मुसिकोट काँग्रेसमय भएको छ, विजय हाँसिल गर्दैछौं : महेन्द्र केसी

मुसिकोट काँग्रेसमय भएको छ, विजय हाँसिल गर्दैछौं : महेन्द्र केसी

महेन्द्र केसी नेपाली काँग्रेस रुकुम पश्चिमको प्रदेश निर्वाचन क्षेत्र ‘क’ को सभापति हुनुहुन्छ । मुसिकोट नगरपालिका १ निवासी उहाँ २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा झिनो मतले नगर प्रमुखमा पराजित हुनुभएको थियो । कुशल व्यवसायी र सक्रिय समाजसेवी समेत रहनुभएका केसीसँग उजेली न्युजले स्थानीय तहको आसन्न निर्वाचन सन्दर्भमा गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

  • पहिलो स्थानीय तहको निर्वाचनमा मुसिकोट नगरपालिकाको प्रमुखमा थोरै मतले विजयी हुन सक्नुभएको थिएन । यसपटकको तयारी के छ ?

त्यो बेला हामीले झिनो मतले विजयी हुन सकेनौ । यस पटक तालमेल गर्दा या नगर्दा मुसिकोट नेपाली काँग्रेसको नेतृत्वमा रहनेमा ढुक्क छौ । अघिल्लो चुनावको मतभारको हिसावले हामी १ प्रतिशत मात्र कम छौं । हामीले पहिलो दाबी गर्ने नगरपालिका पनि मुसिकोट नै हो । हामीले यस पटक संगठन सुदृढीकरण, क्रियाशिल सदस्यता वितरण, टोल टोलमा समिति गठन तथा पुनर्गठन, प्रशिक्षण लगायतका कार्यक्रम सम्पन्न गरेका छौ जसले काँग्रेस एक ढिक्का र झन् बलियो भएको छ । आम नागरिकहरुको नेपाली काँग्रेस प्रतिको जनलहर र पाटिका सबै तहको सक्रियताले हामी उत्साहि छौ । यस पटकको निर्वाचनमा सबै वडा र पालिकाको नेतृत्व हाम्रै पक्षमा ल्याउन सक्षम छौ ।

  • तपाई व्यवसायी, समाजसेवी, राजनीतिज्ञको रुपमा चिनिनुहुन्छ । राजनीतिप्रतिको आकर्षण किन हो ?

म आफ्नो आर्थिक स्रोतको व्यवस्थापनका लागि व्यवसाय गर्छु भने समाज सेवा गर्नको लागि राजनीति गर्छु । २०४८ सालदेखी निरन्तर रुपमा विभिन्न संघ, संस्थामार्फत समाज सेवामा क्रियाशिल पनि छु । २०४६ सालको परिवर्तनपछि म नेपाली काँग्रेसको क्रियाशिल सदस्यता लिई पार्टीको काममा सक्रिय रहेर सहयोग गर्दै आएको हो । यस क्षेत्रमा रहेको जातिय विभेद, गरिव र धनी विच हुने विभेदकारी व्यवहार, पछौटेपन, शिक्षा, स्वास्थ्य, यातायात, सडक, सरसफाईका अस्तव्यस्त अवस्था देखेर सुधार गर्न सक्ने इच्छाशक्ति र अठोटको साथ म राजनीतिमा आएको छु ।

  • अहिले देशव्यापी रुपमा सत्तारुढ दलहरुबीच गठबन्धनको चर्चा छ । मुसिकोट नगरपालिकामा गठबन्धनमा कुन दलले पाउनुपर्छ जस्तो लाग्छ तपाईलाई ?

मुसिकोट नगरपालिका साविक खलंगा, साँख, चौखावाङ्ग, भलाक्चा, छिवाङ्ग गाउँ विकास समिति समेटेर बनेको पालिका हो । यो पालिका हामीले विगतमा जित्दै आएको पालिका हो । २०७४ को स्थानीय चुनावमा पनि हामीले थोरै मतले पराजित भयौ, त्यो पनि हाम्रो आन्तरिक कारणले । यस पटक निशर्त र निसन्देह नेपाली काँग्रेसले पाउनुपर्छ र काँग्रेस एक्लैले पनि विजयी प्राप्त गर्ने पनि सुनिश्चित छ ।

  • अन्य पालिकाको तुलनामा मुसिकोट नगरपालिकामा कांग्रेसको जनमत राम्रो छ भन्नुहुन्छ । तपाईंको दाबी के हो ?

मुसिकोट नगरपालिकामा अन्य पालिकाको तुलनामा जनमत राम्रो छ । संगठन बनाउने, जिम्मेवारी प्रतिको निरन्तरता, पार्टीको नेतृत्व, पार्टीका अगुवा साथीहरु, वडा, नगर क्षेत्रका सवै नेता ज्यूहरुको सहयोगले यो पालिकालाई काँग्रेसमय बनाउन हामी सफल भएका छौं । यस पटकको चुनावमा हामीले विजय हाँसिल गर्दैछौं । हिजो जुन पदमा मैले प्रतिपर्धा गरेँ, त्यही पदमा फेरि कस्सिन्छु । यस पटक नगर प्रमुखको इच्छा राख्नु स्वभाविक नै हो । यस अवधिमा चुनावमा पराजित हुँदा पनि जनताकै बिचमा, पार्टीकै काममा सक्रिय छु । यसमा पार्टीको निर्णय र साथ आवश्यक रहेको छ । अवश्य साथ पाउँछु ।

  • कतिपय ठाउँमा नेपाली कांग्रेस सम्बद्ध नेता तथा कार्यकर्ताहरुले गठबन्धनप्रति त्यति लगाव राखेको देखिँदैन । यहाँ पनि त्यस्तै हो र ?

गठवन्धन गर्दा मतदाताको चाहना विपरित हुन जान्छ । जो गठवन्धनमा रहेका छन्, उनीहरुको चाहना एक्लाएक्लै लड्ने नै भन्ने छ । हाम्रो मात्र नभएर माओवादी केन्द्रको पनि त्यही भावना देखिन्छ । अर्को कुरा गठवन्धन दलहरु बीच तालमेल हुने कुनै आधार पनि पाईदैन । त्यसकारण रुकुम पश्चिममा गठवन्धनको सम्भावना कम हुदै गएको छ ।

  • आम मुसिकोटवासी जनसमुदायलाई के भन्न चाहनुहुन्छ ?

मलाई माया गर्ने मुसिकोट बासी आमावुवा, दाजुभाई, दिदीवहिनीहरु लगायतका आम मतदाताहरुलाई मेरो अनुरोध के छ भने २०७४ को स्थानीय निर्वाचनमा मुसिकोट नगरपालिकाको प्रमुख पदमा विजय हासिल गर्न १ प्रतिशत मतले मात्र कमी भयो । म तपाईहरुको सेवामा निरन्तर रुपमा सक्रिय भई लागिरहेको छु । आशा छ, यस पटक २०७९ वैशाख ३० सम्पन्न हुने निर्वाचनमा नेपाली काँग्रेसलाई अत्याधिक मतले विजयी गराउनु हुनेछ । यहाँहरुको मतको गुण हामी यहाँको विकास र समृद्धि मार्फत तिर्ने छौँ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार