन्धाका हरेक पाटाहरू गर्भमा छन्। प्रहरीले पक्राउ गरेका ११ र १५ वर्षका जेठाजुका छोराले हत्या गरे वा अन्य कसैको मिलोमतो पनि छ भोलिका दिनले गहिरो अनुसन्धानपछि देखाउने छ।

रुकुममा गत अर्थिक वर्षमा १२ वटा जबरजस्ती करणीका उजुरी दर्ता हुनु र घरेलु हिंसाका २४ उजुरी, बहुविवाहका १० मुद्धा, महिला आत्महत्याका १३ घटना दर्ता हुनुले पनि महिला धेरै असुरक्षित छन् भन्ने गतिलो प्रमाण दिएको छ।  मनकलाको हत्यापछि जिल्लामा दृश्य –अदृश्य प्रश्नहरू खडा भएका छन्। अहिलेका समयमा पनि महिलाहरू कति असुरक्षित छन् भन्ने गम्भीर सवाल उठेको छ। प्रहरी र जिल्लामा रहेका न्यायिक समितिले महिलाका सवालमा गर्नुपर्ने भूमिकामा थप ध्यान दिनुपर्ने देखिन्छ।

जिल्लाका स्थानीय तहमा रहेका न्यायिक समिति, प्रहरी हुँदै अदालत पुग्ने न्यून मुद्धाभन्दा धेरै स्थानीय भद्रभलादमीको रोहबरमा महिला हिंसाका घटना मिलेमतो हुने गर्दछन्। आज पनि महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने नजर फेरिन सकेको छैन। रुकुममा भएको मनकलाको हत्याले भोलिका दिनमा यस्ता घटना दोहोरिन नदिन हामी सबैलाई पाठ पढाउनुपर्ने हो तर आम रूपमा उनको परिवारमा परेका बज्रपात उनका लागि सीमित हुने निश्चित छ।

पानीपँधेरा, घाँसदाउरा वा गोठालो कतै पनि महिला सुरक्षित नभएका प्रमाण प्रहरीको उजुरीमा भेटिइरहँदा घर नजिकैको गोठमा गएकी मनकलाको हत्याले अनुत्तरित प्रश्नको उत्तर खोजी गरिनुपर्छ। देश संघीयतामा गएको छ। गाउँसमाजका हरेक समस्यासंग परिचितहरू घरछेउमा जनप्रतिनिधि छन्। जिल्लामा शान्ति सुरक्षा कायम गर्ने भन्दै ठुलो संख्यामा प्रहरी प्रशासन कार्यरत छन्। जिल्लामा रहेका अधिकारकर्मी, राजनीतिक दल, पत्रकार, नागरिक समाज, प्रहरी प्रशासन सबै चनाखो भएर सम्भावित यस्ता घटना न्यूनिकरणमा लाग्नुपर्ने देखिन्छ। (लेखक धिताल ओरेक रुकुमको जिल्ला संयोजक हुनुहुन्छ।)  

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार