निधारमा मास्क लगाउने बाराका सीडीओ भन्छन : भोलिदेखि सुधार गर्छु

निधारमा मास्क लगाउने बाराका सीडीओ भन्छन : भोलिदेखि सुधार गर्छु

फोटो प्रजिअ पण्डितकै फेसबुकबाट

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले हरेक दिन कोरोना भाइरसबाट जोगिन स्वास्थ्य सुरक्षा सावधानी अपनाउन सर्वसाधारणलाई अपिल गर्दै आएको छ। कोरोनाको उच्च जोखिम देखिएपछि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लगाइएको छ। केही समय अघिदेखि मास्क नलगाएर बाहिर निस्केकाहरुलाई कारबाहीसमेत हुँदै आएको छ। तर नियम कार्यान्वयन गर्ने निकायमा रहेकाहरुले नै लापरबाही गरेको देखिएको छ।

आइतबार मात्रै बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित सुरक्षाकर्मीको दलबलसहित सीमानाकाको अनुगमनमा निस्किए। अनुगमनका क्रममा नौ वटा मोटरसाइकलमा भारतबाट तस्करी गरी ल्याउन लागेको ४० बोरा रासायनिक मल जफत गरेर वीरगन्ज भन्सारमा बुझाएका प्रजिअ पण्डितले फेसबुकमार्फत जानकारी गराएका छन्। उनले फेसबुकमा अनुगमनका क्रममा खिचिएका फोटोसमेत राखेका छन्। फोटोमा उनले सही तरिकाले मास्को प्रयोग गरेको देखिँदैन। उनले मास्क कतै निधारमा लगाएका छन् भने कतै चिउँडोमा लगाएका छन्।

उनीसँगै रहेका केही सुरक्षाकर्मीले समेत मास्कको सही प्रयोग गरेका छैनन्। फोटोमा प्रजिअ पण्डितसहित सुरक्षाकर्मीहरुबीच पर्याप्त दूरीसमेत कामय गरेको देखिँदैन। मास्क निधारमा लगाएको फोटो प्रमुख जिल्ला अधिकारी स्वयंले सामाजिक सञ्जाल फेसबुकमा बिहान पोष्ट गरेका थिए । त्यही फोटो अरुले पनि विभिन्न प्रतिक्रियाका साथ पोष्ट गरेका छन् । फोटो विवादमा परेपछि प्रजिअ पण्डितले मास्क नलगाएको फोटोहरु हटाएर मास्क लगाएको फोटो मात्रै राखेका छन् ।

यस्तै निधारमा मास्क लगाएको विषयमा सामाजिक सञ्जालमा आलोचना भएपछि प्रजिअ पण्डितले आइतबार साँझ फेसबुक स्टाटस लेख्दै स्वास फेर्न गाह्रो भएपछि मास्क माथि सारेको र अबदेखि त्यसो नगर्ने बताएका हुन्। उनले भोलिदेखि आफूले नियमित मेडिकलमास्क प्रयोग गरी बानी सुधार्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार