चुनाव प्रचारका लागि आज अन्तिम दिन

चुनाव प्रचारका लागि आज अन्तिम दिन

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दलहरूले आजसम्म प्रचारप्रसार गर्न पाउँछन्।

निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि मंसिर १ गते मध्यरात १२ बजेसम्म मात्रै प्रचारप्रसारका लागि समय दिएको थियो।

आज मध्यराति १२ बजेपछि मौन अवधि (स्थिर समय) सुरू हुनेछ। मौन अवधिमा उम्मेदवारहरू र दलहरूले प्रचारप्रसारलगायत काम गर्न पाउने छैनन्।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्थिर समय आज राति १२ बजेदेखि सुरू हुने बताए। निर्वाचन आचारसंहिताअनुसार स्थिर समय लागु भएका बेला चुनावी प्रचार गर्न पाइँदैन।

‘निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, सभा, सम्मेलन, गोष्ठीलगायत गर्न पाइँदैन,’ उनले भने, ‘मतदान हुने दिनभन्दा ४८ घन्टा अघि मतदान स्थलभन्दा तीन सय मिटर वरपर राखेका दल र उम्मेदवारका प्रचारप्रसारका सामग्री पूर्ण रूपमा हटाउनुपर्छ।’

सामाजिक सञ्जाल, अनलाइन वा छापाबाट उम्मेदवारका प्रचारप्रसार गर्न नपाइने उनले बताए। ‘सामाजिक सञ्जालबाट गरिएका चुनावी प्रचार सामग्री हटाउनुपर्छ। लाइक वा सेयर गर्न पाइँदैन,’ उनले भने।

मतदान स्थल वरपर निर्वाचन बिथोल्ने गरी केही गर्नसमेत नपाइने उनले बताए। ‘मतदान स्थलका वरपर भोज, जुलुस, बाजा बजाउन पनि पूर्ण रूपमा निषेध गरिएको छ,’ उनले भने।

मंसिर ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानका लागि समय दिइएको आयोगले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार