छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कानूनी दायरामा कुनै सम्झौता हुदैन : प्रधानमन्त्री

छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कानूनी दायरामा कुनै सम्झौता हुदैन : प्रधानमन्त्री

जेठ २१ काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीहरूलाई सरकारले कानुनी दायरामा ल्याउने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले सामाजिक बहिष्करण, छुवाछूत र यसका आधारमा हुने हिंसामा शून्य सहनशीलताको नीति नेपाल सरकारले अवलम्बन गरेको स्पष्ट पार्नुभयो । जातीय विभेद तथा छुवाछूत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले भन्नुभयो, “छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कडाभन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता गर्ने छैन ।”

छुवाछूतलाई मानव सभ्यताकै कलङ्कको संज्ञा दिनुहुँदै उहाँले अमानवीय हिंसाका घटनाहरूको छानबिन गरी दोषीमाथि कारबाही गरिने विश्वास व्यक्त गर्नुभयो । मानव सभ्यताको कलङ्कका रूपमा रहेको छुवाछूत प्रथालाई कानुनी रूपमा अन्त्य गरिए पनि सामाजिक रूपमै अन्त्य गर्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
उहाँले जातीय छुवाछूत र विभेद निश्चित समुदायको मात्र नभई समाज र राष्ट्रको समस्या भएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “जातीय छुवाछूतका पीडितको मानव अधिकार संरक्षण गर्न र हिंसा अन्त्य गर्न म सम्पूर्ण व्यक्ति, परिवार, समाज र सम्बन्धित सबै निकायलाई संवेदनशील हुन आग्रह गर्छु ।”
छुवाछूत तथा भेदभाव अन्त्यका लागि तीनै तहका सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज, मिडिया र आमनागरिकलाई उहाँले आह्वान गर्नुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार