जनप्रतिनिधिलाई गाली गरेपछि वडाको सेवाबाटै रोक

जनप्रतिनिधिलाई गाली गरेपछि वडाको सेवाबाटै रोक

सल्यानमा एक जना व्यक्तिले वडाध्यक्ष लगायतका जनप्रतिनिधिलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेपछि ती वडाबासीलाई वडाबाट प्राप्त हुने सेवा सुबिधाबाटै बञ्जित गर्ने निर्णय गरिएको छ।

सल्यानको बागचौर नगरपालिका वडा नं. ४ ले बिहीबार एक सार्वजनिक विज्ञप्ति जारी गरी वडाको सिमखानीका दिलबहादुर केसीलाई वडा कार्यालयबाट प्राप्त हुने सम्पूर्ण सेवाबाट बञ्चित गर्ने निर्णय गरेको जानकारी दिएको हो।

वडाध्यक्ष प्रेमबहादुर पुनको नामबाट जारी विज्ञप्तिमा केसीले मनपरी रूपमा आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् वडाध्यक्ष र वडा सदस्य लगायतलाई चरित्र हत्या गर्ने गरी स्टाटस लेखेको हुँदा सेवाबाट प्रतिबन्ध लगाउने निर्णय भएको उल्लेख गरेका छन्।

पुनले जारी गरेको विज्ञप्तिमा केसीले कमजोरी नसच्याएसम्म वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाबाट प्रतिबन्ध लगाउने निर्णय भएको कुरा उल्लेख गरिएको छ।

साथै, पुनले केसीलाई अराजक व्यक्तिको संज्ञा दिँदै सबै वडाबासीलाई भ्रममा नपर्न आग्रह पनि गरेका छन्।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष पुनले आफू लगायतका जनप्रतिनिधिहरूलाई ‘छोटे राजा’को संज्ञा दिँदै दमन गरेको भन्दै विज्ञप्तिमा गालीगलौज गरेको भनेर आरोप लगाइएको छ

‘अन्यायमा परेपछि हामीजस्ता सर्वसाधारण जनताले के गर्ने, लेखेरै सत्य सार्वजनिक गर्ने न हो,’ केसीले भने, ‘त्योभन्दा मेरो अरू कोहीप्रति व्यक्तिगत कुरा छैन।’

वडाले आफूलाई सेवावाट प्रतिबन्ध लगाउने कुरा न्यायोचित मान्न नसकिने उनले बताए।

‘मैले गल्ती गरेको भए मुद्दा हालेर कारबाही गरे भयो नि१,’ केसीले भने, ‘मलाई वडाको सेवाबाटै प्रतिबन्ध लगाउन खोज्नु साँघुरो सोच हो।’

केसीको अर्को स्टाटस वडा सदस्य तुलसीराम घर्ती (जनक) विरूद्ध छ। जसमा केसीले वडा सदस्य घर्तीलाई मानव बेचबिखनमा संलग्न रहेको भन्ने आरोप लगाएका छन्। सर्वसाधारणलाई विदेश पठाउने बहानामा मोटो रकम असुल्ने गरेको उनको आरोप छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार