स्थानीय निर्वाचन, स्वतन्त्र अभिमत र मौन धारण !

स्थानीय निर्वाचन, स्वतन्त्र अभिमत र मौन धारण !

आदरणीय सुभचिन्तक महानुभावहरुले विभिन्न माध्यमले पछिल्लो चरणमा चुनावको मुखैमा आएर सोलाबाङ डटकम (मलाई) राजनीतिक टिपप्णी, चुनावी आँकलन र विश्लेषणमा किन चुप लाग्यो भन्ने जिज्ञासा प्रकट गरिरहनु भएको छ । यो स्वभाविक पनि होला । यस सम्बन्धमा मेरो प्रष्टीकरण ।

पहिलो कुरा¸ स्थानीय तह निर्वाचनमा कुनै पनि पक्ष विपक्षमा नलाग्ने मेरो पुर्ववत घोषणा नै हो । एक त सरकारी सेवामा रहेको कर्मचारी चुनावको मुखमा कुनै दल वा उम्मेदवारको पक्ष¸ विपक्षमा लाग्नु सत्रै आना गलत काम हो । अघिपछि कहिलेकाहीँ झोँक चलेइबेला केही विषयमा टिप्पणी आलेख लेख्नु । अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्नु अलग कुरा हो । तर चुनावैको मुखमा कर्मचारी¸ शिक्षक¸ पेशाकर्मीजस्तो मान्ठ पक्ष विपक्षमा लागेर बोल्नु वा कुर्लनु भनेको निमेकहराम काम हो । त्यो पेशाप्रतिको न्युनतम मर्यादा उल्लंघन हो । अघिपछि कहिलेकाहीँ हुन्छन केही विषय । त्यसमा धेरै अति भयो भने सार्वजनिक रुपमा सामाजिक संजालमा पनि टिकाटिप्पणी हुन्छ । लेखिन्छ । सबैले लेख्छन् । अहिलेको जमानामा पुर्व राजादेखि प्रधानमन्त्री¸ मन्त्री¸ प्रधानन्यायधिश¸ न्यायधिश¸ मुख्य सचिव¸ सचिव लगायत राज्यका प्रमुख अंगका प्रमुख पदाधिकारीहरुले पनि कहिलेकाहीँ सामाजिक संजालमा केही विषयमा टिप्पणी गर्दछन् । तर देश राजनीतिक र दलीय रुपमा¸ उम्मेदवार उम्मेदवारको वीचमा कडा प्रतिस्पर्धामा गएको बेला । जनता मतदाता चुनावले तातिएको बेला । चुनावी सरगर्मी बढेको बेला देशको कर्मचारीतन्त्रको एकजना अवयव कण एउटाको पक्ष र अर्काको विपक्षमा लाग्नु भनेको गैरकानुनी काम हो ।

दोस्रो कुरा¸ स्थानीय तह सबैभन्दा नजिकको सरकार । काम गर्नु जोखिमपुर्ण । सजिलो पनि । अप्ठ्यारो पनि । सम्बन्ध राम्रो भयो सजिलो । सम्बन्ध राम्रो भएन अप्ठ्यारो । टाढाको सरकार । जसलाई हामी धारे हात लाए पनि । माथि केन्द्रका प्रधानमन्त्री र मन्त्रीको आलोचना गरे पनि तत्काल असर गर्दैन । किनकी त्यती टाढासम्म उक्त आलोचनाको तरंग प्रवाहित हुंदैन । हामीले देशको एउटा कुनाबाट लेखेको कुरा सुनेर त्यति टाढाको सरकारले कुनै एक्शन लिने फुर्सद पनि हुदैन । आवश्यक पनि हुदैन । कुनै सन्दर्भमा बोलेका कुराहरु आफै विलोप लोप हुंदै शुन्यतामा हराएर जान्छन् । तर स्थानीय सरकारमा अत्यन्त खतरनाक जोखिम छ । हामीले बोलेका¸ लेखेका¸ अभिव्यक्त गरेका प्रत्येक कुराको लेखाजोखा हिसाव छ । नजिकका सरकारका पदाधिकारीहरुले पलपलको कुराको सम्झना मेमोरी गरिरहेका छन् । रिपोर्टिङ्ग सुनिरहेका छन् । आफैले पनि तिनको संग्रह स्मृती गरिरहेका छन् ।

यस्तो अवस्थामा सरकार मातहत रहेर काम गर्नुपर्ने शिक्षक¸ कर्मचारी¸ पेशाकर्मी चुनावैको मुखमा आएर पक्ष विपक्षमा बोल्नु जोखिमपुर्ण हुन्छ । जनताको अभिमतबाट निर्वाचित सरकारले दिएको आदेश¸ निर्देशको आधारमा आफ्ना दैन्दिनका कार्य गर्ने कर्मचारीले जननिर्वाचित सरकारसंग आफ्ना राजनीतिक तर्कहरु भिडाउंदै प्रतिवादमै रातदिन बिताउन थाल्यो भने सरकारको प्रभावकारितामा अवरोध सृजना हुनसक्छ । झन् चुनावको मुखमा सम्भावित जनप्रतिनिधिज्युहरुसंग सम्बन्ध बिगार्नु भनेको शिक्षक¸ कर्मचारीको लागि हितकर छैन । आज विरोध गरिएको दल र उम्मेदवारले भोलि चुनाव जितेर आएमा भोलिको सम्भावित सम्बन्ध कस्तो होला ? एकपटक अनुमान गरौँ । त्यसकारण स्थानीय तहको निर्वाचनमा स्थानीय तहमा कार्यरत शिक्षक कर्मचारी पेशाकर्मी कसैको पक्ष वा विपक्षमा बोल्नसक्ने अवस्था छैन । त्यसको सिधा असर आगामी कामकारवाहीमा पर्नसक्छ । एउटा स्वतन्त्र पेशाकर्मीले त्यो जोखिम मोल्नु उचित छैन । जोखिम मोल्ने पनि केखो लागि ? कित कुनै दर्शन¸ सिद्धान्त¸ आदर्श¸ मुल्य¸ मान्यता¸ अवधारणा¸ सोँच¸ संकल्प¸ योजनाहरु अलगथलग पृथक फरक भएको भए पो यसको लागि लागिएको छ भन्ने हुन्थ्यो । ति कुनै पनि कुरा बाँकी छैनन । सबै दलहरु सरावरी भइसकेका छन् । यस्तो अवस्थामा पेशाकर्मीले बोल्ने के खो लागि ? लेख्ने के खो लागि ?
तेस्रो कुरा¸ पालिका र वडाका सबैजसो उम्मेदवारहरु विभिन्न प्रकारले सम्बन्ध जोडिएका आफन्त¸ इष्टमित्र¸ साथीभाई आदि हुनुहुन्छ । चुनावको मुखमा उहाँहरुको पक्ष वा विपक्षमा लाग्नु भनेको भोलिको सामाजिक सम्बन्धमा पनि दरार पैदा गर्नु हो । नेपालको राजनीतिक समिकरण कतिखेर कता हुन्छ थाहा पत्तो हुंदैन ।

यस्तो अवस्थामा स्वतन्त्र पेशाकर्मी एउटा दलको पक्षमा खाँटी प्रवक्ता¸ विचारी¸ अधिवक्ता भएर अर्को दलको उछित्तो कार्नु आफ्नै चेतनास्तरमाथि प्रश्न खडा गर्नु र नेपालको वर्तमान राजनीति प्रतिको अल्पज्ञान छताछुल्ल पार्नु मात्रै हो । अहिलेकै निर्वाचनका कुरो गर्दा विगतमा मेरा एकजना रोम पार्टनर पालिका अध्यक्षका उम्मेदवार हुनुहुन्छ । होस्टेलमा संगै बसेका अर्को मित्र पनि पालिका प्रमुखकै उम्मेदवार हुनुहुन्छ । लामो समय साथ सहयोग आदानप्रदान गरेका अर्का मित्र पालिका प्रमुखकै उम्मेदवार हुनुहुन्छ । पेशागत रुपले धेरै लामो सहकार्य भएका मित्रहरु पनि पालिका प्रमुख र विभिन्न पदमा प्रत्यासी हुनुहुन्छ । एकजना नजिकका आफन्त पनि पालिका प्रमुखकै उम्मेदवार हुनुहुन्छ । वडाहरुतिर पनि अवस्था त्यस्तै छ । विगतमा कैयन साना ठुला सहयोग आदान प्रदान गरिएका मित्रहरु उम्मेदवार हुनुहुन्छ । कैयन हितैषी मित्रहरु¸ आफन्तहरु¸ साथीभाइ आदि उम्मेदवार हुनुहुन्छ । कोही कुनै दलबाट कोही कुनै दलबाट । यस्तो अवस्थामा भित्रैबाट बर्षेभेलसरी उर्लिएर आउंछ । अहो बरै । यस्तो अवस्थामा नलेखे कहिले लेख्ने ? लेख्नुपर्यो उहाँको पक्षमा भन्ने पनि लाग्छ कताकता मनमा । तर यता पक्षमा लेख्नेवित्तिकै उता त विपक्ष भइहाल्यो । उता पनि फेरि आफ्नै । अनि लेख्नु कसरी ? बोल्नु कसरी ? बोल्नै सकिन्न । लेख्नै सकिन्न । आफ्नो स्वतन्त्र पहिचानको पनि परीक्षाको समय छ । त्यसैले पनि कसैको पक्षमा र कसैको विपक्षमा लेख्नै सकिन्न । स्वतन्त्र विश्लेषण¸ आँकलन¸ अनुमान पनि गर्न सकिन्न । किनकी त्यो पनि कहीँ न कहीँ । कतै न कतै ढल्किन सक्छ । सन्तुलन र तालमेल बिग्रन सक्छ । शब्द छनौटमा पनि बिरङ्गको रङ्ग पोतिनसक्छ । लेखाई र बुझाइमा फरक परी आरोप प्रत्यारोपको तिर सोझिनसक्छ ।

चौथो कुरा¸ संघीय चुनावमा केही खुलेर बोल्न सकिन्छ । किनकी त्यो अली टाढाको सरकार हो । त्यसमा केही पेशागत रुपमा केही नीतिगत¸ कानुनी कुराहरु पनि जोडिएका छन् । बोल्नैपर्ने अवस्था पनि आउला । बृत्ती विकासका पक्षहरु पनि त्यसमा अन्तरनिहीत छन् । त्यसकारण संघको चुनावमा केही स्वतन्त्रताको उपयोग हुनसक्छ । अहिलेको भन्दा केही फराकिलो रुपमा ।

 

अहिले स्थानीय तह निर्वाचनको बारेमा धेरै कुरा लेख्न सकिदैन । बोल्न सकिदैन । यतिखेर बोल्ने भनेको जनता हो । मतदाता हो । पेशाकर्मीले आफ्नो पेशाका मुल्य मान्यतालाई तिलान्जली चढाएर नेपाल सरकार¸ निर्वाचन आयोगले जारी गरेका आचारसंहिताको बर्षिलाप हुनेगरी लेख्न¸ बोल्न र धारणा सार्वजनिक गर्नु उपयुक्त¸ सान्दर्भिक¸ व्यवहारिक र जायज छैन । त्यसकारण सोलाबाङ डटकम बाट अर्को व्यवस्था नभएसम्मको लागि राजनीतिक टिप्पणी¸ आलेख¸ विश्लेषण आदिको अपेक्षा नगर्नु नगराउनु हुन् फेसबुक दुनियाँका समस्त महानुभावहरुमा विनम्रतापुर्वक अनुरोध छ । निर्वाचन सम्पन्न भई मत परिणाम घोषणा भएपछि निर्वाचित पदाधिकारीज्युहरुलाई फुलमाला¸ अविर आवरण र फेसबुकमार्फत उल्लास तथा उमंगकासाथ बधाईका बहारहरु प्रकट गरौँला । “नविनतम नयाँ परिवेश” वा “परिमार्जित संश्लेषित परिवेश” मा सुझवुझपुर्ण सम्बन्ध स्थापना गरौँला । जित्नेहरूलाई बधाई

 

ज्ञापन र जित हासिल गर्न असमर्थहरूलाई Try Again अर्पन गरौँला । अहिले यत्तिकै । धनियापात् । नमस्कार ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार