साेती घटना : संसदीय छानवीन समितिले थाल्यो काम

साेती घटना : संसदीय छानवीन समितिले थाल्यो काम

राजेन्द्र कार्की, असार ३ जाजरकोट

रुकुम घटनाको सत्यतथ्य छानवीनका लागी गठन भएको संसदीय छानवीन समितिले घटनास्थल पुगेर काम थालेको छ । समितिका संयोजक देवेन्द्र पौडेल सहित समितिका सदस्यहरु सोमवार जाजरकोट पुगेपनि मंगलवार देखि काम थालेका हुन् ।

समितिले स्थानिय प्रशासन र सुरक्षा निकाय निकाय सँग घटनाबारे हाल सम्म भैरहेका अनुसन्धान प्रक्रिया र घटनाको अवस्था बारे जानकारी लिएको छ । समितिले पिडित परिवार, अधिकारकर्मी, घाइते, संघर्ष समिति, सञ्चारकर्मी लगायतका सरोकारवाला निकाय सँग आवश्यक छलफल गरि घटनाबारे जानकारी लिएको छ । संसदीय समिति समक्ष पिडित परिवारले जातिय विभेदका कारण भएको घटनालाई तोडमोड गर्न खोजीएको भन्दै सत्यतथ्य छानवीनको माग गरेका छन् । समिति समक्ष घटनामा मारिएका नवराजका बुवा मुनलालले छोराको हत्यारालाई जन्म कैदको माग गरे । उनले भने ‘मेरा छोरा नवराज सहित ६ जनाको हत्या भएको छ । घटनालाई तोडमोड गर्न थालिएको सुनेको छु । पोष्टमार्टम रिपोर्टमा पानीमा डुवेर मरेको भनिएको छ । हत्या गरेर भेरीमा फालिएका छन् तर डाक्टर समेत दवाव र प्रभावमा परेर प्रहरीको मुचुल्का भन्दा फरक रिपोटै तयार गरेका छन् । यसरी जालझेल हुँदैछ । हामी कसरी न्याय पाउँछौ ? घटनाको निश्पक्ष छानवीन र अनुसन्धानका लागी माग गर्दछु ।’

संसदीय छानवीन समितिलाई रुकुम घटना संघर्ष समिति जाजरकोटका तर्फबाट पनि ज्ञापनपत्र बुझाईएको छ । ज्ञापनपत्रमा पोष्टमार्टम रिपोर्ट शबको प्रकृति भन्दा फरक तयार पारिएको हुँदा आवश्यक छानवीन गर्नु पर्ने, पिडितलाई न्याय र क्षतिपुर्ती उपलब्ध गराउनु पर्ने, घटनाको निश्पक्ष छानवी गुर्न पर्ने लगायतका माग समेटिएको संघर्ष समितिका संयोजक नगेन्द्र शाहले बताए ।

पिडित परिवार सवैको एउटै चिन्ता छ । कतै अपराधी उम्किने पो हुन कि भनेर । पिडित परिवार सवैले त्यहि चिन्ता प्रकट गरेको पाईयो हामीले घटना बारे प्रमाणहरु दिनुहोस । हामीलाई अनुसन्धानमा सघाउनुहोस । न्यायका लागी हामी लड्छौ समितिका संयोजक पौडेलले पिडित परिवारलाई आश्वस्त पादै भने घटनाको सत्यतथ्य छानवीन हुन्छ ।

रुकुम घटनाका मृतकको पोष्टमार्टम रिपोटमा चिकित्सकले जालझेल गरेको भन्दै आन्दोलनमा उत्रिएका पिडित परिवार माथि लाठीचार्ज गर्ने कार्य निन्दनीय भएको संयोजक पौडेलले बताए । उनले भने ‘पिडामाथि पिडा थप्ने काम भएको छ । जसले आफ्ना छोराहरु गुमाएको छ उसैमाथि प्रहरीले कुटपिट गर्नु निकै दुखद घटना हो । हामीले स्थानिय प्रशासनलाई पनि सोमवारको घटना गलत भएको र प्रहरीले संयमता अपनाउन नसकेको भनेर भन्यौ । यस्तो घटना पुनः नदोहरयाउन आग्रह गरेका छौ ।’

प्रहरीले पाँच राउण्ड हवाइ फायर र दुई राउण्ड अस्रुग्यास प्रहार गनुका साथै लाठी चार्ज गर्दा पाँच आन्दोलनकारी घाईते भएका थिए । घाइते हुनेमा मृतक नवराजकी आमा उर्मिला गणेश बुढाका आमा र बुवा पदम बुढा, दाइ भिजन बुढा लगायतका घाइेत भएका छन् । घाइते पदम बुढा र उनकी श्रीमतिको थप उपचारका लागी नेपालगञ्ज पठाईएको छ ।

शवको प्रकृति भन्दा भिन्ने पोष्टमार्टम रिपोर्ट बनाईएको भन्दै पिडित परिवार र संघर्ष समिति चिकित्सकका विरुद्ध आन्दोलनमा उत्रिएका छन् ।
यस्ता नेता चाहिदैन, पोष्टमार्टम रिपोर्ट खारेज गर, हत्यारालाई जोगाउन खोज्ने डाक्टर मुर्दावाद, लगायतका नारा लगाउँदै जिल्ला अस्पताल घेर्न गएका स्थानियलाई प्रहरीले गेटमै रोक्न खोजेपछि झडप भएको थियो । शान्तिपुर्ण तरीकाले प्रर्दशन गर्न गएका स्थानिय माथि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको संघर्ष समितिका संयोजक नगेन्द्र शाहले बताए । पोष्र्टमार्टम रिपोर्टमा डुवेर मरेको भन्ने कुरा उल्लेख गरेपछि स्थानिय आक्रोशित छन् । पिडित परिवार र स्थानियले मंगलवार पनि नाराबाजी गदै सदरमुकाममा प्रर्दशन गरेका छन् । स्थानिय प्रशासनले आन्दोलन फिर्ता लिनन संघर्ष समितिलाई आग्रह गरेको छ । संघर्ष समितिले पोष्र्टमार्टम रिपोर्ट तयार गर्ने पाँच जना डाक्टर विरुद्ध मतियार गरेको भन्दै मुद्धा हाल्ने निर्णय गरेको समितिका सहसंयोजक छवि पन्तले बताए ।

गत जेठ १० गते केटी भगाउन भन्दै रुकुमको सोती गाँउ गएका जाजरकोटका नवराज सहित ६ जनाको सामुहिक हत्या भएको थियो । अन्र्तजातिय प्रेम सम्बन्धका कारण उक्त घटना भएको विभिन्न अधिकार कर्मीका भनाई छ । कथित तल्लो जातको दलितले ठकुरीकी छोरी भगाउन खोजेको भन्दै आक्रमण हुँदा ६ जनाले ज्यान गुमाएका थिए । घटनापछि जाजरकोट सदरमुकाममा दिनुहँ न्यायका लागी नाराबाजी सहित आन्दोलन भैरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार