विभूषणको संख्या कटौती : यो वर्ष दुई सयलाई मात्र विभूषण दिइने

विभूषणको संख्या कटौती : यो वर्ष दुई सयलाई मात्र विभूषण दिइने

काठमाडौं । सरकारले विभूषणको संख्या कटौती गरेको छ । सिफारिसका आधारमा जतिजनालाई पनि वितरण गर्दा विकृति बढेको भन्दै यस वर्ष दुई सयजनालाई मात्र विभूषण प्रदान गरिने भएको छ ।

यसअघि विभूषणको संख्या तोकिएको थिएन । सिफारिसका आधारमा गत वर्ष ६ सय ३३ जनालाई विभूषण प्रदान गरिएको थियो । यसपटक विभूषण नियमावली संशोधन गरी संख्या तोकिएको हो । य

स वर्ष सयजनालाई मानपदवी, ५०–५० जनालाई अलंकार र पदक प्रदान गरिने गृह मन्त्रालयले जनाएको छ । संविधान दिवसका अवसरमा २ असोजमा सरकारले विभूषण दिइने व्यक्तिको नाम सार्वजनिक गर्दै आएको छ ।

यस वर्ष नयाँ मापदण्डअनुसार छनोट प्रक्रिया अघि बढिसकेको गृह मन्त्रालयका सहसचिव कुमार खड्काले बताए । धेरै विभूषण वितरण गर्दा एकातर्फ विभूषणको ओज नै घटेको र अर्कोतर्फ राज्यको खर्च पनि बढेको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

कतिपय विभूषणमा सुन प्रयोग हुने भएकाले ठूलो संख्यामा वितरण हुँदा आर्थिक भार बढ्ने गरेको छ । संख्या तोकिएपछि केही हदसम्म विकृति पनि कम हुने गृह मन्त्रालयका अधिकारी बताउँछन् ।

गृह मन्त्रालय र कानुन आयोगले बनाएको विभूषणसम्बन्धी नयाँ ऐनको मस्यौदामा एक वर्षमा बढीमा ९५ जनालाई मात्र दिने प्रस्ताव गरिएको छ । मस्यौदामा मानपदवी २०, अलंकार २७, पदक ४८ जनासम्मलाई दिन सकिने उल्लेख छ ।

नाम पनि परिवर्तन 

केही विभूषणको नाम पनि परिवर्तन गरिएको छ । प्रथम श्रेणीको राष्ट्रदीपको नाम महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी राखिएको छ । द्वितीय श्रेणीको राष्ट्रदीपको नाम उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी राखिएको छ । प्रथम श्रेणीको जनसेवाश्रीको नाम सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम तथा द्वितीय श्रेणीको जनसेवाश्रीको नाम सुप्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणी राखिएको छ ।

एक वर्षभित्र ग्रहण नगरे खारेज हुने 

विभूषणको सुशोभन समारोह भएको एक वर्षभित्र सम्बन्धित व्यक्ति लिन नआएमा विभूषण स्वतः खारेज हुने प्रावधान राखिएको छ । हाल सयभन्दा धेरै व्यक्तिले वर्षाैँदेखि विभूषण लिएका छैनन् । विभूषण छनोटप्रति असन्तुष्टि जनाउँदै धेरैले नलिएको जनाएका छन् ।

नियमावलीमा भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण तथा नैतिक पतन देखिने अन्य फौजदारी मुद्दा लागेका व्यक्तिले विभूषण नपाउने उल्लेख छ । नियमावली संशोधन गरेर विभूषण लिइसकेपछि पनि त्यस्तो अपराधमा दोषी ठहर भएमा फिर्ता गरिने व्यवस्था गरिएको छ ।

संविधान दिवसको दिनमा विभूषण घोषणा र नयाँ वर्षको दिनमा सुशोभन गरिँदै आएको थियो । तर, कोरोना भाइरस संक्रमणका कारण गत वर्ष घोषणा भएका विभूषणको यस वर्ष सुशोभन कार्यक्रम हुन सकेको छैन । अवस्था सामान्य भएपछि सुशोभन गरिने गृह मन्त्रालयले जनाएको खबर आजकाे नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार