साेती हत्याकाण्डको मूलकारण जातीय विभेद रहेको निष्कर्ष

साेती हत्याकाण्डको मूलकारण जातीय विभेद रहेको निष्कर्ष

असार २ काठमाडौ

पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ साेती हत्याकाण्डको मूलकारण जातीय विभेद रहेको निष्कर्ष अधिकारकर्मीहरूले निकालेका छन्।

६ जनाको ज्यान जानेगरी भएको घटनाको अध्ययन गर्न दलित अधिकारकर्मी पहलमा स्वतन्त्र लेखक, पत्रकार, अभियन्ता, अधिकारकर्मी र अधिवक्तासहित सात जनाको टोली घटनास्थल पुगेको थियो ।

घटनास्थल पुगेर गरेको विस्तृत स्थलगत अध्ययन प्रतिवेदनमा सो घटनाको मूल कारण जातीय विभेद नै भएको निष्कर्ष निकालिएको छ।

प्रतिवेदनमा उक्त क्षेत्रमा माओवादी जनयुद्धका क्रममा जातीय छुवाछुत र भेदवाव केही कम भए पनि अहिलेसम्म दलित–गैरदलितबीच जातकै आधारमा विभेद र छुवाछुत कायमै देखिएको उल्लेख गरिएको छ।

मृतक नवराजको परिवारभित्र पनि जातकै आधारमा भावी वैवाहिक सम्बन्धमा असर पर्न सक्नेबारे पटकपटक छलफल भएको र किशोरीको परिवारले स्थानीय जनप्रतिनिधि (वडाअध्यक्ष) र प्रहरीको सहयोगमा सम्बन्धलाई निष्फल पार्न पटकपटक कोशिस गरेको देखिएको सो अध्ययन प्रतिवेदनमा उल्लेख छ।

दलित अधिकारकर्मीको पहलमा अधिकारकर्मी जेबी विश्वकर्मा, अधिवक्ता मोहन साशंकर, लेखक युग पाठक, राजनीतिकर्मी तथा अधिकारकर्मी राम नेपाली, अधिकारकर्मी विजय विश्वकर्मा, पत्रकार शुष्मा बराली र लेखक संगीतको टोलीले यही २३ जेठदेखि २७ जेठसम्म जाजरकोट, रुकुम (पश्चिम) पुगी घटनाको स्थलगत अध्ययन गरेको हो ।

जेठ १० प्रेमिका भगाउनका लागि रुकुम पश्चिमको चौरजहारी पुगेका जाजरकोटका नवराज विक र टिकाराम सुनार, गणेश बुढामगर, लोकेन्द्र सुनार, सञ्जु विक र गोविन्द शाहीलाई हत्या गरी भेरी नदीमा फालिएको थियो।

मंगलबार राजधानीमा एक कार्यक्रम गरी प्रतिवेदन सार्वजनिक गरिएको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार