वैवाहिक वर्षगाँठको अवसरमा विद्यार्थी र विद्यालयलाई आर्थिक सहयोग

वैवाहिक वर्षगाँठको अवसरमा विद्यार्थी र विद्यालयलाई आर्थिक सहयोग

मुसिकोट । रुकुम पश्चिमको त्रिबेणी गाउँपालिका वडा नम्वर ७ का केशर खड्काले आफ्नो बिबाह वर्षगाँठको अवसरमा विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । दुई वर्ष अघि बिबाहमा हुने फजुल खर्च बचाएर निर्माण गरेको अक्षयकोषबाट आएको लाभांसबाट आज वडामा रहेको एक विद्यालयमा आर्थिक सहयोग गर्नुभएको हो ।

वडा नम्वर ७ लाछिकोटमा रहेको बाल कल्याण आधारभुत विद्यालयमा अध्यनरत जेहेन्दार, गरिव तथा अतिविपन्न घर परिवारका विद्यार्थीहरुलाई छात्रवृद्धिको लागि खड्काले आर्थिक सहयोग गर्नुभएको छ । उहाँले ५० हजार रुपैयाँ विद्यालयलाई आज एक कार्यक्रमका विच हस्तान्तरण गर्नुभएको हो । आफुले कखरा सुरु गरेको विद्यालयमा रहेका विद्यार्थीहरुलाई छात्रवृद्धि प्रदानको लागि आर्थिक सहयोग गरेको खड्काले जानकारी दिनुभयो ।

आफुले विद्यालयलाई दिएको रकमले विद्यार्थीको पठन–पाठनमा ठुलो सहयोग पुग्ने उहाँको भनाई छ । बिबाहमा हुने फजुल खर्चलाई सामाजिक काममा लगाउने योजनाका साथ दुई वर्ष अघि बिबाह खर्च बचाएर पाँच लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको र त्यहि कोषको लाभांसबाट आएको रकम विद्यार्थीको लागि विद्यालयलाई हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।

उक्त रकम आजै विद्यार्थीहरुलाई छात्रवृद्धि प्रदान गरिएको छ । विद्यालयले छनोट गरेका ३६ जना विद्यार्थीहरुलाई छात्रवृद्धि प्रदान गरिएको विद्यालयले जनाएको छ ।

यस्तै सहयोग गर्ने केशर खड्का र उहाँकी श्रीमति सरला रानालाई विद्यालयले धन्यवाद दिएको छ । साथै खड्काले विद्यालयको कोषको लागि १० हजार पनि विद्यालयलाई सहयोग गर्नुभएको छ ।

खड्का जोडीले गत वर्ष पनि सोहि वडामा रहेको साधारण माध्यामिक विद्यालय मुरुडाँडामा अध्यन्रत गरिब तथा जेहेन्दार २० जना विद्यार्थीहरुलाई नगद, शैक्षिक सामाग्री र विद्यालयलाई समेत भौतिक सामाग्री हस्तान्तरण गर्नुभएको थियो । अर्को वर्ष पनि बैबाहिक वर्षगाठको अवसरमा अर्को विद्यालयमा छात्रवृद्धिको लागि आर्थिक सहयोग गर्ने उहाँको भनाई छ ।

कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष धन बहादुर खड्का, पूर्व वडा अध्यक्ष बिर बहादुर खड्का, प्रधानाध्यापक टिकाराम केसी, त्रिभुवन जन्ता मावि खलंगाका शिक्षक डिल्ली डाँगी, नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसी, सदस्य परिचन्द्र खत्री, युवा व्यवसायी यज्ञ खत्री, केशर खड्का र उहाँकी श्रीमती सरला राणा खड्का लगायतको आथित्यता रहेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार