चामलको मूल्यमा मनपरी

चामलको मूल्यमा मनपरी

भारतले निर्यातमा कर बढाएको बहानामा नेपाली व्यवसायीले बजारमा चामलको मूल्य मनपरी वृद्धि गरेका छन् । पछिल्ला १० दिनमा जिरा मसिनो चामलको खुद्रा मूल्य किलोमा ८ रुपैयाँ र बोरामा २ सय रुपैयाँसम्मले बढाइएको खुद्रा व्यापारीहरुले बताएका छन् ।

भारतको कर वृद्धिको समाचारसँगै बजारमा चामलको मूल्य बढ्ने हल्ला चलाइएको र १० दिनयता बजारमा २ सय रुपैयाँसम्म बोरामा मूल्य बढाइएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

दशैंमा अधिक बिक्री हुनेबेला चामलमा होलसेल व्यापारीले मनपरी मूल्य ताकेको र अनुगमनकारी निकाय पनि मौन बसेको संघका अधिकारीहरु बताउँछन् ।

१० दिन पहिले १७ सय ५० रुपैयाँमा पाइने २५ किलोको जिरा मसिनो चामलको मूल्य अहिले १९ सय ५० देखि २ हजार रुपैयाँसम्म पुर्‍याइएको संघका सहकोषध्यक्ष ध्रुब अधिकारीले बताए । ‘होलसेलमै मूल्य मनपरी भयो,’ अधिकारीले भने, ‘किलोमा ८ रुपैयाँले र बोरामा २ सय रुपैयाँले मूल्य बढ्नु अहिलेसम्मकै उच्च वृद्धि हो ।’

यसअघि चामलमा मूल्य वृद्धि प्रतिबोरा अधिक ७५ रुपैयाँसम्म मात्रै हुने गरेको आफूले पाएको उनले बताए । मूल्य बढ्नुको कारण सोध्दा होलसेल व्यापारीहरुले भारतले करमा गरेको वृद्धि नै भएको बताउने गरेको खुद्रा व्यापारीहरुले बताएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार