रुकुम पश्चिम, चुनावी चर्चा र सम्भावित परिदृश्य

स्थानीय तहको चुनाव सम्बन्धि विश्लेषण

रुकुम पश्चिम, चुनावी चर्चा र सम्भावित परिदृश्य

स्थानीय तहको चुनाव सम्बन्धि विश्लेषण

एउटा कुनै निर्वाचनको कुरा हो । एकजना सोझासिधा मतदातालाई भोट हाल्नको लागि साथीहरुले बाहिरबाट सिकाउंदै थिए । यसरी¸ उसरी गर भनी बाहिरबाट सिकाएको कुरा निज मतदातालाई मन परेनछ । झनक्क रिसको पारो तातिएछ । अनि उसले बाहिरकाहरुले भनेको कुराको उल्टो प्रतिकुल हुनेगरी सबैले देख्नेगरी चुनाव चिन्ह “ब्याल्चे” मा झ्याप्पै छाप लायो । बाहिरबाट सिकाउने हेर्याको हेरेई नतमस्तक । मतपत्र हातमा लिई भित्रसम्म पुगेको मान्छलाई बाहिरबाट सिकाउने गर्दा उसको कन्सरी तातियो अनि ठोक्यो भोट “ब्याल्चे” मा । जवकी ब्याल्चेमा मत हाल्ने न उसको कुनै तयारी थियो । न सोँच । न कुनै योजना नै । न ब्याल्चेका उम्मेदवारसंग नै चिनजान । एउटा सार्वभौम भोट अनपेक्षित ठाउँमा यसरी खेर गयो ।

अहिलेको निर्वाचन पनि त्यस्तै हुने सम्भावना छ । विशेषत रुकुम पश्चिममा यसपटक केही पालिकाहरुमा माओवादीहरुको एकाधिकार विरुद्ध काँग्रेसहरु जागिरहेको अवस्था थियो । केही पालिकाहरुमा माओवादीको पक्का आधार इलाका भए पनि केहीमा धरमराउने अवस्था र कडा टक्करको सामना गर्नुपर्ने अवस्था थियो । ग्रामीण परिवेशमा माओवादी काँग्रेस दुवैतिरका कार्यकर्ताहरु आफ्नै प्रकारले उत्साहित पनि भइरहेका थिए ।

जब समाजवादी¸ जसपा¸ काँग्रेस¸ माओवादीका नेताहरुको फोटो सहित रुकुम पश्चिममा गठवन्धनको छलफल भनी समाचारहरु सार्वजनिक भए । माओवादी र काँग्रेस दुवैतिर क्रमश तातिन थालेका खाँटी कार्यकर्ताहरु एकाएक निरुत्साहित भए । काँग्रेस माओवादीहरुका असन्तुष्टीका सार्वजनिक टिप्पणीसंगै तातिएका कार्यकर्ता चिसा र निराश हुन थाले । अरु बाँकी देशमा के छ ? विश्लेषणको अलग पाटो होला । तर रुकुम पश्चिममा ६ वटै पालिकामा माओवादीको एकाधिकार छ । केही पालिकामा त वडा सदस्यसम्म पनि माओवादी इतरका दल आउन सकेका थिएनन । पछिल्लो चरणमा काँग्रेसले केही सीमित पालिकामा विजयको आँकलन र अन्य पालिकामा जनसंगठन विस्तारको लक्ष्य लिएको जस्तो देखिन्थ्यो । तर गठवन्धनको छलीफलीपछि त्यो अवस्था अली पर सरेको जस्तो देखिन्छ ।

 

गठवन्धनको सम्बन्धमा माओवादी¸ काँग्रेसका जिल्ला र पालिकाका शिर्ष नेतृत्वसंग जिज्ञासा राख्दा कसैले पनि रुकुम पश्चिममा गठवन्धन हुने सम्भावनालाई स्वीकार गरेनन् । केन्द्रमा भएको कारण मात्र केही चरण यता पनि छलफल भएको हो । अन्तिममा गठवन्धन हुंदैन भन्ने उनीहरुको प्रारम्भिक प्रतिक्रिया रह्यो । तर अन्तिममा विशेषत माओवादी नेता जनार्दन शर्माले केन्द्रबाट नै “केही पालिकामा काँग्रेसलाई र केही स्थानमा समाजवादीलाई छाडेर भएपनि सहमती गर्नू” भनी ठाडो आदेश नदेउन्जेलसम्म रुकुम पश्चिममा गठवन्धनको सम्भावना देखिदैन । उता काँग्रेसतिर पनि जित्ने भनी दावी गरेका पालिकामा काँग्रेसलाई मुख्य पद प्रमुख वा अध्यक्ष नदिउन्जेलसम्म गठवन्धनको लागि तयार हुने अवस्था देखिदैन ।

रुकुम पश्चिमतिरका काँग्रेस माओवादी कार्यकर्ताको मनोविज्ञान पनि मिश्रित छ । केही २०५२ अघि र केही २०६३ पछिका पुस्ताका वीचमा सोँचाइमा फरक छ । केही पद र शक्तिका भोकाहरुको स्वार्थ मिल्ने सम्भावना पनि देखिन्छ । तर सार रुपमा खाँटी काँग्रेस कार्यकर्ताहरु माओवादीलाई भोट हाल्न र खाँटी माओवादी कार्यकर्ताहरु काँग्रेसलाई भोट हाल्न किमार्थ तयार छैनन । यस्तो अवस्थामा गठवन्धन नै भयो भने पने केही प्रतिशत मत “ब्याल्चे” चिन्ह वा यत्रतत्र जानसक्छन् । कार्यकर्ताहरुले नचाहँदा नचाहँदै गठवन्धन भएमा कार्यकर्ताहरु उत्साहित हुने सम्भावना पनि झिनो छ । झन् त्यसमा माओवादी र काँग्रेस नै मुख्य शक्ति भएको रुकुम पश्चिममा दुइटै ठुला पार्टीको वीचमा गठवन्धन भएको अवस्थामा चुनावको कुनै रौनक बाँकी रहने छैन । खेलका खेलाडी प्रतिस्पर्धात्मक भए पो खेल हेर्न रोचक हुन्छ । माओवादी र काँग्रेस नै मिलेपछि त खेल हेर्न पनि रोचक हुनेछैन ।

त्यस्तै अर्को ऐतिहासिक अनुभव पनि छ । पहिले उहिले जनमोर्चा तत्कालीन एमालेवीच चुनावी तालमेल भएको जिल्लामा गठवन्धनमा पछि हटेको पार्टी अहिलेसम्म पनि उठ्न सकेको छैन । यदि माओवादी काँग्रेस गठवन्धन भयो र माओवादीले काँग्रेसलाई तथा काँग्रेसले माओवादीलाई भोट हाल्ने अवस्था आयो भने जसले चुनाव जित्छ ति भोट हाल्ने कार्यकर्ता¸ समर्थकहरु त्यही विजित उम्मेदवारको पार्टी तिर नै स्थायी बसाइसराइ गर्ने सम्भावना प्रबल छ । यसले तत्काल आउंदो प्रदेश र संघको चुनावी परिणाम पनि प्रभावित पार्ने देखिन्छ । आफ्ना कार्यकर्ताहरुलाई अर्को पार्टीको चुनाव चिन्हमा भोट हाल भनी निर्देशन सर्कुलर जारी गर्नू पार्टीहरुको लागि आत्मघाती कार्य नै हो । त्यस्तै नयाँ मतदाता थपिएका छन् तिनलाई पहिलोपटक नै अर्को चुनाव चिन्हमा भोट हाल्ने अवस्था आयो भने उनीहरु संधैको लागि त्यसमै भोट हाल्न अभ्यस्त नहोलान् भन्न सकिन्न ।

त्यस्तै रुकुम पश्चिम माओवादी काँग्रेसको चरम द्वन्द भएको क्षेत्र पनि हो । यहाँ विगतमा कैयन काँग्रेसीजन माओवादीबाट र कैयन माओवादी जन काँग्रेस नेतृत्वको सरकारी पक्षबाट हताहत भएका छन् । उनीहरुको पुरानो इबी अंझै मेटिएको छैन । बाहिरबाहिर मिलेजस्तो गरेपनि आफ्ना आफन्तलाई नै काटमार गरेकाहरुका परस्पर विपरितार्थक पक्षहरुको मनको कुनै न कुनै ठाउँमा तिक्तताको तीतो निखार बाँकी रहेको मनोवैज्ञानिक आँकलन बुझ्न गाह्रो छैन । यो पुरानो इबीको कारण नेतृत्वको निर्णय प्रतिकुल कैयन मतहरु गठवन्धन विपरीत धारमा जान सक्छन् । यो कोणबाट पनि कैयन भोट चुनाव चिन्ह “ब्याल्चे” मा पर्न सक्छन । चुनाव चिन्ह ब्याल्चे उपलब्ध नभए पनि कैयन काँग्रेसीजनले नेतृत्वबाट माओवादीलाई भोट हाल्ने उर्दी आएमा हाम्रो भोट सुर्य या हलोलाई भनी सार्वजनिक अभिव्यक्ति नै दिएको पाइन्छ ।

यस्तो अवस्थामा रुकुम पश्चिमको बाम लोकतान्त्रिक गठवन्धन संशयको घेरामा रुमल्लिएको छ । माओवादी भित्र केही पालिका प्रमुखको उम्मेदवारमा आन्तरिक सहमती भएको बुझिए पनि केही पालिकामा आकाँक्षीहरुको दौड तिव्र देखिन्छ । त्यस्तै काँग्रेसतिर पनि दौडधुप नै होला । तर काँग्रेसमा पछिल्लोचरण केही आन्तरिक गुट व्यवस्थापन गरेको देखिन्छ । हुँदाहुँदै पनि केही पालिकामा काँग्रेसैबाट स्वतन्त्र उम्मेदवारीको सम्भावना टरेको अवस्था छैन । उता समाजवादीको अवस्था भिन्नै छ । रुकुम पश्चिममा एमालेको कमजोर अवस्था रहेकोमा समाजवादीको मुसिकोट नगरपालिकामा मेयरको दावी सुन्नमा आएको छ । अन्य पालिकामा केही पदहरुमा दावी होला । उनीहरुको कुरा सुन्दा छ वटा पालिकामध्ये एउटा पालिकाको प्रमुख समाजवादीलाई¸ दुइ पालिकाको काँग्रेसलाई र तीन पालिकाको माओवादीलाई दिई एक¸ दुई¸ तीनको आधारमा भागवन्डा गर्नुपर्छ भन्ने आकाँक्षा बुझिन्छ ।

तर रुकुम पश्चिममा गठवन्धन त्यती सजिलो छैन । कैयन माओवादीका कार्यकर्ता काँग्रेसलाई देख्नै नसक्नेखालका छन् भने कैयन काँग्रेसीहरु पनि माओवादीलाई देख्नै नसक्ने खालको तिक्ततापुर्ण सम्बन्ध रहेको छ । यो अवस्थामा गठवन्धनक निर्माणको प्रमुख आधार काँग्रेस हेडक्वाटरबाट ठाडो र कडीकडाउ निर्देशन तथा माओवादीतिरबाट विशेषत जनार्दन शर्माको ठाडो निर्देशनबेगर यहीँका जिल्ला तथा पालिका नेतृत्वबाट गठवन्धनको आत्मघाती, पार्टीघाती र कार्यकर्ताको आकाँक्षा विपरितको निर्णय हुन तथा कार्यान्वन हुने अवस्था देखिदैन ।

गठवन्धनको जोखिमको वीचबाट रुकुम पश्चिमको चुनावी तरंग केही मत्थर भएतापनि उम्मेदवारी मनोनयनपछि तरंग केही तातिने सम्भावना छ । तर ग्रामीण परिवेशमा रहेका मतदाताहरुको मनसाय अंझै त्यती उत्साहित देखिदैन । जसलाई भोट हालेपनि उस्तै हुन् ! भोट हाल्न नै किन जाने ? जस्तो नकारात्मक प्रतिक्रिया देखिन्छ । हुनत् त्यो प्रतिक्रिया पछिसम्म टिकाउ हुनेछैन । वल्लोपल्लो छिमेकी दलको झन्डा समाती नारा जुलुश नाचगानमा हिड्न थालेपछि त्यसैत्यसै माहोल तातिनेछ र निस्क्रीय रहेकाहरु पनि फेरि सक्रिय रहनेछ । कसैलाई भोट हाल्दैन भनी नाकको चुच्चो तिखार्नेहरु दलका कार्यक्रममा अगाडीको भुँइ सिटमा ससम्मान आसनग्रहण चौरङ्ग्यासन गर्नेछन् । यदि गठवन्धन भएन र काँग्रेस माओवादी अलगअलग नै लड्ने अवस्था आयो भने चुनावी माहोल पनि थप तातिने छ । हामी बाहिरबाट हेर्नेलाई पनि रोचक लाग्नेछ । यदि माओवादी काँग्रेस गठवन्धन नभएको अवस्थामा केही स्थानमा छुट्टै अघोषित “भावनात्मक र मनमिल्ने” अर्कै गठवन्धनको चर्चा पनि भित्रभित्रै चलिरहेको पाइन्छ । अहिलेलाई यत्तिकै । बाँकी विश्लेषण समयक्रममा गर्दै गरौँला । धन्यवाद । नमस्कार । सबैको जय होस । सबैको भलो होस ।

(२०७८ साल चैत्र २६ गतेसम्म प्राप्त सुचना जानकारीमा आधारित विश्लेषण ।)

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार