कुष्ठरोगका बारेमा स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

कुष्ठरोगका बारेमा स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

मुसिकोट । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ रुकुम पश्चिममा पनि ७० औं विश्व कुष्ठरोग दिवस मनाइएको छ ।

स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमको आयोजनामा दिवसको अवसरमा जिल्ला अस्पताल सल्लेमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई कुष्ठरोगको उपचार सम्बन्धि अभिमुखिकरण गरिएको छ ।

उपचारमा सहज होस भनेर स्वास्थ्यकर्मीहरुलाई कुष्ठरोग सम्बन्धि अभिमुखिकरण गरिएको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो ।

अभिमुखिकरण कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर कुसारी, स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. सुशील पोखरेलको आथित्यता रहेको थियो ।

रुकुम पश्चिममा हाल ११ जना कुष्ठरोगी उपचाररत रहेका छन् । जिल्ला भरमा ११ जना कुष्ठरोगीले स्वास्थ्य संस्थाको प्रत्यक्ष निगरानीमा औषधी सेवन गरिरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

यस्तै दिवसको अवसरमा आजै जिल्ला अस्पतालमा उपचाररत विरामीहरुलाई फलफूल समेत वितरण गरिएको छ । अस्पतालमा भर्ना भएर उपचाररत २५ जना बिरामीहरुलाई फलफूल वितरण गरिएको हो ।

कुष्ठरोगको चिह्न र लक्षण 
शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दागहरू देखा पर्नु शुरूको चिह्न हो।

यसबाहेक अनुहार र कानका लोतीमा गिर्खाहरू देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौं झरेर जानु कुष्ठरोगका चिह्नहरू हुन्। अन्त्यमा अपाङ्गता हुन सक्छ।

स्नायुमा असर पर्न जाँदा हात खुट्टाहरू लगातार झम–झम गर्नु, स्नायु सुन्निनु, दुख्नु, हातखुट्टा छुँदा थाहा नहुनु, मांसपेशीहरू कमजोर हुनु आदि लक्षण भेटिएमा कुष्ठरोग हो कि भनि शंका गर्न सकिन्छ।

वर्तमान अवस्था
नेपालमा सन २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो प्रति १०,हजार जनसंख्यामा १ जना भन्दा कम रोगी भएको अवस्थालाई रोग निवारण भएको मानिन्छ।

नेपालमा निवारण भएको घोषणा गरेको अवस्थामा प्रति १० हजार जनसंख्यामा ०.८९ कुष्ठरोगी थिए। जुन निवारणपछिका केही वर्षसम्म घटेको देखिएको थियो र २०७३।०७४ मा बढेर ०.९२ पुगेको र हाल आएर सो संख्या प्रति दशहजार जनसंख्या झण्डै २ जना पुगिसकेको छ।

माथिको तथ्यांकलाई हेर्दा नेपालमा कुष्ठरोग निवारण भयो भनेर ढुक्क संग बस्ने अवस्था छैन। १८ जिल्लाहरूमा निवारणको अवस्था नहुनु र प्रतिवर्ष ३ हजार भन्दा धेरै नयाँ बिरामी थपिनुका साथै स्वास्थ्य सेवाको पहुंच भन्दा बाहिरै रहेको जनसंख्या  पनि उल्लेख्य छ। कुष्ठरोग प्रतिको नकारात्मक सोच र सही जानकारीको अभावले रोग लुकाउने र समयमै उपचारको खोजी नगर्ने प्रवृतिले गर्दा कुनै समयमा यसको प्रकोप भयावह रुपमा देखिन सक्ने संभावना टरिसकेको छैन है भन्ने कुरामा हामि होसियार नै रहनु पर्छ।

कुष्ठरोगका प्रकार ?
कुष्ठरोगका चिह्न र लक्षणको आधारमा यसलाई दुई भागमा बाँड्न सकिन्छ।
१) बढी किटाणु भएको अर्थात  (एमबी) कुष्ठरोग
२) कम किटाणु भएको अर्थात  (पीबी) कुष्ठरोग

कुष्ठरोगको उपचार के हो ?
यसको उपचार बहुऔषधि विधिबाट गरिन्छ। जसअनुसार बढी किटाणु भएका अर्थात  (एमबी) कुष्ठरोग बिरामीले १२ महिना र कम किटाणु भएका अर्थात  (पीबी) कुष्ठरोग बिरामीले ६ महिना नियमित औषधि सेवन गर्नुपर्दछ। बिरामीले घरैमा बसेर औषधि सेवन गर्न सक्दछन्। बहुऔषधीको १ मात्राले नै ९९ प्रतिशत किटाणु निस्क्रिय बनाइदिन्छ। तसर्थ उपचार गरेका बिरामीबाट रोग अरूलाई सर्दैन।
कुष्ठरोगको उपचार स्वास्थ्य संस्थामा निःशूल्क पाइन्छ। साथै हाल नेपाल सरकारले उपचार पूरा गरेका तथा विशेष सेवाका लागि अस्पतालमा भर्ना हुँदा यातायात खर्च रु। १ हजार उपलब्ध गराएको छ।

औषधिको साइड इफेक्ट-
कुनै पनि रोगका औषधिको साइड इफेक्ट भएजस्तै कुष्ठरोगको पनि केही साइड इफेक्ट देखिन्छ।
जस्तै खानामा रुची नहुने बाकबाकी लाग्ने कहिलेकाहिँ रुघाखेकी र सामान्य ज्वरो पनि आउने गर्छ। तर यस्तो समस्यामा खासै आत्तिनु पर्दैन। तर बढी नै समस्या देखिन थाल्यो भने नजिकको स्वास्थ्य संस्था जानु पर्दछ।

अब सोच्न्नै पर्ने विषय
नेपालमा सन २०१० मा कुष्ठरोग निवारण घोषणा पछिको अवस्थामा विश्व स्वास्थ्य संगठन लगायत कतिपय दातृ संस्थाहरूले कुष्ठरोगको उपचार र पुनस्र्थापनाको लागि सहयोग गर्ने काम बन्द गरी सकेका छ्न्। यस क्षेत्रमा तालीम प्राप्त जनशक्तिको अभाव खड्किइ सकेको छ। एकीकृत स्वास्थ्य सेवा प्रणालीद्वारा नेपाल सरकारका स्वास्थ्य संस्थाहरूबाटै नियमित औषधि उपलव्ध गराउने व्यवस्था भएतापनि तालीम प्राप्त जनशक्तिको अभाव र समुदायमा जानकारी नभएका कारण सेवाको प्रभावकारितामा प्रश्न खडा भएको छ।

जनचेतना जगाउनेः कुष्ठरोगको वारेमा समाजमा अझै पनि अन्धविश्वास व्याप्त छ। समुदायमा पनि व्यापक जनचेतना जगाई कुष्ठरोगीलाई सामान्य व्यक्ति सरह व्यवहार गर्ने, भेदभाव नगर्ने परिवारमा आवश्यक माया ममता र सहयोगको वातारण हुनु आवश्यक छ। समाजका सवै सरोकारवालाहरू, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, धामीझांक्री र परम्परागत उपचारमा संलग्न व्यक्ति, सामुदायिक समूह सबैमा कुष्ठरोगका बारेमा सत्य तथ्य जानकारी र सकारात्मक सोचको खाँचो छ। यस्तो भएमा मात्र कुष्ठरोगको निदान र निवारणमा सहयोग पुग्छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार