७०० गोल क्लबमा मेस्सी

७०० गोल क्लबमा मेस्सी

लियोनल मेस्सीले खेल जीवनको ऐतिहासिक आँकडा पूरा गरेका छन् । उनले खेल जीवनको ७०० औँ गोल गरेर नयाँ खुड्किला पार गरेका हुन् ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा मेस्सीले पेनाल्टी मार्फत गरेको गोल उनको व्यवसायिक खेल जीवनको ७०० औँ गोल बन्यो । उनले अर्जेन्टिना र बार्सिलोनाबाट ७०० गोल गरेका हुन् ।

मेस्सीले बार्सिलोनाका लागि ७२४ खेलमा ६३० गोल गरेका छन् । बाँकी ७० गोल उनले अर्जेन्टिनाका लागि गरेका हुन् ।

५० औँ मिनेटमा मेस्सीले पेनाल्टी मार्फत गोल गरेर व्यक्तिगत रुपमा सात सयौँ गोलको आँकडा पूरा गरे पछि एथ्लेटिको मड्रिडसँगको खेलमा बार्सिलोना २–२ को बराबरीमा रोकियो ।

एथ्लेटिकोका डिएगो कोस्टाले ११ औँ मिनेटमा आत्मघाती गोल गरी बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर एथ्लेटिकोका लागि १९ र ६२ औँ मिनेटमा पाएको पेनाल्टीमा साउलले गोल गरी खेलमा बराबरी गरेका हुन् ।

बराबरीपछि दोस्रो स्थानको बार्सिलोनाको ३३ खेलबाट ७० तथा तेस्रो स्थानको एथ्लेटिकोको ५९ अंक भएको छ ।

मेस्सीका लागि यो वर्ष अर्को कोशेढुंगा बनेर आयो खेल जीवनका लागि ।

उनले बार्सिलोनाबाट ६०० गोलको आँकडा पूरा गरेको १४ महिनापछि खेल जीवनको सात सयौँ गोलको आँकडामा प्रवेश गरे ।

मेस्सी विश्वमा सात सय गोलको आँकडा पूरा गर्ने सात मध्ये एक खेलाडी बनेका छन् ।

यो सूचिमा चेक–अस्ट्रियन जोसेफ बिक्यान ८०५ गोलसहित शीर्ष स्थानमा छन् । यस्तै ब्राजिलका रोमारिओले ७७२ तथा पेलेले ७६७ गोल गरेका छन् ।

यसैगरी हंगेरीका फेरेन्स पुस्कासले ७४६, जर्मनीका जेर्ड मुलरले ७३५ तथा छैटौँ स्थानमा रहेका क्रिष्टियानो रोनाल्डोले ७२६ गोल गरेका छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार