रुकुममा पैसा बाँड्दै गरेका माओवादी कार्यकर्ता हतियार सहित पक्राउ

रुकुममा पैसा बाँड्दै गरेका माओवादी कार्यकर्ता हतियार सहित पक्राउ

मुसीकोट । मतदाताहरुलाई पैसा बाँड्दै गरेको अवस्थामा रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु हतियार सहित पक्राउ परेका छन् ।

चौरजहारी नगरपालिका १० खोलागाउँबाट बुधबार राती पैसा बाँडेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार रहेका बिरेन्द्र रोकाया र माओवादी कार्यकर्ता सौगात रोका रहेका छन् ।

निजहरुको साथबाट तीन थान खुकुरी समेत बरामद गरेको इलाका प्रहरी कार्यालय चौरजहारी जनाएको छ ।

माओवादी कार्यकर्ताहरुले पैसा बाँडेको भन्दै नेपाली काँग्रेसका कार्यकर्ताहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । प्रहरी चौकी सर्केनाबाट खटिएको प्रहरी टोलीले काँग्रेस कार्यकर्ताहरुले घरभित्र थुनेर राखेको अवस्थामा हतियार सहित माओवादी कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिनु अघि माओवादी र काँग्रेस कार्यकर्ता बिच झडप हुँदा पाँच जना घाईते भएको प्रहरीले जनाएको छ । घाईते हुनेहरुमा नेपाली काँग्रेसका डिल्ली केसी, लालबिर ओली र डायमन केसी घाईते भएकाछन् । डिल्लीको टाउकोमा, बाँया हातमा र डायमनको खुट्टामा चोट लागेको छ ।

त्यसैगरी माओवादीका तुलसीराम बुढा र जुद्धबहादुर घर्ति पनि घाईते हुनुभएको छ । दुवै जनाको टाउकोमा चोट लागेको छ ।

घाईते पाँच जनाको चौरजहारी अस्पतालमा उपचार भैरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार