आज राति १२ बजेदेखि मौन अवधि : के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

आज राति १२ बजेदेखि मौन अवधि : के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

आगामी आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बिहीबार मध्यराति १२ बजेबाट मौन अवधि अर्थात चुनाव प्रचार प्रसार निषेधित अवधि सुरु हुँदैछ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज राति १२ बजेभन्दा अगाडिसम्म मात्र अन्तिम चुनावी प्रचार गर्न पाउनेछन्।

त्यसपछि मध्यरातिबाट राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न पाउँदैनन् सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न मिल्दैन।

मतदान सुरु हुनु भन्दा ४८ घण्टाअघिदेखि मौन अवधि तोकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषि राम भुसालले बताए। मतदान नसकिएसम्म मौन अवधि कायम रहने छ।

निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो।

यस अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेला र गोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ।

निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्द हुनेदेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुन सक्ने सहायक प्रवक्ता भुसालले देश सञ्चारलाई बताए।
यस्तै मौन अवधिमा मदिरा बिक्रि वितरण, ओसारपसार तथा सेवनमा पनि रोक लगाइदै छ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०७९ को दफा २५ मा निर्वाचन अधिकृत तथा मतदान अधिकृतले रहेको सन्दर्भमा मतदान तथा मतगणनाको अवधिमा शान्तिपूर्ण अवस्था कायम राख्नको लागि मतदानको मिति भन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री, वितरण र सेवन निषेध गराउन निर्देशन दिइएको हो।

उक्त निर्णय कार्यान्वयन गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिइएको छ।

मदिरा व्यवसायीलाई पनि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण नगर्न अनुरोध गरिएको छ।

चुनाव प्रचार प्रसार निषेधित अवधिमा के–के गर्न पाइँदैन ?

– निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने।

– मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने ।

– एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।

– अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न नहुने।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार