नेपाली कांग्रेस रूपान्तरणका लागि भूपेन्द्रजंग शाहीका ३० प्रस्ताव

नेपाली कांग्रेस रूपान्तरणका लागि भूपेन्द्रजंग शाहीका ३० प्रस्ताव

नेपाल तरूण दलका महामन्त्रीसमेत रहेका कालिकोटबाट नेपाली कांग्रेसका महासमिति सदस्य भूपेन्द्रजंग शाहीले पार्टी रूपान्तरण आवश्यक रहेको भन्दै ३० बुँदे प्रस्ताव अगाडि सारेका छन्।

शाहीले ‘नेपाली कांग्रेस : आमूल रुपान्तरणको प्रस्ताव’ छलफलका लागि मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छन्। यो प्रस्ताव केन्द्रीय कार्यालय र महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गर्ने शाहीको भनाइ छ।

कांग्रेसलाई वैचारिकरूपमा तिखार्दै जाने, साङ्गठनिक रूपमा रहेका समस्या हल गर्दै चुस्तदुरुस्त सङ्गठन निर्माण गर्ने र देश बनाउने गरी काम गर्नुपर्ने उनका प्रस्तावमा समेटिएका छन्।

उनले समावेशीबाट प्रतिनिधित्व गर्ने पदमा एकपटकभन्दा बढी अवसर नपाउने व्यवस्था लागू गर्नुपर्ने, पार्टीलाई व्यवस्थित, प्रशिक्षित र सङ्गठित गरेर हरेक गाउँ तहसम्म प्रशिक्षण अभियान चलाउनुपर्नेलगायत विभिन्न सुझाव प्रस्तावमा समावेश गरेको बताए।

पार्टीमा अग्रज नेताका योगदानको मूल्याङ्कन गर्दै युवाको ऊर्जा, चेतना र क्षमतालाई सदुपयोग गर्न युवा प्रतिनिधित्व बढाउनुपर्ने, पार्टीको सदस्य संख्याको आधारमा पार्टीको जिल्ला कार्यसमिति र केन्द्रीय कार्य समितिको आकार बढाउनुपर्ने उनको भनाइ थियो।

‘मैले पहिले नै केन्द्रीय कार्यसमितिको आकार बढाऔं भन्ने प्रस्ताव गरेको थिएँ, नेताहरूले मान्नुभएको थिएन,’ उनले भने, ‘केन्द्रीय समितिको संख्या मैले दुई वर्षअघि प्रस्ताव गरेकैजस्तो गरी बढाइयो।’

‘समूहले निर्णय गरेपछि उम्मेदवारीबारे सार्वजनिक गर्छु’

शाही कालिकोटमा रहेर संगठन सुदृढीकरणमा खटेका थिए। उनी कर्णाली प्रदेश कांग्रेस सभापति वा पिछडिएको क्षेत्रबाट कांग्रेस सहमहामन्त्रीमध्ये एक पदमा उम्मेदवारी दिने तयारीमा छन्। यसबारे आफ्नो समूहमा छलफल गरेपछि मात्रै सार्वजनिक गरिने उनले पत्रकार सम्मेलनमा बताए।

शाही वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट छन्।

‘को सभापति उठ्नेजस्ता विषय अझै हाम्रो समूहमा छलफलनै छ। अहिले नै म यो वा त्यो पदमा उठ्ने भन्न सक्दिनँ, समूहले निर्णय गर्नुपर्छ। तर म १४ औं महाधिवेशनमा उम्मेदवार हुन्छु। साथीहरूले सहमहामन्त्री वा प्रदेश सभापतिमध्ये एकमा तपाईं हुनुपर्छ है भन्ने सुझाव दिइरहनुभएको छ,’ उनले भने।

शाही कालिकोटबाट दुईपटक सांसद पदका लागि उम्मेदवार भएर पराजित भएका थिए। उनी नेविसंघ उपाध्यक्ष र तरूण दल महामन्त्री पनि भएका थिए। सेतोपाटी

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार