कर्णालीमा चाडपर्व लक्षित निषेधाज्ञा

कर्णालीमा चाडपर्व लक्षित निषेधाज्ञा

सुर्खेत । चाडपर्व नजिकिँदै गर्दा बजारमा चहलपहल बढ्न थालेपछि स्थानीय प्रशासनले प्रदेश राजधानी वीरेन्द्रनगर सहितका स्थानमा निषेधाज्ञा लागू गरेको छ।

कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिन नदिन सम्बन्धित स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका हुन्। जिल्ला प्रशासन कार्यालय सुर्खेतले महिलाको पर्व हरितालिका तीजमा झन् भीडभाड हुने हुँदा निषेधाज्ञा जारी गर्नुपरेको बताएको छ।

वीरेन्द्रनगरमा आज बिहानैदेखि लागू गरिएको निषेधाज्ञा पाँच गतेसम्म जारी रहनेछ। साउन २९ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरेन्द्रनगरमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो। त्यस्तै, जुम्लाको चन्दननाथ, तातोपानी, हिमा, सिञ्जा, गुठीचौर, कनकासुन्दरी गाउँपालिका तथा मुगुको गमगढीमा पनि निषेधाज्ञा लागू छन्। रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा बुधबारदेखि निषेधाज्ञा लागू छ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बजारमा अत्याधिक भीड, नजिकिँदै गरेको तीज पर्व र कोरोना सङ्क्रमणको जोखिम समुदायस्तरसम्म पुगेकाले निषेधाज्ञा जारी गर्नुपरेको बताए।

निषेधाज्ञाका लागि प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका, उद्योग वाणिज्य सङ्घलगायत नागरिक सङ्घ सङ्गठनहरु सहमत भएकाले निषेधाज्ञा कार्यान्वयन गराउन सहज भइरहेको उनको भनाइ छ। प्रजिअ रेग्मीले निषेधाज्ञा उल्लंघन गर्नेलाई स्थानीय प्रशासन ऐन, २०२८ तथा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही प्रक्रिया अघि बढाइने बताए।

स्थानीय प्रशासनका अनुसार निषेधाज्ञा अवधिभित्र स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल, तरकारी जस्ता अत्यावश्यक सेवा तथा व्यवसाय सञ्चालन गर्न पाइने छ।

कार्यालयमा स्वास्थ्य संस्था तथा अत्यावश्यक सेवाका कार्यालयबाहेक बैङ्क, वित्तीय संस्था, सहकारी लगायतका सेवा बन्द हुनेछन्। निषेधाज्ञा अवधिभित्र दाहसंस्कार कार्यमा बढीमा १५ जना सहभागी हुन पाइनेछ भने धार्मिक, सामाजिक लगायतका जमघट गर्न पाइने छैन।

एम्बुलेन्स, शववाहन, दमकल, भिआइपीका झण्डासहितका सवारी साधन, सुरक्षा, स्वास्थ्य, कुटनीतिक नियोगका सवारी साधन तथा प्रेस तथा सञ्चारकर्मीका सवारी साधन मात्र यस अवधिमा चलाउन पाइनेछ।

वीरेन्द्रनगरमा निषेधाज्ञा लागू भएसँगै सुर्खेतकै भेरीगङ्गा नगरपालिकाका मुख्य बजार क्षेत्र बन्द गरिएका छन्। कर्णाली प्रवेशको मुख्य नाका बबई यही नगरभित्र पर्दछ। नगर उपप्रमुख रेणु ढकालले दैनिकजसो हुने भीडभाडले कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेपछि बजार बन्द गर्ने निर्णय गरिएको जानकारी दिइन्।

नगरपालिकाभित्रका छिन्चु, जहरे, झिङ्नी र रामघाट बजार आजदेखि भदौ ५ गते राति १२ बजेसम्म बन्द हुनेछन्। बजार बन्दसँगै नाकामा पनि प्रवेश कडा पारिएको छ। आजदेखि प्रहरीले बबई नाकाबाट पछिल्ला सम्बन्धित यात्रुको तीन दिन यताको पिसिआर रिर्पोट हेरेर मात्र कर्णाली प्रवेश गराउन थालेको छ। यसअघि यहाँ पिसिआर अनिवार्य गरिएको थिएन। रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार