पहिरोले नौ घर परिवार बिस्थापित

पहिरोले नौ घर परिवार बिस्थापित

काठमाडौँ । पहिरोका कारण सुर्खेतको बराहताल गाउँपालिका–५, तल्लो सुन्दारीको सामुदायिक वन, खेतीयोग्य जमिन र मानवबस्ती जोखिममा परेको छ । गाउँमाथि र मुनिबाट लगातार पहिरो खस्न थालेपछि ९ घर परिवार बिस्थापित भएका छन् ।

कर्णाली राजमार्ग अन्तर्गतको सुर्खेत–जुम्ला सडकबाटै पहिरो खस्न थालेपछि एक सातादेखि घर छोडेको स्थानीयको गुनासो छ । ‘घर आसपासको जमिन पहिरोले बगाएको छ, अहिले गाउँपालिकाले दिएको टेन्टमा बस्न बाध्य छौं,’ स्थानीय सुजाता कँडेलले भनिन्,‘ पानी परे पहिरो खस्न थालिहाल्छ ।’ पहिरोले घर आसपासको करिब ७ रोपनी खेतीयोग्य जमिन बगाएको उनको गुनासो छ ।

गाउँपालिकाले गाउँमुनिको सोतखोलामा हिउँदभरि डोजर लगाइ बालुवा र ढुंगागिट्टी निकालेपछि पहिरोको समस्या बढेको स्थानीय शिक्षक ओमप्रकाश अधिकारीले बताए । ‘गाउँमुनि खोलाको कटान कायमै छ,’ उनले भने, ‘माथिबाट पनि लगातार पहिरो खस्न थालेपछि आफ्नै घरमा बस्न पनि असुरक्षा भयो ।’ उनका अनुसार बराहताल–८, बेल्चौरस्थित गाउँपारिको आमपानी सामुदायिक वनमा पनि झण्डै ५ सय मिटर माथिबाट पहिरो खस्न सुरु भइसकेको छ ।

 

पहिरोले धानको ब्याडसमेत बगाएपछि रोपाइँ गर्न समस्या भएको स्थानीय दुर्गा कँडेलले गुनासो गरिन् । ‘पहिरोले सबैको बिचल्ली बनायो,’ उनले भनिन् ‘सानो पानी पर्दा पनि घर वरिपरिको जमिन बग्न थाल्छ, यो वर्खामा घर र जग्गा जोगाउनै मुस्किल देखियो ।’ बराहताल गाउँपालिका उपाध्यक्ष शोभाकुमारी शर्माले तत्कालका लागि पीडित परिवारलाई त्रिपालको व्यवस्था गरिएको बताइन् ।

उनका अनुसार गाउँपालिकाका चेपाङ, रत्तेनी, इसेनीलगायत गाउका ५० घर पनि पहिरोको उच्च जोखिममा छन् । ‘पहिरोपीडितका लागि राहत र व्यवस्थापनका कामहरु भइरहेका छन्,’ उनले भनिन्, ‘गाउँ पालिकास्तरीय प्रकोप व्यवस्थापन कार्ययोजना पनि कार्यान्वयनमा ल्याइएको छ ।’

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार