बाँकेमा नयाँ सिडिओको धङ्धङी

बाँकेमा नयाँ सिडिओको धङ्धङी

दामोदर भण्डारी

आउन रुचाउने बाँकेका नयाँ सिडिओले गरेका हरेक निर्णय एक पछि अर्को हुँदै असफल भइरहेका छन् । तीन वटै निर्णयको धज्जी उडिरहेको छ, त्यसको प्रत्यक्ष बजारले देखाइरहेको छ । दुई वटा उप–सचिव रहिरहेका बेला सह–सचिवको दरवन्दीमा उप–सचिव आएर सिडिओ बन्नु त्यति सहज हुने छैन नयाँ सिडिओका लागि । राजनीतिक दलको खिचातानी अनि जातियताको आगो सल्किरहने बाँके जिल्लामा जुन रुपमा उनले सपना देखेका छन्, जिल्ला चलाउनलाई फलामको चिउरा चपाए हुन सक्छ ।

लकडाउन चलिरहेकै बेला बाँकेका तत्कालिन सिडिओ कुमार बहादुर खड्काको सरुवा भयो । उनको ठाउँमा आए उप–सचिव तहका राम वहादुर कुरुम्वाङ्ग । जिल्ला प्रशासन कार्यालय बाँकेमा सह–सचिव तहको (सिडिओ हुनलाई) दरबन्दी हो । कुरुम्वाङ्ग नआउँदै सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) मा दीर्घराज उपाध्यय र कुशल र अब्बल प्रशासकको परिचय बनाइसकेका हरि प्याकुरे रहेका थिए । बालुवाटरको भाषामा पूर्व मुख्य सचिव प्रेम राईको पावरमा सह–सचिवको दरवन्दीमा उप–सचिव तहका कुरुम्वाङ्ग बाँकेको सिडिओ हुन आई पुगे ।

बाँकेबासीलाई त जुनसुकै सिडिओ आएपनि कुनै सरोकारको बिषय होईन । मात्र शान्ति सुरक्षाको प्रत्याभुती चाहिएको हो । कोरोना भाइरस र लकडाउने अनियन्त्रीत भइरहेको बाँके जिल्लामा सिडिओ बनेर कुरुम्वाङ्ग आउने भएपछि हल्लिखल्ली नै भयो । लाग्छ कुरुम्वाङ्गले जादुको छडी नचाएपछि सबै निर्मूल भइहाल्छ ।

प्यूठान, बर्दिया, स्याङ्जा लगायतका साना जिल्लामा सिडिओ भएर बसेका बखत नाम कमाएका कुरुम्वाङ्गलाई आफ्नो गृह प्रशासनले पनि पत्याएको थियो । त्यसो त उनी बर्दियाबाट सरुवा हुँदा नै बाँकेको सिडिओ बनेर आउन खोजेका थिए । तर, तत्कालिन शहरी विकास मन्त्री ईस्तियाक राईले नरुचाएपछि कुरुम्वाङ्गले ताकेको बाँके जिल्लामा सरुवा हुन सकेन, अनि स्याङ्जा पुगे । कुरुम्वाङ्गले पटक–पटक बाँके जिल्ला नै किन ताके त ? प्रश्न चिन्ह लागेको छ ।

ड्याङ् डुङ्गे स्वभावका कुरुम्वाङ्गलाई सरुवा भएपछि स्याङ्जाबाट नेपालगन्जका लागि रमाना हुँदा नै बाँके जिल्लामा फैलिएको कोरोना नियन्त्रण कसरी गर्ने ? भन्ने बिषयले हिर्काइरहेको थियो । बाँकेको नरैनापुरमा ठूलो संख्यामा देखिएको कोरोना भाइरस, लकडाउनमा खुलिरहेको नेपालगन्ज बजार, लकडाउनको अटेरी गरी हिँड्डुल गरिरहेका सर्वसाधारण नै सिडिओ कुरुम्वाङ्गको पहिलो टार्गेट थिए ।

कुरुम्वाङ्गले गरेका हरेक निर्णय असफल हुनुले उनको कामप्रति र उनको ट्यालेटन्सिपप्रति प्रश्न चिन्ह खडा भएको छ । कोरोनाको ‘हटस्पट’ मानिएको बाँकेको नरैनापुरमा स्वास्थ्य सुरक्षा समेत नअपनाई कोरोना बिरामी रहेका ठाउँमा पुगेर अनुगमन गर्नु उनको बहादुरी होईन, मुख्र्याइ हो । जब की स्वास्थ्यकर्मीले सबै सावधानी अपनाउँदा अपनाउँदै कोरोना देखिरहेको छ ।

उनको विगतदेखि वर्तमानसम्म हेर्ने हो भने के गर्दा फोटो चर्चामा आउँछ त्यहि गर्न रुचाएको देखिन्छ । चाहे त्यो काम सफल होस् या विफल । फोटो सुट गर्ने, फोटोलाई चर्चित बनाउँने, आफ्नै फेसबुक वालमा पोष्ट गर्ने । उनको गृह मन्त्रालय र बाहिरका पब्लिकले ओ हो ! खतरा सिडिओ भन्छन् तर, उनको काम त्यसै तुहिएर गएको व्यवहारमा देखिएको छ ।

सडकमा आएर सवारी साधन चेकजाँच गरेर, फोटो खिचाएर, सामाजिक सञ्जालमा चर्चित बनेर सवारी साधन हिँड्न बन्द भएको छ त सिडिओ साब ? नेपालगन्जमा लकडाउन नियन्त्रण भयो त सिडिओ साब ? के बाँके जिल्लामा प्रहरी नै छैन ? उसले चेकजाँच गर्न सक्दैन ? तपाईको फोटोले चर्चा त पायो होला तर, चेकजाँचले बाँके प्रहरीको साख गिराई दिएको छ । सिडिओ सडकमा आएर चेकजाँच गर्यो भनेर फोटो स्वअप गर्न नभई के हो सिडिओ साब ? तपाईले चर्चामा आउन गरेका फोटो सुट र कार्यशैली सबै नेपालगन्जबासीले नियाली रहेका छन् । अरु साना जिल्ला जस्तो सहज छैन बाँके जिल्ला, दुई चार जना कार्यालय प्रमुख बोलायो निर्णय ठोक्यो फोटो खिचायो निर्णय चाहे सफल होस् या नहोस् । यहाँ त पाईला पाईला चियाएर हेर्छन्, फोटोलाई जुम गरे हेर्छन् सिडिओ साब ।

जिल्ला प्रशासन कार्यालयमा हाजिर भएको भोलीपल्ट नै कुरुम्वाङ्गले पहिलो निर्णय गरे ‘नेपालगन्जमा निषेधाज्ञा ।’ उनको निर्णयले नेपालगन्जबासी आतंकित भए । कसैले कफर््यू भने, कसैले केही भने, कसैले नयाँ सिडिओ आएको छ यसले केही गर्छ भने । एक दिन त सिडिओको निषेधाज्ञाको निर्णयले काम गर्यो, दोस्रो दिनदेखि उही त हुन् नेपालगन्जबासी निषेधाज्ञाको अवज्ञा गर्दै सडकमा हिँड्न थाली हाले तर, नयाँ सिडिओको जादुको छडी चलेन । क्वारेन्टिन लथालिङ्ग छ, क्वारेन्टिनमा यस्तो अवस्था छ की नलागेकालाई पनि कोरोना लाग्छ । आइसोलेसन र कोरोना बिरामीको बिजोग छ, बजारको अवस्था बिजोग छ, मान्छे घरभित्र उकुसमुकुस छन् । गरीबले खान पाइरहेका छैनन् । पावरवाला पासमा हिँड्छन् सर्वसाधारणले दुःख पाएकाछन् । एउटा मात्र भन्दिनुस् सिडिओ साब के चाहिँ व्यवस्थित गर्नु भयो नेपालगन्जबासी जान्न चाहन्छन् ।

सिडिओ कुरुम्वाङ्गको निर्णय लगत्तै नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरको समाजिक सञ्जालमा मार्मिक र गहन स्टाटस् आयो, जो नयाँ सिडिओ भएर आएका कुरुम्वाङ्गलाई मार्गदर्शन हुन सक्थ्यो । सरकारका विज्ञहरुले सरकारलाई दिने सुझाव भन्दा कम थिएन उपमेयर थापाले सामाजिक सञ्जाल मार्फत सिडिओ कुरुम्वाङ्गलाई दिएको सुझाव ।

सिडिओ कुरुम्वाङ्गले गरेको पहिलो निर्णयलाई आफ्नो फेसबुक वालमा राखेर उपमेयर थापाले लेखेकी छन् ‘प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा बाँके जिल्ला आउनु भएका सिडिओ राम बहादुर कुरुम्वाङ्ग ज्युलाई जिल्लामा स्वागत गर्दै मेरो अनुरोध छ, लकडाउनले सर्वसाधारण थला परेको अबको अवस्थामा लकडाउन या निषेधाज्ञा कोरोनासंग लड्ने अश्त्र होईन ।

अगाडी उनले लेखेकीछन् ‘सर्वसाधारणको जिविका सहज बनाउने योजनासहित लकडाउनलाई खुकुलो बनाऊ, अत्यावश्यक पसललाई मात्र खोल्ने अनुमति दिएर अन्यको जिविका असहज नबनाऔं, विस्तारै सबैतिर योजना सहित खुकुलो बनाउने रणनीति ल्याऔं, पसल, व्यवसाय, उद्योग, कार्यालय आदि खोल्न दिन र समय छुट्टा–छुट्टै निर्धारण गरौं खोल्दा के–के सावधानी अपनाउने नियम बनाऔं, सर्वसाधारण घरदेखि बाहिर आउनु पर्ने आवश्यक परे के–के नियमको पालना गर्ने उल्लेख गरांै, यहाँको बाँके जिल्ला आगमनले सर्वसाधारणमा जुन आशा जागेको छ त्यो लकडाउन या निषेधाज्ञाले पुरा गर्दैन । जिल्लाबासीको आशामा दियो बाल्न ठोस् योजनासहित कडाईका साथ नियम पालना गराउने टिमको खाँचो छ । आगे यहाँको मर्जी ।

सिडिओ कुरुम्वाङ्गको निर्णयको सर्वत्र आलोचना भयो । मेयर पनि रुष्ट भए, नेपालगन्ज उद्योग वाणिज्य संघ पनि रुष्ट भयो । विरोधका आवाज चारैतिरबाट गुञ्जिएपछि उनको पहिलो निर्णय नै केही दिनमै नराम्रोसंग तुहियो । फेरी कुरुम्वाङ्गले दोस्रो निर्णय गरे बजार खोल्ने । फरक –फरक समय दिए बजार खोल्न । जिल्ला प्रशासन कार्यालयको निर्णय भाइरल भयो । ऋणले थलिएका व्यापारीहरु सबैभन्दा बढी खुशी भए । दुई दिनमै आफैले गरेको निर्णय बदर गरे कुरुम्वाङ्गले ।

अनि तेस्रो निर्णय सार्वजनिक गरे उनले । अर्को सूचना जारी नभएसम्मका लागि पहिलेकै निर्णय कार्यान्वयन हुने । खाद्यान्न र अत्यावश्यक वस्तु सेवा बाहेक सबै बन्द । तर, उनका तीन वटै निर्णयको धज्जी उडिरहेको छ । सिडिओको निर्णय कार्यान्वयन भएको छ की छैन आम जनताले हेरिरहेका छन् । नेपालगन्जमा कोही आयो र हिंड्यो भने दृष्य राम्रोसँग देख्न सकिन्छ । अनि कहाँ गयो सिडिओ सडकमै आएर गरेको चेकजाँच ? फोटो खिचाएर क्षणिक चर्चा नकमाउनुस् सिडिओ साव, काम गर्नुस् काम, जुन निर्णय कार्यान्वयन हुन्छ त्यति मात्र गर्नुस् । तपाई नेपालगन्जमा बस्दा वाणिज्य कार्यालय हाँके जस्तो सजिलो छैन जिल्ला प्रशासन कार्यालय बाँके चलाउन । यहाँ आउने प्रहरी प्रमुख देखि प्रशासन प्रमुखसम्म कि उसले नाम कमाएर जान्छ कि नाम विलाएर जान्छ । करिअरको वाजी लगाउने जिल्ला हो यो । जनतालाई त शान्ति सु–व्यवस्था अमन चयन चाहिएको हो । बाँकी तपाईको काम । सेतोखरीबाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार