सिटामोलको अभाव

सिटामोलको अभाव

डेंगु संक्रमण तीव्र बनेका बेला बजारमा सिटामोलको चरम अभाव देखिएको छ । अहिले राजधानी उपत्यकाका अधिकांश फार्मेसीमा सिटामोल पाइँदैन । सिटामोल किन्न आउनेलाई फार्मेसीले दुखाइ कम गर्ने वैकल्पिक औषधि दिएर पठाउने गरेका छन् । जसका कारण महँगो मूल्य तिर्नुपर्ने र चाहिनेभन्दा फरक औषधि सेवन गर्नुपर्ने बाध्यता छ ।

मंगलबार कालीमाटीस्थित हक मेडिकल हलमा डेंगु संक्रमित छोरालाई सिटामोल किन्न आएकी काभ्रेकी सावित्री गुरागाईं खाली हात फर्किइन् । चारवटा मेडिकल पुग्दा पनि नपाएको उनले बताइन् । बूढानीलकण्ठ नगरपालिका–१३ का जयराज पोखरेलले पनि सिटामोल पाएनन् ।

फार्मेसी सञ्चालक ज्याउल हकका अनुसार एक महिनायता सिटामोल आउन छाडेको छ । ‘सातायता माग ह्वात्तै बढेको छ, यहीबीच सरकारी उत्पादन मात्र नभई निजी कम्पनीका सिटामोल पनि आउन छाडे,’ उनले भने । उनका अनुसार बजारमा नेपाल औषधि लिमिटेड, निजी कम्पनी निको, भारतीय मेडोमोलको सिटामोल आउँछ ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले मूल्य बढाउन उद्योगहरूले उत्पादन घटाएर कृत्रिम अभाव सिर्जना गरेको आरोप लगाए । ‘औषधि व्यवस्था विभागमा मूल्य बढाउन चलखेल सुरु भइसकेको छ,’ उनले भने, ‘सिटामोल जस्तो अत्यावश्यक तथा जीवनरक्षक औषधिको मूल्य बढाएमा न्यायका लागि अदालत जानुपर्ने हुन्छ ।’ विभागका सूचना अधिकारी सन्तोष केसीले मूल्य बढाउन नभई समयानुकूल समायोजन गर्न खोजेको प्रतिक्रिया दिए ।

नेपालमा सरकारी लगानीमा सिटामोल उत्पादन गर्ने जिम्मेवारी नेपाल औषधि लिमिटेडलाई छ । कच्चा पदार्थ महँगो, खरिद ऐन झन्झटिलो, बजार भाउअनुसार मूल्य परिमार्जन नभएको र बजेट अभावका कारण पर्याप्त उत्पादन गर्न नसकेको लिमिटेडको भनाइ छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार