नदी तटीय क्षेत्रका बासिन्दाहरु सचेत रहन गाउँपालिकाको आग्रह

नदी तटीय क्षेत्रका बासिन्दाहरु सचेत रहन गाउँपालिकाको आग्रह

बाँके । वर्षा लागेसँगै राप्ती नदीमा पानीको बहाव बढे नदी तटीय क्षेत्रमा डुबान तथा कटान बढ्ने भएकाले सर्तक रहन राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले आग्रह गरेका छन् ।
गाउँपालिका अध्यक्ष थारुले नदी तटीय क्षेत्रका बासिन्दा तथा सम्पूर्ण गाउँवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै नदीजन्य सम्भावित जोखिमको निगरानी राख्न विपद् व्यवस्थापन शाखाका तालिम प्राप्त जनशक्ति, प्रभावित क्षेत्रका प्रतिनिधि तथा वडा कार्यालय, गाउँपालिकास्थित सुरक्षा निकायका साथै मानवीय सहयोगी संघसंस्था तथा निकायलाई उद्धार र व्यवस्थापनका लागि तयारी अवस्थामा रहनसमेत आग्रह गरेका छन् ।

बाढी पूर्वानुमान महाशाखाले आइतबार, सोमबार ९आज० र मंगलबार कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई, तिनाउलगायतका नदीमा पानीको बहाब उल्लेख्य बढ्ने बताएको छ । यस्तो अवस्थामा गाउँपालिकामा पनि वर्षा भइरहेकोले गाउँपालिकावासीलाई अनावश्यक काममा घर बाहिर ननिस्किन, जोखिम क्षेत्रका गाउँवासीको सुरक्षाको लागि सम्बन्धित सरोकारवालालाई सतर्क रहन र वृद्धवृद्धा, असक्त, बालबालिका तथा महिलाहरुको उचित हेरचाह र विशेष ख्याल गर्न समेत अध्यक्ष थारुले अनुरोध गरेका छन् ।

अध्यक्ष थारुले सम्पूर्ण गाउँपालिकावासीलाई उच्च सतर्कता अपनाइ डुबान तथा नदी कटानलगायतका सूचना पाए तत्काल सम्बन्धित वडा कार्यालय तथा नजिकैको सुरक्षा निकायलाई जानकारी दिन सुझाएका छन् ।

राप्तीसोनारी गाउँपालिकाका १ देखि ९ वटा वडाका ५२ गाउँबस्ती बर्सेनि बाढी र डुबानबाट पीडित बन्दै आएका छन् । यस्तो अवस्थामा गाउँपालिकाले बर्सेनि ठूलो रकम बाढी पीडितका लागि छुट्याउँदै आएको छ । गाउँपालिकाले छुट्याउँदै आएको रकम अपुग हुने भएकाले यस्तो अवस्थामा संघ संस्थालाई पनि सहयोग गर्न अध्यक्ष थारुले आग्रह गरेका छन् ।

अध्यक्ष थारुले भने,‘बर्सेनि गाउँपालिकाका ५२ गाउँबस्ती बाढी तथा डुबानले पीडित बन्दै आएका छन् । यस्तो अवस्थामा गाउँपालिकाको एकल प्रयासले पीडितको उद्धार सम्भव नहुने भएकाले गाउँपालिकास्थित सुरक्षा निकायका साथै मानवीय सहयोगी संघसंस्था तथा निकायलाई सहयोग गर्न आग्रह गर्दछु ।’
अध्यक्ष थारुका अनुसार गाउँपालिकाले बाढीपीडितको उद्धारका लागि डुंगा, तालिम प्राप्त जनशक्ति ९गोताखोर०, लाइफ जकेट, खाद्यान्न, लत्ता कपडा, भाँडाकुँडालगायतका आवश्यक सामग्री तयारी अवस्थामा राखेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार