शिक्षकका ३४ कोटामा सबै अनुत्तीर्ण

शिक्षकका ३४ कोटामा सबै अनुत्तीर्ण

शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तहको सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा विभिन्न विषयका ३४ वटा कोटा रिक्त भएका छन् ।

परीक्षामा सहभागीमध्ये एक जना पनि उत्तीर्ण नभएपछि ती कोटा रिक्त भएका हुन् । रिक्तमध्ये मधेस प्रदेशका सबैभन्दा धेरै (२९ वटा) कोटा रिक्त भएका छन् । विज्ञान र नेपाली विषयमा धेरै अनुत्तीर्ण छन् । रिक्त कोटाका लागि आयोगले अर्को परीक्षा सञ्चालन गर्नुपर्छ ।

मधेसमा नेपाली विषयमा ३२ जना शिक्षकका लागि आवेदन आह्वान गरिएकोमा २६ जना मात्रै उत्तीर्ण भए । सोही प्रदेशमा गणित विषयमा १७ जना माग गरिएकोमा १५ जना मात्रै उत्तीर्ण भए । मधेस प्रदेशमै विज्ञान विषयमा २२ जना माग गरिएकोमा सात जना मात्रै उत्तीर्ण भएको शिक्षक सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले जानकारी दिनुभयो ।

अर्थशास्त्र विषयमा गण्डकी प्रदेशका लागि दुई जना माग गरिएकोमा एक जना मात्रै उत्तीर्ण भए । लुम्बिनी प्रदेशमा एक जना माग गरिएकोमा एक जना मात्रै उत्तीर्ण भए । कार्यालय सहायक तथा लेखा विषयमा मधेसमै पाँच जना माग गरिएकोमा दुई जना मात्रै पहिलो चरणको परीक्षामा उत्तीर्ण भएका छन् ।

स्वास्थ्य विषयमा मधेसमा एक जना माग गरेकोमा कोही पनि उत्तीर्ण नभएको आयोगले जनाएको छ । शुक्ल यजुर्वेद विषयमा मधेसमा एक जना मात्रै माग गरिएकोमा कोही पनि उत्तीर्ण भएनन् । गण्डकी प्रदेशमा भने यो विषयमा एक जना माग गरेकोमा एक जना मात्रै उत्तीर्ण भए ।

संस्कृत व्याकरणका लागि मधेस र बागमती प्रदेशका लागि एक÷एक जना माग गरिएकोमा कोही पनि उत्तीर्ण भएनन् । संस्कृत भाषामा प्रदेश १ का लागि एक जना र सुदूरपश्चिम प्रदेशका लागि दुई जना माग गरिएकोमा कोही पनि उत्तीर्ण नभएको मरहट्ठाले बताउनुभयो । संस्कृत साहित्यका लागि लुम्बिनी प्रदेशमा एक जना माग गरिएकोमा परीक्षामा सहभागीमध्ये कोही पनि उत्तीर्ण भएनन् ।

आयोगले सञ्चालन गरेको यो पहिलो चरणको परीक्षा मात्रै हो । दोस्रो चरणको परीक्षामा उत्तीर्ण भएर अन्तर्वार्तामा पनि सफल भएपछि मात्रै प्रतिस्पर्धी शिक्षण पेसामा प्रवेश गर्न पाउँछन् । विद्यार्थीको पढाइको जग बसाउने विद्यालय तहको शिक्षक छनोट गर्ने परीक्षामा यति धेरै कोटा रिक्त भएको आयोगको इतिहासमै पहिलो पटक हो ।

माग गरिएको कोटा र उत्तीर्णको सङ्ख्या बराबर रहेका विषय थुप्रै छन् । यो घटनाले आयोगले सञ्चालन गर्ने परीक्षा प्रणालीमै सुधार गर्नुपर्ने एकथरीको आवाज छ । अर्कोथरीले प्रतिस्पर्धीमा पठन संस्कृतिको अभाव रहेकोले यस्तो नतिजा आएको विश्लेषण गर्नुभएको छ । शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइरालाले परीक्षा प्रणाली र प्रतिस्पर्धीको घोकन्ते शैली दुवै परिमार्जन गर्नुपर्ने बताउनुभयो ।

आयोग अध्यक्ष मधुप्रसाद रेग्मीले भने शिक्षक परीक्षालाई सामान्य रूपमा बुझ्ने गलत प्रवृत्तिका कारण उत्तीर्णको सङ्ख्या कम भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको नतिजाले शिक्षक परीक्षा पनि कडाइ र प्रतिस्पर्धी हुन थालेको छ भन्ने सन्देश गएको छ ।”

आयोगले १४ विषयका शिक्षक छनोटका लागि गत चैत १५ गते परीक्षा सञ्चालन गरेको थियो । सबै विषयका सहित कुल एक हजार ५५२ कोटाका लागि ३२ हजार ९७ जनाले परीक्षामा प्रतिस्पर्धा गरेका थिए । जसमध्ये तीन हजार ८४६ जना मात्रै उत्तीर्ण भएका थिए । आजको गोरखापत्र दैनिकबाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार